ओलीको सनकले देश फेरि द्वन्द्वतर्फ : गगन थापा

वीरेन्द्र केसी

अर्घाखाँची — नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको सनकका कारण देश बिग्रन थालेको बताएका छन् । उनले प्रधानमन्त्रीको सनकले देश नचल्ने बताए ।

महिला संघले सन्धिखर्कमा राखेको कार्यकर्तासँगको भेटघाटमा संघीय सांसद थापाले संसदमा विपक्षी दल कांग्रेस छ भन्ने पनि हेक्का नराख्नु ओलीको लागि भुल भएको बताए । उनले देशलाई बचाइराख्न अब कांग्रेसले सशक्त भूमिका खेल्ने बताए ।

‘गिरिजाबाबुको नेतृत्वमा तत्कालिन माओवादीसँग सहमति गरेर देशमा शान्ति स्थापना भयो,’ उनले भने, ‘अहिले ओलीले फेरी देशलाई अशान्ती र द्वन्द्वतर्फ धकेल्न खोजे ।’ ओली सरकारले भष्टचारलाई रोक्न नसकेको, जनताका आधारभूत आवश्यकता पुरा गर्न नसकेको र दुई तिहाइको दम्भले सरकार तानासा बन्नतर्फ लागेको उनले दाबी गरे । ‘ओली सरकार चलाउन असफल भैसके,’ उनले भने ।

प्रकाशित : फाल्गुन २९, २०७५ ११:२२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

आईसीपीमा पूर्वाधार विस्तार गरिँदै

शंकर आचार्य

पर्सा — वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) मा अहिले पूर्वाधार बिस्तार गरिँदै छ  । भारत सरकारले निर्माण गरिदिएको आईसीपीमा अहिले सेड र वेयरहाउस गोदाम निर्माण भइरहेको छ  ।

आईसीपी सञ्चालक इन्टर मोडल यातायात विकास समितिका अधिकृत तर्कराज जोशीले आईसीपीको पश्चिम कुनामा ३ हजार मेट्रिक टन क्षमताको एउटा गोदाम र दक्षिणतर्फ भन्सार जाँचपास कक्षको सेड निर्माण भइरहेको जानकारी दिए ।

हाल आईसीपीको पश्चिम उत्तर कुनामा २ साना गोदाम छन् । दुबैमा गरी १ हजार ३ सय ७४ वर्गमिटर क्षेत्रफल मात्र स्थान मालबस्तु भण्डारणका लागि उपलब्ध छ ।

एउटा गोदाम ६ वटा कन्टेनरको मालबस्तुले भरिन्छ । मुलुककै पहिलो, ठूलो र व्यस्त यो भन्सार बिन्दुमा ठूलो गोदाम चाहिन्छ ।

गत वर्ष चैत तेस्रो सातादेखि मुलुककै पहिलो आईसीपी सञ्चालनमा आएपछि यहाँ गोदाम, भन्सार जाँचपास कक्ष, पार्किङ यार्ड, क्वारेन्टाइन भवनमा कक्ष, डोरमेट्री भवन, सवारी चालकलाई भान्सा कोठा, गेट अफिस, सुरक्षा भवनलगायतको कमी महसुस भएको थियो । इन्टरमोडल यातायात विकास समितिले क्रमशः यी पूर्वाधार निर्माण गर्ने योजनाअनुरूप अत्यावश्यक दुई पूर्वाधार निर्माण थालेको हो ।

यसअघि वीरगन्ज भन्सार कार्यालयको यार्डमा भन्सारको आफ्नै र नेशनल टेडिङको गोदामले जसोतसो धानेको थियो । हाल यो भन्सार परिसरमा साविकको जत्तिको पनि गोदाम उपलब्ध छैन । आईसीपीमा भन्सार जाँचपास घरसमेत अभाव छ । यसले भन्सार कर्मचारीलाई काम गर्न समस्या भएको छ ।

समितिको क्वारेन्टाइन भवन र डोरमेट्री भवनमा तल्ला थप्ने योजना पनि छ । त्यसैगरी, सवारी चालकको भान्सा, सेड, गेट अफिस र सुरक्षा भवन पनि क्रमशः निर्माण गर्ने योजना रहेको समितिले जनाएको छ । आईसीपी निर्माण हुँदा ताका नै सेवाग्राहीले गोदामको कमी र कर्मचारी आवास गृह नभएको आवाज उठाउँदै आएका थिए । हाल आईसीपी परिसरमा पार्किङ यार्डसमेत अभाव छ । यसले गर्दा भारतबाट आउने मालवाहक ट्रक बाटोमै पार्किङ गरेर राख्नु परेको छ ।

यसअघि आईसीपी निर्माण गर्दा त्यसको डिजाइनिङमै त्रुटि रहेको भन्दै सुधार गर्नुपर्ने माग वीरगन्जका उद्योगी व्यवसायीले उति बेलै गरेका थिए । तर सरोकारवाला निकायहरूले त्यसतर्फ ध्यान दिएका थिएनन् । नेपालको आधाभन्दा बढी अन्तर्राष्ट्रिय आयात निर्यात कारोबार आईसीपीबाटै हुने भएकाले सरकारले यसलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउँदै लान चाहेको छ ।

भारतीय कम्पनी राइट्स योजना व्यवस्थापन सल्लाहकार रहेको यो परियोजना भारतीय ठेकेदार कम्पनीहरू केएस सफ्टनेट सोलसन्स र नागार्जुना कन्स्ट्रक्सन कम्पनीले संयुक्त रूपमा निर्माण गरेका हुन् ।एकै छानामुनि भन्सार, आप्रवासन, क्वारेन्टाइन, सीमा सुरक्षा जस्ता संस्था आउनाले मानवीय तथा मालसामानको अन्तरदेशिय आवतजावतलाई झन्झटरहित बनाउने प्रयासस्वरूप भारतले नेपाल र आफ्नो भूमिमा समेत गरी आईसीपी निर्माण गरेको हो ।

प्रकाशित : फाल्गुन २९, २०७५ ११:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्