दुई हवाईजहाज चार्टर गरेर जन्ती, अधिकांशको पहिलो काठमाडौं भ्रमण

रमेशचन्द्र अधिकारी

धनकुटा — जन्ती जाँदा गाडी रिजर्भ गरेर जाने चलन सामान्य हो । तर, यहाँका एक व्यक्तिले छोराको जन्ती जानेक्रममा ६९ जन्तीलाई दुई वटा हवाईजहाज चार्टर गरेका छन् ।

महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाका छोरा दिनेशको विवाहका क्रममा जीतपुरबाट काठमाडौँमा जन्ती आतेजातेक्रममा बुधवार चार्टर गरिएको प्लेनमा सवार जन्ती । जसमध्ये अधिकांश जेष्ठनागरिक पहिलो पटक काठमाडौँको यात्रामा थिए । तस्बिर सौजन्य : रामबहादुर थापा ।

महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाका छोरा दिनेशको विवाहका क्रममा जीतपुरबाट काठमाडौँमा जन्ती आतेजातेका लागि बुधबार हवाईजहाज चार्टर गरिएको हो। जसमा पहिलोपटक काठमाडौँ जाने ४० ज्येष्ठ नागरिकसमेत जन्ती भएर गएका छन्। थापाले आफ्नै निवास रहेको जीतपुरबाट विराटनगर विमानस्थलसम्म तीन वटा गाडीमा जन्ती लगेका थिए। विराटनगरबाट काठमाडौँ गएर साँझ पुनः बुद्ध र सिम्रिक एयर चार्टर गरेर हवाईजहाजमा जन्ती विराटनगर आएको थापाले बताए। ज्येष्ठ नागरिकलाई काठमाडौँ भ्रमण गराउने मुख्य उद्देश्यले जन्तीको रूपमा प्लेन चार्टर गरेर लगेको हुँ’ उनले भने, ‘छोराको जन्ती भएर गाउँघरका अधिकांश ज्येष्ठ नागरिक भ्रमण गराउन पाएकोमा खुसी लागेको छ।’

७५ वर्षीय दिलबहादुर पौडेलले पहिलो पटक काठमाडौँ पुग्दा निकै दङ्ग परेको बताए। जन्ती भएर दौरा सुरुवालमा ठाँटिएका पौडेलले जहाजसमेत पहिलो पटक चढेको बताए। एकै दिनमा विराटनगर–काठमाडौँ हवाईजहाज चढेर आतेजाते गर्दाको क्षण जीवन सुखद रहेको प्रतिक्रिया दिए।

‘मैले त सोचेकै थिइन यस्तो अवसर आउला भन्ने’ उनले भने, ‘पिलेनबाट तल हेर्दा रिँगटा लागे जस्तो भए पनि असाध्यै रमाइलो भयो।’ पौडेलजस्तै ६८ वर्षीय चक्रबहादुर कार्कीले पनि काठमाडौँ देख्न पाउँदाको खुसी भुल्नै नसक्ने बताए। अर्का ज्येष्ठ नागरिक पदमबहादुर खड्काले पनि पहिलो पटक जहाज चढेर काठमाडौँ पुग्दा रमाइलो भएको बताए।

जन्तीको रूपमा महालक्ष्मी नगरपालिकाका मेयर परशुराम नेपाल, शिक्षा समन्वय ईकाइ प्रमुख रामबहादुर थापा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश घिमिरेलगायत जनप्रतिनिधिहरू पनि गएका थिए। जहाज चढेर जन्ती भएर सिँगारिएको भव्य होटलमा पुग्दा अधिकांश दङ्ग देखिएको जन्तीका रूपमा गएका महालक्ष्मी नगरपालिका मेयर नेपालले बताए। ६९ जना मध्ये अधिकांश पहिलो पटक जहाज चढेका थिए।

दुबैतर्फ आतेजाते चार्टर गर्दा साढे सात लाख रुपैयाँ खर्च भएको नगेन्द्रले जानकारी दिए। अलैंची खेती र व्यावसायिक पशुपालन गर्दै आएका उनले गाउँभरिका ज्येष्ठ नागरिकलाई आफ्नै खर्चले भ्रमण गराउने पहिले देखिको मनोकांक्षा रहेकोले जन्तीको अवसर पारेर इच्छा पूरा गरेको बताए। उनी छोरा दिनेश र काठमाडौँ निवासी बुहारी प्रज्ञा सुवेदीसहित जहाजबाट बुधवार राति नै पुनः जीतपुर फर्किएका छन्।

प्रकाशित : फाल्गुन ३०, २०७५ १५:२४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फागू पूर्णिमाको चीर गाडियो

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — रंगहरुको पर्व फागू पूर्णिमा सुरु भएको संकेत स्वरुप बिहीबार उपत्यकाको वसन्तपुरमा विधिवत रुपमा चीर (लिंगो) गाडिएको छ ।

बिहीबार बिहान ११:५५ बजेको शुभसाइतमा रंगीचंगी कपडाको टुक्रा झुण्डाएर चीर गाडिएको हो । हनुमानढोका दरबारको मूलद्वार अगाडि बीस फिट अग्लो, तीन तले छत्र आकारमा रंगीचंगी कपडाका टुक्रा झुण्डाएर सिंगारिएको चीर लिंगो गाडेजस्तै गरी मानन्धर समुदायद्वारा फाल्गुन शुक्ल अष्टमीका दिन गाड्ने चलन रहेको छ । शुभसाईतमा चीर गाड्दा हनुमानढोकामा गुरुजूको पल्टनले हर्ष बढाइँ गरी सलामी समेत दिएका थिए ।

चीर गाडेपछि होली विदिवत रुपमा सुरु भएको मानिन्छ । होलीको मुख्य दिन चीर लडाएर दहन गर्ने गरिन्छ । यसवर्ष पहाडी जिल्लामा चैत ६ गते र तराईमा ७ गते होली पर्व मनाइँदै छ ।


प्रकाशित : फाल्गुन ३०, २०७५ १५:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT