२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रोजगार बैंकले उत्साह

घोषणाको भोलिपल्टै काठमाडौंदेखि प्लम्बर र हाउस वायरिङको माग आउँदा सञ्चालक उत्साहित बनेका छन् ।
तुलाराम पाण्डे

कालीकोट — रास्कोट नगरपालिकाले गत बुधबार श्रम रोजगार बैंक घोषणा ग¥यो । त्यसको भोलिपल्टै काठमाडौंबाट प्लम्बर र हाउस वायरिङका लागि युवाहरूको माग आयो । ‘बैंक घोषणा गरेको एक दिनमै जनशक्ति माग भएपछि हामी उत्साही छौं,’ नगर प्रमुख काशीचन्द्र बराल भन्छन्, ‘यसले हाम्रा युवालाई रोजगारीको मार्ग प्रशस्त गरेको छ ।’

रोजगार बैंकले उत्साह

नगरपालिकाले १० बुँदे कार्यविधि बनाई रोजगार बैंकमा आबद्ध युवा श्रमशक्तिलाई परिचालन गर्ने नीति तय गरेको छ । त्यसैले बाहिरबाट माग आए पनि सबै प्रक्रिया पु¥याएर द्विपक्षीय समझदारी (एमओयू) गरेर मात्र श्रमशक्ति परिचालन गरिने नगर प्रमुख बराल बताउँछन् । ‘मानव पुँजीको श्रमको बैंक भएकाले सबैको चासो बढेको छ,’ उनी भन्छन्, ‘आफ्नै गाउँघरमा बसेर रोजगारीको अवसर पाइने भएकाले युवा उत्साहित छन् ।’


श्रम रोजगार बैंकमा अहिले १८ देखि ४० वर्ष उमेरका २ सय ६० युवा छन् । कामको खोजीमा भौतारिने युवालाई नगरपालिकाले एकीकृत गरी बैंक स्थापना गरेको हो । युवालाई नगरपालिकाले नगरभित्रका विकास निर्माणका साथै बाहिर पनि एमओयू गरेर पठाउने नीति बनाएको छ । उनीहरूलाई व्यवस्थित रूपमा परिचालन गर्न पदमबहादुर खड्कालाई कमाण्ड र नरध्वज खड्का तथा अरुण शाहीलाई सहकमान्डरको जिम्मा दिइएको छ । उनीहरू सबै पूर्वलडाकु हुन् । ‘गाउँमा केही काम पाइँदैन भनेर युवामा चरम निराशा थियो,’ कमान्डर खड्काले भने, ‘नगरपालिकाको यस कार्यले हामी युवालाई उत्साही बनाएको छ, हामीमाथि ठूलो जिम्मेवारी थपिएको छ ।’ बैंकमा महिला पुरुष सबैलाई क्रमिक रूपमा अवसर दिँदै जाने उनले बताए ।


कार्यान्वयन विधि
श्रम–रोजगार बैंक व्यवस्थित गर्न नगरपालिकाले १० पृष्ठको कार्यविधि पारित गरेको छ । कार्यविधिमा सरकारी रोजगारी नभएको, गरिब, विपन्न र दलितलाई प्राथमिकता दिइने र महिला संख्या ३० प्रतिशत हुने उल्लेख छ । यस वर्ष बैंक स्थापना तथा सञ्चालनका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । नगरभित्रका योजनाको प्राथमिकीकरण गरी सडक, भवन, विद्युत्, खानेपानीलगायत भौतिक पूर्वाधारका काममा युवा खटाइनेछ । सोहीअनुसार बिहीबार सबै सदस्यलाई आरसीपी बजारमा भेला गरेर समूहगत कार्यजिम्मेवारी र विवरणबारे अभिमुखीकरण गरिएको नगर प्रमुख बरालले बताए । प्रत्येक समूहमा २० सदस्य रहेको बैंकको कार्य सञ्चालनका लागि नगरपालिकामा एकजना अध्यक्ष र एकजना मुख्य व्यवस्थापक छन् । उनीहरूले नियमित रूपमा कामको अवस्था र प्रगति प्रतिवेदन नगरपालिकामा पेस गर्नेछन् ।


समूहमा व्यवस्थापक र प्राविधिकसहित दक्ष र अदक्ष जनशक्ति परिचालित हुनेछन् । हरेक दिन काम सुरु हुनुभन्दा आधा घण्टाअघि रोलकाल गरी समग्र टिमको अवस्थासहित दिनभर गर्ने कामबारे जानकारी दिएर फिल्डमा खटाइनेछ । दिनको १ देखि २ बजेसम्म खाजा र बेलुका ५ बजेसम्म काम गर्नेछन् । त्यसपछि बेलुकी आधा घण्टा रोलकालमा दिनभरिको कामको मूल्यांकन गरी प्राविधिकले प्रत्येक दिनको ज्याला निर्धारण गर्नेछन् । यसरी काम गर्दा प्रतिव्यक्ति मासिक २१ हजार आम्दानी हुने नगरपालिकाको भनाइ छ ।
नगरपालिकाले बैंकका सबै सदस्यलाई एकैखाले ड्रेस व्यवस्था गर्नुका साथै १० लाखको बिमा पनि गरिदिएको छ । उनीहरूलाई समूहगत रूपमा नगर कार्यपालिकाले छनोट गरिएका विभिन्न योजनामा खटाइनेछ । योजनाको कामको सुरुदेखि अन्त्यसम्म कामको परिमाणको आधारमा दिनको ज्याला निर्धारण हुने र रकम बैंकमार्फत प्रत्येक सदस्यको खातामार्फत भुक्तानी गर्ने नगरको योजना छ । रास्कोट नगरपालिकाले योजनामा गुणस्तरीय काम गर्न÷गराउन युवा परिचालन र अपनत्वसहितको दिगो विकासका लागि युवालाई संगठित गरिएको जनाएको छ ।


काम फालाफाल
रास्कोट नगरपालिकामा मात्र करिब २० करोडको निर्माण काम छ । केहीमा उपभोक्ताले काम गरे पनि अब अधिकांशमा बंैकका सदस्यले गर्नेछन् । यसले रोेगजारीका लागि कालापहाड (भारतीय श्रमबजार) गएका युवालाई पनि उत्साही बनाएको छ । उनीहरू आफ्नै गाउँमा फर्किएर बैंकमा आबद्ध भई रोजगारीमा सामेल हुने स्थानीयको आशा छ । ‘अर्काको देशमा गएर दुःख गरेपछि हुने कमाइ आफ्नै गाउँघरमा हुन्छ भने राम्रै होला,’ स्थानीय निर्मला बराल भन्छिन् । नगरले यस वर्ष मेलामाडु–बास्तोला हुँदै गाउँखेतसम्मको सडकमा २ करोड, बडिमालिकादेखि देउरापाटनसम्म सडकमा १ करोड, मोतीराम माविको भवन र फिल्ड निर्माणमा २५ लाख, बाइती–भात्तडी सडकमा १५ लाख, रास्कोट नगरको आवास निर्माणमा ५० लाख र कृषि उपजमा १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यसका साथै पुच्छेगाउँ नदी नियन्त्रण, चुडीमूलमा वृक्षरोपण, धुवाने छहरामा ८ सय किलोवाट विद्युत् उत्पादनका लागि बजेट छुट्याइएको छ । त्यस्तै, अर्गानिक रास्कोट एकीकृत कृषि विकास कार्यक्रम, बृहत् रास्कोट बहुउद्देश्यीय जलउपयोग परियोजनाअन्तर्गत १९ वटा जलाशय निर्माण, मत्स्य पालन, विद्युत् तथा सिँचाइ योजना सञ्चालन, ५४ वटा एकीकृत बस्ती, आरसीपी बजारलाई स्मार्ट सिटी, ‘एक घर एक धारा’ निर्माणको योजना अघि सारिएका छन् । प्रदेश सरकारको तर्पmबाट पनि सिप्टीमा स्याउ जोन कार्यक्रम, डिजिटल विद्यालय, रंगशाला निर्माणलगायत योजना पाएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?