कतारमा सडक दुर्घटनामा परी रोल्पाली युवाको मृत्यु

काशीराम डाँगी

रोल्पा — वैदेशिक रोजगारीका क्रममा कतार पुगेका रोल्पाका एक युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । रोल्पा नपा–२ रेउघा सिमलबाङका ३१ वर्षीय पृथ्वी बुढामगरको दोहामा बुधवार सडक दुर्घटनामा परी मृत्यु भएको परिवारले जनाएको छ ।

कतारमा सडक दुर्घटनामा परी बुधबार मृत्यु भएका रोल्पाका पृथ्वी बुढामगर ।  तस्बिर सौ. : रोल्पाली सेवा समाज । 



Citizen

दोहा कतारस्थित वैदेशिक रोजगारीका सिलसिलामा पुगेका युवाहरूको सङ्गठन अन्तर्राराष्ट्रिय रोल्पा ली सेवा समाजले पृथ्वीको सडक दुर्घटनापछि घटनास्थलमै मृत्यु भएको जानकारी गराएको हो। दुर्घटनापछि उनलाई अस्पताल पुर्‍याइएको थियो। उनी उक्त सङ्गठनका आर्थिक सल्लाहकार थिए। दुर्घटनापछि कतारस्थित सङ्गठनका अध्यक्ष केशवराज खड्का र सचिव ठगेन्द्र वलीले संयुक्त विज्ञप्ति जारी गर्दै पृथ्वीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

दुर्घटनाको पुष्टि गर्दै सङ्गठनका केन्द्रीय अध्यक्ष सन्दीप थापाले मृतकको शव नेपाल ल्याउन नेपाली दूतावासमार्फत पहल थाल्ने बताए। कतारस्थित नेपाली दूतावाससँगको समन्वयमा प्रतिवेदन तयार गरिरहेको खड्काले बताए। दूतावास मार्फत कागजी प्रक्रिया मिलाउन त्यहाँस्थित युवाहरूले सहयोग गरिरहेका छन्।

लामो समयदेखि पृथ्वीले कतारस्थित एक कम्पनीमा गाडी चालकका रूपमा काम गर्दै आएको पारिवारिक स्रोतले जनाएको छ। अर्को महिना छुट्टीमा घर आउने तयारीमा रहेका पृथ्वीको दुर्घटनापछि भएको मृत्युको खबरले परिवार शोकमा छ। सामाजिक कार्यमा रुचि राख्दै आएका युवा पृथ्वीको मृत्युबाट समाजमा क्षति पुगेको भन्दै वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका युवाहरूको संस्था रोल्पा ली सेवा समाजका शाखाहरूले दुःख व्यक्त गरेका छन्।

प्रकाशित : फाल्गुन ३०, २०७५ १४:२३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘ठग’ ट्याक्सी चालकका नाममा 

जनकराज सापकोटा

काठमाडौँ — दुई महिना अघिको कुरा हो । चितवनबाट अक्सर चार घन्टा लाग्ने बाटो छिचोल्न आकस्मिक जाम र जिर्ण सडकका कारण ६ घन्टा लाग्यो । धुलोको मुस्लो उडिरहेको कलंकीमा झर्दा ११ बजिसकेका थियो । अब बल्ल मेरो युद्ध सुरु हुनेवाला थियो । ट्याक्सी खोज्ने युद्ध । 

हातमा झोला झुण्ड्याएर सपत्नी उभिएको देखेर दर्जन ट्याक्सी मेरो छेउ आए। चालक बस्ने सिट छेउको झ्यालमा उभिएर मैले जाने ठाउँको नाम भने। त्यसपछि सुरु भयो, मोलतोल।

म मिटरमा जान खोज्ने। उनीहरुको फिक्स रेट हुने। मेरो दर्जनौं यात्रा अनुभवको सार हो, कलंकीबाट बुद्धनगर पुग्न बढीमा साढे दुई सय भन्दा धेरै पर्दैन। तर ट्याक्सी चालकहरु ६ सय भाउ सुनाउँछन्।

प्रत्येक ट्याक्सीलाई मैले वाचा गरें, मिटरमा जाउँ। उठेभन्दा पचास रुपैयाँ थप्नेछु। तर उनीहरुलाई मेरो कुरा सुन्ने फुर्सद थिएन। घामले भन्दा धुलोले र लामो यात्राले म आलसतालस भईसकेको थिएँ। मिटरमा जाने मेरो अनुरोधलाई ट्याक्सी चालकले यसरी धुवामा उडाईदिए कि त्यो सोझै मेरो अनुहारमा पोतियो।

जसरी पनि पचास रुपैयाँ थपेर मिटरमा जाने मेरो अडान एकैछिनमा कर्कलोको डाठ झैं लुलो भयो। मैले सडक बिचमा उभिएर सिटी फुकिरहेका ट्राफिक गुहारे। एकजना ट्राफिकले मेरो अनुरोध सुनेको नसुन्यै गरे। सायद उनको वेवास्तामा निरिहता र लाचारी मिसिएको थियो। नजिकै अर्का ट्राफिक थिए, कमल ध्वज गुरुङ। सायद मेरो निरिह अनुहार देखेर उनलाई दया लागेछ, उनले मलाई ट्याक्सी खोजीदिने बताए।

सडक किनारमा केही ट्याक्सी थिए। तर ट्राफिकलाई देखेर तिनका चालक कतै लुकीसकेका थिए। यता उता भौतारिँदा पनि केही सिप नलागेपछि म धुरुक्कै भए। आँत सुकिसकेको थियो। नजिकैको पसलबाट पानी किनेर खाए। गह्रौ झोला लतार्दा हात लुला भईसकेका थिए। हामी दम्पती जीवनकै सबैभन्दा ठुलो हार खेपीरहेझै झोला लतार्दै कलंकीको चोक पारी आयौं।

त्यतिबेला मेरो मनमा यो देशका खराब शासकहरुको अनुहार नाचिरहेको थियो। मिटरमा जान खोज्नु नै मेरा गल्ती थियो। समृद्धीको नारा फलाक्न सरकार सडकका प्रत्येक पोलमा प्रधानमन्त्रीको अनुहार झुण्ड्याउँछ। अनि म नाथे मिटरमा जान नमान्ने ट्याक्सीको दादागिरीबाट प्रताडित भएर हातका नसा चुडिएलान झैं गरी गह्रौं झोला झुण्ड्याउँछु।

जीवनमा कहिल्यै देशलाई गाली गर्न मन लागेन। तर त्यो दिन किन किन गाली गर्न मन लाग्यो। यो देशमा जन्मिनु अभिशाप थियो कि त्यो दिन मेरो दशा बिग्रेको थियो? होइन भने राज्यलाई नियमित कर तिर्ने नागरिकका नाताले मैले के पाप गरेको थिएँ?

यता र उता भौतारिंदा भौतारिंदै म आलसतालस भइसकेको थिए। जति भन्छन् त्यति पैसा तिरेर ठगिन्छु भन्ने सोचेर एउटा ट्याक्सीको झ्यालमा टाउको जोतें। गन्तव्य बताएपछि सोधे, ‘कति पैसा लिनुहुन्छ?’ उत्तरमा ति चालकले जे भने त्यसले मेरो टाउकोमा चिसो पानी छम्केजस्तो शितल भयो।

उनले भने, ‘मिटरमा उठे बराबर दिनु न !’

मेरो मन छमछमी नाचेझैं भयो। झोला राखेर हामी भित्र पस्यौं। मिटरमा जाने ट्याक्सी चालकको अनुहार नियालीरहें। ति चालकलाई मैले लाख–लाख धन्यवाद मात्रै भनिन, गन्तव्यमा पुगेपछि उठेभन्दा बढी पचास रुपैयाँ पनि थमाईदिएँ।

यात्राका दौरान ति चालकलाई मैले सोधें, ‘तपाईं त देउतै हुनुहुँदो रैछ। मिटरमा जान मान्नुभो त।’

उनी मुसुक्क हाँसे र भने, ‘ईमानले कमाएर पनि बाच्न पुग्छ भने किन ठग्नु।’ उनीसंगको लामो कुराकानीको सार थियो, बहुसंख्यक ट्याक्सी चालक यात्रुको अप्ठ्यारोमा जाल थापेर ठग्नुलाई कमाउने सुत्र ठान्छन्।

...

दुई महिनापछि फेरी चितवनबाट काठमाडौं आउने मेसो पर्‍यो। त्यो यात्रामा भने म एक्लै थिएँ। कलंकीमा माइक्रो रोकिनेबित्तिकै रानी माहुरीलाई माहुरीहरुले घेरेझैं फ्लोरोसेन्ट ज्याकेट लगाएका ट्याक्सी चालकले घेरे।

सहचालकले ढोका खोल्ने बित्तिकै मैले भनें, ‘मिटरमा जाने कोही हुनुहुन्छ भने म उठेको रकममा दस प्रतिशत थप्छु है।’ कोही बोलेनन्। मुखामुख गरेजस्तो गरे।

मैले फेरी भनें, ‘मिटरमा उठेको रकममा बीस प्रतिशत थप्छु।’ फेरी कोही बोलेनन्।

विस्तारै चालकहरु लाखा पाखा लाग्न थाले। मैले फेरी बोलें, ‘मिटरमा उठेभन्दा तीस प्रतिशत थपेर दिन्छु। लौ न जाम।’ सबैले मेरो अनुहारमा अपराधीलाई हेरेझैं हेरेर तर्किए।

एकजना चालक जान खोजेजस्तो गरे। अनि भने ‘झोला पनि होला।’ मैले छ भनेपछि उनी तर्किएजस्तो गरेर भने, ‘मान्छेमात्रै भए पो मिटरमा जाने त। झोला भएपछि त थप पैसा लागीहाल्छ नि।’

त्यो चालकको अनुहारमा लुटेराको प्रतिबिम्ब थियो। मैले उसका कुरा नसुनेझैं गरें।

आमाले हालिदिएको कोसेलीले भरिएको गह्रौं झोला छेउ लगाएर म उभिरहें। अघिल्लो यात्रामा बेहोरेको हैरानी फेरी सम्झनामा आयो। म आलसतालस भएँ। धेरैबेरपछि एकजना ट्याक्सी चालकले अरु बेला मिटरमा उठ्ने रकममै जान तयार भए। ती चालकसँग मैले लामो कुरा गरें।

२०५८ सालदेखि निरन्तर ट्याक्सी चलाइरहेको ती चालकले आफ्नो दसक लामो अनुभव साटे। आठ वर्ष ट्याक्सी हाँकेपछि उनी २०६५ मा साउदी अरब गएका रहेछन्। उनले भने, ‘साउदी जानु अघिसम्म ट्याक्सी चालकको इज्जत थियो। मिटरमै जाने चलन थियो। मिटरमा नगएपनि कसेर भाडा ठोक्दैनथे। ईमान ईज्जत जानेगरी ठग्नै पाए हुन्थ्यो भन्ने थिएन।’

चार वर्षपछि उनी साउदीबाट फर्किंदा अवस्था अर्कै भइसकेको थियो। फर्केपछि पनि उनले ट्याक्सी किनेर चलाउन थाले। उनले अनुभव साटे, ‘फर्कंदा अवस्था अर्कै भइसकेको रहेछ। सोझासाजालाई कसेर भाडा ठोक्ने, यात्रुको अप्ठ्यारो बुझेर चर्को भाडा लिने चलन चलिसकेको थियो। अनि ट्याक्सी चालक भनेका लुटेरा नै हुन भन्ने बुझाई बढ्दै थियो।’

उनको अनुभवी कुरा सुनेपछि मैले सोधें, ‘के ट्याक्सी चालकले सुरु गरेको विरोध जस्तै भाडा कम भएकै हो त?’

उनले भने, ‘भाडा त समायोजन गर्नैपर्ने देखिन्छ। सुरुवाती मिटर पचासबाट सुरु गर्ने हो भने कसैलाई घाटा पर्दैन। यति मात्रै गरेर मिटरको नियम बसाल्न कडाइ गरियो भने थिती बस्छ।’

‘अहिलेकै दरमा ट्याक्सी चालकले मिटरमै चलाउँदा कति कमाउँछन्?’

उनले भने, ‘२५ देखि तीस हजार त सजिलै कमाउँछन्।’

'अनि मिटरमा जान नमान्ने, यात्रुलाई अप्ठ्यारोमा पारेर जति भन्यो त्यति पैसामा जान बाध्य पार्नेहरुले चाही कति कमाउँछन् नि?'

‘त्यस्ताले त एक लाख माथी कमाउँछन्’, उनेल भने, ‘कोही कोहीले त सजिलै लाख माथी कमाउँछन्।’

‘तपाईंको अनुभवमा इमान्दारको संख्या कति होला? बेईमानको कति होला?’

उनी एकछिन गम खाए र भने, ‘सत्तरी प्रतिशत त बेइमान नै होलान सर।’

पछिल्लो तीन महिनामा मैले दर्जनपटक ट्याक्सी चढें। जसमध्ये तीनजना ट्याक्सी चालकले आफ्नो धर्म निभाएर मिटरमा जान माने। अनि तिनलाई मैले मिटरमा उठेभन्दा पचास रुपैयाँ बढी रकम थपिदिएँ।

...

अघिल्लो साता मात्रै जर्मनीबाट फर्केर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर निस्कदा ट्याक्सी चालकको हैकम फेरी भोगीयो। मिटरमा जाने मेरो अनुरोधलाई दर्जन बढी ट्याक्सी चालकले खिसीका रुपमा अर्थ्याए।

यस्तो लाग्यो, मिटरमा जाउ भन्ने अनुरोध गरेर म अबुझ र हुनै नसक्ने कुरा गरिरहेछु। एकजना चालकले व्यंग्य गरेर भने, ‘सर तपाईं कुन जमानामा हुनुहुन्छ। मिटरमा जाने।’ यति भनेर उनले अर्का चालकतिर हेर्दै खिस्याएको शैलीमा हाँसे। मैले मनमनै सोचें, सरकार यो विमानस्थल बरु बुटिक नबनाउनुस्। विमानस्थलको आँगनलाई ठगहरुको अड्डा बन्न नदिनुस्।

१५ दिने लामो विदेश यात्रापछि फर्किंदा काठमाडौंमा कुनै राजनीतिक बदलाव थिएन। सबै उस्तै थियो। फरक यत्ती रहेछ, ट्याक्सी चालकहरुले भाडा समायोजनको भद्र आन्दोलन सुरु गरेका थिए। ट्याक्सीका पछाडी अनेकन नारा लेखिएका पम्प्लेट टाँसिएका रहेछन्।

कसैले लेखेका थिए, ‘सरकार भाडा समायोजन गर र मलाई कतार जान बाध्य नपार।’ कसैले लेखेका थिए, ‘सरकार मैले २०७५ को मुल्यमा खरिद गर्नुपर्ने सेवा दिंदा चाँही २०६९ को मुल्यमा दिनुपर्ने?’ यस्तै यस्तै...।

यस्ता नारा पढीरहँदा म कलंकीको चोकमा धुलो र धुँवा खाँदै वा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घर फर्किंदा दर्जनौं पटक ठगिएका घटनाहरु झलभली सम्झनामा आइरहे।

अनि भन्न मन लाग्यो, ‘मिटरमा उठे भन्दा पचास वा सय रुपैयाँ बढी दिन्छु भन्दा पनि जान नमान्ने ट्याक्सी चालकहरुको बिगबिगी के हो? यो ठगी धन्दा हो कि होइन?’

कसैलाई मेरा कुरा विश्वास लाग्दैन भने आउनुस् काठमाडौंका जुनकुनै सरकारी अस्पताल बाहिर उभिएर स्टिङ अपरेशन गरौं। आउनुस् विमानस्थल बाहिर वा कलंकी चोकमा उभिएर तमासा हेरौं। मिटरमा उठ्ने रकममा पचास वा सय रुपैयाँ थप्छु भन्दा पनि जान नमान्ने ट्याक्सी चालकहरु सेवा प्रदायक हुन् कि ठग अनि बहस गरौंला !

प्रकाशित : फाल्गुन ३०, २०७५ १४:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT