कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

किशोरी आमा बढे

विप्लव महर्जन

सल्यान — साताअघि त्रिवेणी गाउँपालिका २, की १९ वर्षीया इन्द्रा विक गाउँको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि आफन्तले हतारहतार जिल्ला अस्पताल ल्याए । उनलाई लामो समयदेखि प्रसूति व्यथा लागेको थियो । अस्पतालका चिकित्सकले शल्यक्रियामार्फत प्रसूतिको तयारी गरिरहेको बेला उनले बच्चा जन्माइन् । 

किशोरी आमा बढे
तीन साताअघि बाग्चौर नगरपालिका १, की १५ वर्षीया गीता परियारलाई प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा प्रसूति गराउन समस्या भएपछि जिल्ला अस्पताल ल्याइयो । उनी जिल्ला अस्पतालमा शल्यक्रियाबिनै सुत्केरी भइन् तर उनी अझै तंग्रिएकी छैनन् ।


यी दुई उदाहरण मात्र हुन्, पछिल्लो समय जिल्लामा कम उमेरमै सुत्केरी हुने किशोरीको संख्या बढ्दै गएको छ । कम उमेरमा गर्भवती हुँदा महिलाले विभिन्न शारीरिक समस्या भोग्दै आएका छन् । आमा र बच्चाको ज्यान खतरामा पर्दै गएको छ । अशिक्षा, जनचेतना अभाव र देखासिकी बालविवाह गर्नेको संख्या बढेसँगै कलिलै उमेरमा आमा बन्ने पनि बढेका हुन् ।


जिल्ला अस्पतालका अनुसार चालु वर्षको ६ महिनामा ६१७ सुत्केरी भएका छन् । त्यसमध्ये १७२ उमेर नपुग्दै आमा बनेका छन् । गत वर्ष जिल्लाभरि ५ हजार ७ सय ३६ महिला सुत्केरी भएका थिए ।


त्यसमध्ये २ हजार १ सय ५७ किशोरी सुत्केरी भएको जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीले बताए । उनका अनुसार यस वर्ष जिल्लाभरको तथ्यांक नआएकाले किशोरी आमाको संख्या सार्वजनिक हुन सकेको छैन । ‘सुत्केरी हुनेमध्ये करिब ५० प्रतिशत उमेर नपुग्दै गर्भवती हुने गरेका छन्,’ उनले भने, ‘अशिक्षा र जनचेतना अभावले बालविवाह गर्ने र सानै उमेरमा आमा बन्ने क्रम बर्सेनि बढिरहेको छ ।’


जिल्ला स्वास्थ्यले २० वर्ष पुगेपछि मात्र विवाह गर्न र उमेर नपुग्दै बच्चा नजन्माउन जिल्लाभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले सुनाए । जिल्लामा अझै ४२ प्रतिशत महिला घरमै सुत्केरी हुने गरेको उनले जानकारी दिए । घरमै सुत्केरी हुँदा केही दिनअघि रक्तस्रावका कारण एक महिलाको मृत्यु भएको उनले बताए ।


जिल्ला अस्पतालका डा. अर्जुन बुढाले किशोरी अवस्थामा गर्भवती हुँदा सानै उमेरमा पाठेघर खस्ने, क्यान्सर हुने, बारम्बार रक्तस्राव हुने, ट्युमर देखिनेलगायत स्वास्थ्य समस्या देखिने गरेको बताए । उनका अनुसार कम उमेरमा गर्भवती हुँदा आमा र बच्चाको ज्यानसमेत जोखिममा पर्ने गरेको छ । जिल्ला अस्पतालमा आउने ७० प्रतिशत सुत्केरी २० वर्षमुनिका हुन्छन् ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?