१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

थोराङ्ला पदमार्ग खुल्योे

आश गुरुङ

लमजुङ — हिमपातले डेढ महिनादेखि बन्द चक्रीय अन्नपूर्ण पदमार्ग खुलेको छ । पदमार्ग खुलेसँगै पर्यटक आउजाउको क्रम सुरु भएको छ । पर्यटकले मनाङ र मुस्ताङको सीमा ५ हजार ४ सय १६ मिटर उचाइको हिमाली थोराङ्ला भन्ज्याङ पार गर्न थालेका छन् । गत माघ ९ देखि चक्रीय अन्नपूर्ण पदमार्गको थोराङ्ला भन्ज्याङबाट आउजाउ बन्द भएको थियो ।

थोराङ्ला पदमार्ग खुल्योे

त्यसबेला सयौंको संख्यामा पदयात्री फर्किएका थिए । पदमार्ग बन्दको समय माघ २१ र २२ बाहेक अरू समय पर्यटकले थोराङ्ला पास गर्न सकेका थिएनन् । उनीहरूबीच बाटोबाटै फर्किन बाध्य थिए । हिउँले भरिएको थोराङ्ला भन्ज्याङ खुलेपछि मनाङबाट मुस्ताङतर्फ पर्यटक जान थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङले जनाएको छ ।

एक्याप मनाङका पर्यटक सहायक क्षेत्र गुरुङका अनुसार सोमबार १० र मंगलबार १६ जना पर्यटकले थोराङ्ला पास गरेका छन् । उनका अनुसार यसअघि बाटो खुलाउन भन्दै १६ व्यवसायी युवालाई पठाएकामा पठाएकै दिन हिमपात भएर उनीहरू फर्किएका थिए ।


संसारकै अग्लो हिमाली पदमार्गको भन्ज्याङ मानिएको थोराङ्ला चक्रीय अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकका लागि प्रमुख गन्तव्य हो । हिमपातपछि बन्द चक्रीय अन्नपूर्ण पदमार्ग खुलेको एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाले बताए । नासों गाउँपालिका ९, दानाक्युबाट चामे हुँदै मनाङ ङिस्याङ गाउँपालिका १, स्वर्गद्वारीसम्म सडक खुलेको छ । माथिल्लो मनाङसम्म सडक खुलेको छैन । पदमार्ग भने खुलेको उनले बताए । उनका अनुसार १६ युवालाई थोराङ्ला पठाएर बाटो खुलाइएको हो । ‘माथिल्लो मनाङसम्म सडक नपुगे पनि पर्यटक हिँडिरहेका छन्,’ उनले भने, ‘याकखर्कदेखि माथि गाह्रो थियो । झन् बेसक्याम्प र हाइक्याम्पदेखि जानै सकिँदैनथ्यो । हामीले पठाएका युवाले बाटो खुलाए ।’


उनका अनुसार हिउँ पग्लिँदै गएको र युवाले बाटोमा रेकी गरेपछि उक्त ठाउँबाट पर्यटक हिँड्न थालेका छन् । ‘पर्यटकलाई तत्काल हिँड्न त्यति सहज त छैन । तर, बाटो खुलेकाले बिस्तारै सहज हुँदै जानेछ,’ उनले भने । हिउँ पग्लिएपछि पहिरोको समेत जोखिम नहुने उनले बताए । एक्याप इलाका संरक्षण कार्यालय जोमसोम मुक्तिनाथका प्रमुख तुलसी दाहालले मनाङबाट पर्यटक थोराङ्ला पास गरेर आएको बताए । उनका अनुसार सोमबारदेखि पर्यटक थोराङ्ला पास हुँदै आएका छन् । मुस्ताङबाट मनाङतर्फ थोराङ्ला पास गरेर भने पर्यटक जाँदैनन् । ‘हामीले युवाहरू पठाएर मुस्ताङतर्फको बाटो खुलायौं,’ उनले भने । पर्यटकीय सिजन सुरु हुने बेला हिमपात भएपछि पर्यटक बीचबाटोमै रोकिएका थिए । कोही आउँदै फर्किंदै गरेका थिए । एक्याप मनाङ प्रमुख तिरुवाका अनुसार पछिल्लो सातामै ५ सय पर्यटक मनाङ भित्रिएका छन् । उनीहरू बिस्तारै थोराङ्ला पास गरेर मुक्तिनाथ पुग्नेछन् । ‘अहिले पर्यटक बेंसीसहरबाट सवारी साधनमा चामेसम्म आउने गरेका छन् । यस्तै, हिँडेरै आउने पर्यटक पनि छन्,’ उनले भने ।


मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले पहिले सडक खुलाउन सुरु गरिएको बताए । माथिल्लो क्षेत्रमा एक्यापले पदमार्ग खुलाएको छ । ‘यहाँ दिनकै ८०÷९० जना पर्यटक आउन थालेका छन् । पर्यटक माथिल्लो मनाङतर्फ जान थालेका छन्,’ उनले भने । यस अघिल्ला वर्षमा यति लामो समय र फागुनको अन्तिम सम्ममा हिमपात थिएन । यस वर्ष लामो समय हिमपात भएको र हिउँ पनि बढी झरेकाले समस्या परेको उनले बताए ।

प्रकाशित : फाल्गुन २९, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?