१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

२५ वर्षदेखिका अस्थायी शिक्षक स्थायी बन्दै, यसै वर्ष लाइसेन्स परीक्षा लिइने

कान्तिपुर संवाददाता

काठमाडौँ — अढाई दशकभन्दा बढी अस्थायी रूपमा कार्यरत शिक्षक स्थायी बन्ने भएका छन् । शिक्षक सेवा आयोगले तीनै तहमा कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न सुरु गरेको छ । २०५६ सालमा स्थापना भएयता आयोगले यसपालि एकै वर्ष करिब २७ हजार शिक्षक पदपूर्ति प्रक्रिया अघि बढाएको छ ।

२५ वर्षदेखिका अस्थायी शिक्षक स्थायी बन्दै, यसै वर्ष लाइसेन्स परीक्षा लिइने

तीनवटै तहका गरी करिब १३ हजार अस्थायीका साथै १२ हजार ७ सय ३९ पदमा खुला प्रतिस्पर्धाबाट स्थायी हुँदै छन् ।


पदपूर्ति प्रक्रियालाई तहगत आधारमा २०४९ सालअघि, ०६१ सालअघि र २०७२ सालअघि गरी तीन फरक समूहमा अस्थायीलाई प्रतिस्पर्धा गराइएको छ । हालै मात्र प्रकाशित निम्न माध्यमिक तहको शिक्षक परीक्षामा १ हजार ९ सय ९ जना उत्तीर्ण भएका छन् । तीमध्ये ५१ जना २०४९ सालअघि र ८ सय ५९ जना ०६१ साल अघिदेखि अस्थायी छन् । उत्तीर्ण भएका शिक्षकहरू नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान र कम्प्युटर विषयका हुन् ।


सबैभन्दा धेरै अस्थायी शिक्षक प्राथमिक तहमा छन् । प्राथमिक र माध्यमिक तहको नतिजा प्रकाशनक्रममा छ । 'आयोगले विभिन्न तह, खण्ड र विषयगत गरी दुई सयभन्दा बढी विज्ञापनको पदपूर्ति गर्दै छ,' आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले भने, 'मावि र प्राविको नतिजा प्रकाशन गर्न अझै केही समय लाग्छ ।'


लाइसेन्स यसै वर्ष

शिक्षक सेवा आयोगले यही आर्थिक वर्षभित्र अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को परीक्षा लिएर नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । प्राविधिक कारणले २०६८ सालदेखि रोकिएको प्राथमिक तहको शिक्षक लाइसेन्ससमेत खुलाउने आयोगले जनाएको छ । शिक्षा ऐनमा विद्यालयलाई आधारभूत र माध्यमिक गरी दुई तह मात्र कायम गरिएपछि प्राथमिक शिक्षकका निम्ति लाइसेन्स रोकिएको थियो ।


'हामी चाँडै लाइसेन्स परीक्षा लिनेछौं,' प्रशासकीय प्रमुख थपलियाले भने, 'लाइसेन्स लिन योग्य उम्मेदवारले अनलाइनबाट फाराम भर्न पाउनेछन्, चाँडै जाँच लिइनेछ र असारभित्र नतिजा प्रकाशन भइसक्नेछ ।'


आयोगले नयाँ लाइसेन्स लिएका युवालाई लक्षित गरी खुला विज्ञापन आह्वान गर्ने थपलियाले बताए । मुलुकका ७७ वटै जिल्लाबाट लाइसेन्सको फाराम भरेर परीक्षा दिन पाउनेछन् । प्राथमिक तहका निम्ति विषय तोकिनेछैन भने कक्षा ६ देखि माथि अध्यापन गराउनेलाई विषयगत लाइसेन्स परीक्षा लिइनेछ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?