सीएसडब्लूमा राष्ट्रपति, तीन राष्ट्राध्यक्षसँग भेटवार्तामै सीमित

'सम्मेलनको महत्त्व के थियो र राष्ट्रपति गएर के फरक पर्‍यो भन्ने कूटनीतिक अर्थको विज्ञप्तिसमेत जारी हुन सकेको छैन'
देवेन्द्र भट्टराई

काठमाडौँ — महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्लू) को ६३ औं अधिवेशनलाई विशेष सम्बोधन गर्न पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यतालिकालाई लिएर मंगलबार न्युयोर्कस्थित नेपाली स्थायी नियोगले एक विज्ञप्ति जारी गर्‍यो ।

सीएसडब्लूमा राष्ट्रपति, तीन राष्ट्राध्यक्षसँग भेटवार्तामै सीमित

विज्ञप्तिमा राष्ट्रसंघको ७३ औं महासभा अध्यक्ष मारिया फर्नान्डा इस्पिनोसा ग्रेससले आयोजना गरेको सोमबारको रात्रिभोज तथा अर्को राउन्ड टेबल बैठकमा इस्टोनिया, क्रोएसिया र टि्रनिडाड एन्ड टोबागोका राष्ट्रपतिसँग भण्डारीको द्विपक्षीय भेटवार्तालाई महत्त्वपूर्वक उल्लेख गरिएको छ । उनले इस्टोनियाकी समकक्षी केरेस्टी काल्जुलेइड, क्रोएसियाली समकक्षी कोलिन्डा ग्राबर-किटारोभिकलगायतसँग भेटवार्ता गरेको जनाइएको छ ।


उक्त रात्रिभोजमा 'सीएसडब्लू'का महत्त्वपूर्ण सदस्यहरू चीन, जापान, कोरिया, बेलायत, क्यानडाजस्ता राष्ट्रका प्रतिनिधि भने उपस्थितै नभएको संकेत विज्ञप्तिमा छ । यति महत्त्वपूर्ण अधिवेशनकी विशेष अतिथि राष्ट्रपति भण्डारीले कूटनीति र विश्व राजनीतिमा पनि विशेष अर्थ राख्ने अन्य मुलुकका विशिष्ट अतिथिसँग किन भेटवार्ता गर्न सकिनन् ? यसको जवाफ न्युयोर्कस्थित नेपाली नियोगले दिन सकेको छैन । 'सीएसडब्लू' मा एसिया-प्यासिफिक क्षेत्रका ११, पश्चिम युरोपका ८, अपि|mकी क्षेत्रका १३, पूर्वी युरोपका ४, ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्रका ९ सहित ४५ सदस्य राष्ट्र छन् । तीमध्ये नेपालसँग कूटनीतिक, ऐतिहासिक र पारस्परिक महत्त्वका आधारमा चिनिएका कुनै राष्ट्राध्यक्षसँग राष्ट्रपतिको भेट हुन सकेन । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरससँगको पूर्वनिर्धारित भेटवार्ता नै सबभन्दा अर्थपूर्ण हुन पुगेको छ ।


राष्ट्रपतिले द्विपक्षीय भेटवार्ता गरेकामध्ये क्रोएसिया ५६ हजार वर्गकिमिमा फैलिएको मुलुक हो, जहाँको जनसंख्या ४१ लाख छ । इस्टोनिया पनि ४५ हजार वर्गकिमि क्षेत्रफलमा फैलिएको छ, जहाँ १३ लाख जनसंख्या छ । यी दुवै मुलुकसँग नेपालको द्विपक्षीय हित एवं पारस्परिक सहयोगको कुनै सम्बन्ध छैन । यस्तै, टि्रनिडाड एन्ड टोबागो ५ हजार वर्गकिमिमा सीमित छ । यहाँको जनसंख्या पनि १३ लाख मात्रै छ । इस्टोनियासँग १९९२ र क्रोएसियासँग १९९८ मा नेपालको कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । टि्रनिडाड एन्ड टोबागोसँग कूटनीतिक सम्बन्धसमेत छैन । यो नमिल्दो कार्यतालिका र राष्ट्रपतिको द्विपक्षीय भेटवार्ताबारे जानकारी लिन न्युयोर्कस्थित स्थायी प्रतिनिधि अमृतबहादुर राईसँग सम्पर्क गर्न खोज्दा 'अति व्यस्तताका कारण सम्पर्कबाहिर' भएको जानकारी गराइयो ।


'अरू समारोह वा भेटवार्ताभन्दा बढी वासिङ्टनस्थित नेपाली राजदूत र न्युयोर्कस्थित स्थायी प्रतिनिधिले राष्ट्रपतिसँग खिचेका 'सेल्फी' सामाजिक सञ्जालमा छाएका छन्,' परराष्ट्र मन्त्रालयमा हालै अमेरिकी मिसनबाट फिरेका एक कूटनीतिक कर्मचारीले भने, 'सीएसडब्लू' सम्मेलनको महत्त्व के थियो र राष्ट्रपति गएर के फरक पर्‍यो भन्ने कूटनीतिक अर्थको विज्ञप्तिसमेत जारी हुन सकेको छैन ।'


निर्मला हत्याकाण्डलगायत मुद्दामा हक-अधिकार, सुरक्षा र न्यायको प्रत्याभूति नभइरहेका बेला 'शक्तिमा नारी' विषयक उच्चस्तरीय बैठकलाई राष्ट्रपति स्वयंले सम्बोधन गर्दैमा घरेलु यथास्थिति भुल्न मुस्किल पर्ने भनी सामाजिक सञ्जालमा चर्को बहस छ । भण्डारीले अधिवेशनमा 'महिलाप्रतिको विभेद अप्राकृतिक हो, अपरिवर्तनीय होइन' भनेर मन्तव्य राखे पनि अन्तर्राष्ट्रिय मञ्चलाई आश्वस्त पार्ने गरी धारणा राख्न नसकेको प्रतिक्रिया आइरहेको छ । राष्ट्रपतिको भ्रमण टोलीमा न्युयोर्कस्थित स्थायी प्रतिनिधि राई, वासिङ्टन डीसीस्थित राजदूत अर्जुनबहादुर कार्की, परराष्ट्र सचिव शंकर बैरागीलगायत छन् ।

प्रकाशित : फाल्गुन २९, २०७५ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?