कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सरकार-सीके सम्झौताबारे स्पष्ट पार्न कांग्रेसको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतिबारे स्पष्ट पार्न माग गरेको छ । कांग्रेसले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी फागुन २४ गते सरकारले राउतलाई मूलधारको राजनीतिमा ल्याउने भन्दै गरेको सहमतिबारे दुवै पक्षले साझा व्याख्या गर्नु पर्ने माग गरेको हो ।

सरकार-सीके सम्झौताबारे स्पष्ट पार्न कांग्रेसको माग

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पृथकतावादी बाटोमा हिंडेका व्यक्ति र समूहलाई मुलुकको अखण्डता स्वीकारेर मुलधारमा आउन सहमत गराउनु स्वागतयोग्य भए पनि सम्झौताको २ नम्बर बुँदामा असन्तुष्टिहरु जनअभिमतबाट समाधान खोज्ने उल्लेखित विषयमा आफूहरुको आपत्ति रहेको जनाए । ‘तराई–मधेसलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं' भन्ने सम्झौताको दोस्रो पंक्तिको साझा व्याख्याा सत्तापक्ष र गठबन्धनको पक्षले मुलुक समक्ष तत्काल प्रस्तुत गर्न नेपाली कांग्रेस माग गर्दछ' प्रवक्ता शर्माले जारी विज्ञप्तिमा छ ।

उनले यो सम्झौताबाट विखण्डनको आकांक्षालाई लोकतान्त्रिक विधिबाट हल खोज्ने गरी राज्यकै तर्फबाट वैधानिकता दिएको समेत आरोप लगाए ।


सीके राउतले जनमत सङ्ग्रह गर्न सरकार सहमत भएको भनेर व्याख्या गरेको पनि पाँच दिन पुगिसक्दा र जनकपुरमा स्वतन्त्र मधेसको व्यानरसहित उनको उपस्थितिमा प्रदर्शन भएको तीन दिन बितिसक्दा पनि सरकारले केवल सामान्य प्रतिक्रिया मात्रै जनाउनु र तत्काल अर्को छलफल आयोजना गरेर साझा मत निर्माण गर्न गम्भीर पहलकदमी नगर्नु रहस्यमय भएको भनी प्रवक्ता शर्माले टिप्पणी गरे ।


तराई–मधेसमा रहेको असन्तुष्टि हल गर्ने मूल बाटो संविधानमा आवश्यक संशोधन नै हो भन्ने विषयमा काङ्ग्रेस विगतदेखि नै प्रस्ट रहेको जानकारी गराउँदै उनले उक्त सहमतिमा संविधान संशोधनको विषय उल्लेख नभएको बताए । सहमतिको परिमार्जन या साझा व्याख्या र त्यसप्रतिको व्यवहारिक इमान्दारिताबाट मात्रै मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई बल पुग्ने तथ्यमा आफ्नो पार्टी स्पष्ट रहेको प्रवक्ता शर्माको भनाइ थियो ।


काङ्ग्रेसले सहमतिप्रति सरकार एवं स्वतन्त्र मधेश गठबन्धनलाई सचेत गराउँदै तराई–मधेसका आम नागरिकको भावना अखण्ड नेपाल र बलियो नेपाली राष्ट्रियता हो भन्ने तथ्यभन्दा पर गएर राष्ट्रिय एकतालाई खलल पुर्‍याउन खोज्ने गतिविधिको भर्त्सना गरेको छ ।

यस्तो थियो सहमति - सिके राउतले छाडे विखण्डनको राजनीति, सरकारसँग ११ बुँदे सहमति


कांग्रेसको विज्ञप्तिको पूर्णपाठ

नेपाली कांग्रेसद्वारा आयोजित पत्रकार सम्मेलनमा म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । आजको सम्मेलन मुख्यत पछिल्लो राजनैतिक सन्दर्भमा केन्द्रित रहनेछ ।


सरकार—सीके सम्झौता बारे


१. फागुन २४ मा सरकार र स्वतन्त्र मधेश गठबन्धनका बीच भएको सम्झौताको पहिलो वुँदा (संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य राष्ट्र हो । नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो) यो वुंदाले पृथकतावादी बाटोमा हिंडेका व्यक्ति र समुहलाई मुलुकको अखण्डता स्वीकारेर मुलधारमा आउन सहमत गराएको सन्देश दिन्छ त्यस दृष्टिले यो वुँदा स्वागत योग्य छ । तर वुँदा नं. २ ले वुँदा नं. १ लाई खण्डीत गरेको मात्रै होइन, विखण्डनको आकांक्षालाई लोकतान्त्रिक विधिबाट हल खोज्ने गरी राज्यकै तर्फबाट बैधानिकता दिएको छ । ‘तराई–मधेश लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टीहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं ।’ सम्झौताको यो पंक्तिको साझा व्याख्याा सत्तापक्ष र गठवन्धनको पक्षले मुलुक समक्ष तत्काल प्रस्तुत गर्न नेपाली कांग्रेस माग गर्दछ ।


२. “जनमतमा आधारित लोकतान्त्रिक विधि” को गहिरो नभई सामान्य व्याख्या पनि जनमत संग्रह भन्ने नै बुझिन्छ । यो या त्यो कुनै षडयन्त्रको तहत सरकार फसेको होइन या सरकार स्वयं राष्ट्रघाती षडयन्त्रमा सहभागी होइन भने सरकारका सामु दुई विकल्प छन्, तत्काल सच्याउने या दुबै पक्षको संलग्नतामा यसको साझा व्याख्या सार्वजनीक गर्ने ।


३. सीके राउतले जनमत संग्रह गर्न सरकार सहमत भएको भनेर वुँदा नं. २ कै ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को व्याख्या गरेको पनि ५ दिन पुगिसक्दा र जनकपुरमा स्वतन्त्र मधेशको व्यानर सहित उनको उपस्थितिमा प्रदर्शन भएको तीन दिन वितिसक्दा सरकारले केवल सामान्य प्रतिक्रिया मात्रै जनाउनु र तत्काल अर्को छलफल आयोजना गरेर साझा मत निर्माण गर्न गम्भीर पहलकदमी नगर्नु रहस्यमय छ ।


४. तराई–मधेशमा रहेको असन्तुष्टी हल गर्ने मूल बाटो संविधानमा आवश्यक संशोधन नै हो भन्ने विषयमा नेपाली कांग्रेस विगतदेखि नै प्रष्ट छ । तर, एघार वटा वुँदामा भएको सहमती भित्र संविधान संशोधनको विषय उल्लेख छैन । कांग्रेस नेतृत्वको सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गर्दा वर्तमान प्रधानमन्त्रीले त्यसलाई राष्ट्रघातको संज्ञा दिनु भएको स्मरण गर्न यतिबेला स्वभाविक भएको छ र यो प्रश्न पनि स्वभाविक बनेको छ कि “संविधान संशोधनको त्यो प्रस्ताव राष्ट्रघाती की जनमत संग्रहको यो सम्झौता राष्ट्रघाती ?”


५. फागुन २४ को सम्झौताको परिमार्जन या साझा व्याख्या र त्यसप्रतिको व्यवहारिक इमान्दारिताबाट मात्रै मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई बल पुग्ने तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र सरकार एवं स्वतन्त्र मधेश गठवन्धनलाई त्यसप्रति सचेत गराउन चाहन्छ । तराई–मधेशका आम नागरिकको भावना अखण्ड नेपाल र बलियो नेपाली राष्ट्रियता हो भन्ने तथ्य भन्दा पर गएर राष्ट्रिय एकतालाई खलल पु¥याउन खोज्ने गतिविधिको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ ।


जय नेपाल !


विश्वप्रकाश शर्मा

प्रवक्ता


फागुन २९, २०७५


प्रकाशित : फाल्गुन २९, २०७५ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?