कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मलाई मार्न टिम खटाउने साथीहरु देखेर दया लाग्छ : दाहाल

टीकाराम तामाङ

काठमाडौँ — नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई मार्न नेत्रविक्रम चन्दले टोली खटाएको सूचना सरकारले दिएको भन्दै उनीहरुप्रति दया लागेको बताएका छन् । नेकपा कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित सहिद, बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आफूलाई पहिला मार्नुपर्ने भनेर चन्द समूहले माइन्यूट गरेको सूचना सरकारले दिएको खुलासा गरे ।

मलाई मार्न टिम खटाउने साथीहरु देखेर दया लाग्छ : दाहाल

'सरकारबाटै जानकारी आयो प्रचण्डलाई नै पहिला मार्नुपर्छ भनेर माइन्यूट गर्नु भा'छ रे, टिम पनि खटाउनु छ रे !', चन्दलाई लक्षित गर्दै उनले भने, 'ती साथीहरुलाई देखेर मलाई साँच्चै दया, माया लागेको छ ।' दाहालको प्रश्न थियो, 'मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र वा परिवर्तन बच्ने हो त ?'

सरकारले ऐन कानुनअनुसार कारबाही गर्ने भन्दै उनले राम्रोसँग सोच्न सुझाव राखिरहेको बताए । 'राज्यले जे गर्नुपर्ने हो ऐन, कानुनअनुसार गर्छ, मुख्य कुरा परिस्थितिलाई सही ढंगले विश्लेषण, मूल्यांकन गरेर परिस्थितिअनुसार अघि बढ्ने हो' उनको भनाइ थियो । तत्कालीन नेकपा माओवादीले २०५२ सालमा थालेको 'जनयुद्ध' को परिस्थिति नभएको उनले ‍‌चन्दलाई सुझाए । '०५२ सालजस्तो परस्थिति नितान्त छैन, यो ०७५ साल हो' अध्यक्ष दाहालले भने, 'ठूलो राजनीतिक परिर्वतन हाम्रै कारणले आएको छ । यसलाई उल्ट्याउने भनेकै फेरि निरंकुशतातर्फ नेपाल लैजाने हो, विचार गर्न विशेष रुपले आग्रह गर्न चाहन्छ ।' देशमा चन्दा, लुटपाट र आपराधिक गतिविधिमा लागेको भन्दै चन्द समूहको गतिविधिमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ ।

अध्यक्ष दाहालले चन्द समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने समेत बताएका छन् । उनले भने, 'कुनै पनि आन्दोलनलाई सफल बनाउन त्यो समय, अवस्था तथा आवश्यकताअनुसारको सक्कलताबाट मात्रै सफल हुन्छ ।' उनले कसैको नक्कल गर्दै धाँकधम्की दिँदै आफ्नो अधिपत्य देखाउँछु भन्ने कसैलाई सपना नदेख्न चेतावनी पनि दिए ।

पार्टी एकीकरणबाट बलिदानको कृतिमानीलाई स्थापना गर्न सफल भएको बताउँदै उनले जनताको काम गर्दै जाँदा जनताले प्रचण्ड बनाएको हो, प्रचण्डको नक्कल गरेर वास्तविक प्रचण्ड हुन नसकिने धारणा राखे ।

उनले जनताको त्याग र बलिदानीबाट नै समाजवादको आधार तयार भएको बताउँदै समाजवादको यात्रामा अघि बढेको तर त्यो रातारात आउन नसक्ने धारणा व्यक्त गरे । एकता र सहकार्यका साथ महान् समाजवादको उज्यालोमा पुग्न सकिने पनि उनले बताए । अध्यक्ष दाहालले शहीदहरु युगयुग बाँचेका हुन्छन् भन्दै जनयुद्ध र जनआन्दोलनका सबै शहीदको एकै ठाउँमा शहीदपार्क बनाउनेमा पार्टीमा सहमति भइसकेको जानकारी गराए ।

भिडियो सौज्नय : अध्यक्ष दाहालको सचिवालय ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?