सामूहिक आत्महत्या प्रयास

एकको मृत्यु, दुई घाइते
भूषण यादव

वीरगन्ज — घरबाट भागेका तीन किशोर किशोरीले सामूहिक विष सेवन गरेर आत्महत्या प्रयास गरेका छन् । घटनामा एक किशोरीको मृत्यु भएको छ । अर्का एक किशोर र किशोरीको उपचारपछि अवस्था सामान्य भएको छ । पर्साको जिराभवानी गाउँपालिका ४ सढी टोलकी १८ वर्षीया संगीता कुमारीको उपचार क्रममा सोमबार बिहान भारतको इनर्वास्थित अस्पतालमा मृत्यु भएको हो ।

सोही टोलकी मन्जिता कुमारी र जिराभवानी २ सेढवाका सन्जय दास थारु इनर्वामा उपचार गराएर फर्केका छन् । थप अनुसन्धानका लागि प्रहरीले दुवैलाई जिल्ला प्रहरीमा झिकाएको छ ।


पर्सा प्रहरी प्रवक्ता अनन्तराम शर्माले भारतबाट उपचार गरी फर्केका सन्जय र मन्जितालाई अनुसन्धानका लागि कार्यालय बोलाएको जनाए । 'यहाँ आएका छन्, तर, कुरा गर्न पाएको छैन,' कान्तिपुरसँग उनले फोनमा भने, 'विष सेवनको कारण तत्काल भनिहाल्ने अवस्था छैन, दुबैसँग कुरा गरेपछि कारण खुल्छ ।'


मन्जिता र संगीतालाई घरबाट भगाउन सन्जय र राज चौधरी अन्य ५/६ जना साथीहरुलाई लिएर सढी गाउँमा आइतबार साँझ गएका थिए । स्थानीयका अनुसार मन्जिताको राजसँग र सन्जयको संगीतासँग प्रेम सम्बन्ध थियो । दुवै किशोरीलाई सन्जयले आफ्नो मोटरसाइकलमा बसाएर भाग्न सफल भए । तर, राजलगायत चारजना सढी गाउँवासीको कब्जामा परे । गाउँबाहिर राखेको मोटरसाइकल लिन जाने क्रममा राज र उनका साथीहरुलाई गाउँलेले नियन्त्रणमा लिएका हुन् । त्यहीबेला जिराभवानी मेलाबाट फर्किरहेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीलाई स्थानीयले चारजनालाई जिम्मा लगाए ।

यता सन्जयले दुवै किशोरीलाई लिएर राति करिब १२ बजेतिर सेढवास्थित आफ्नो घर पुगेका थिए । सन्जयका बुवा गाडी चालक भएकाले अधिकांश समय घर बाहिरै हुन्छन् । आइतबार राति घरमा उनको आमामात्र थिइन् । अरुको केटी यति राति किन घर ल्याएको भनी आमाले गाली पनि गरिन् । तीन जना सन्जयको कोठामा बसे । बिहानसम्म गाउँमा होहल्ला भइसकेको थियो ।


सेढवाका शिक्षक ओमप्रकाश चौधरीका अनुसार भद्रभलादमीले केटी भगाएर ल्याइसकेपछि विवाह गर्नुपर्छ भनी केटी पक्षसँग कुरा गर्न तयारी गरिरहेका थिए । 'त्यही बेला तीनैजनाले उल्टी गरेको सूचना आयो,' उनले भने, 'कोठामा पुग्दा स्थिति नाजुक भइसकेको थियो, टाउको झुलिरहेको थियो ।'


गाउँका एम्बुलेन्स सहर गइसकेकाले मोटरसाइकलमा राखेर सीमापारि इनर्वास्थित एक निजी क्लिनिकमा लगियो । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका निरीक्षक आशिष अधिकारीले उपचार क्रममा संगीताको भारतमै मृत्यु भएको बताए । इप्रका इन्जार्च प्रनि अधिकारीका अनुसार विष सेवन गरेको सुनिए पनि प्रमाण फेला परेको छैन ।


प्रकाशित : फाल्गुन २९, २०७५ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?