३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

शिक्षा उपसचिव १० घण्टा प्रहरी नियन्त्रणमा

निषेधित क्षेत्रमा धर्ना बसेकाले नियन्त्रणमा लिई सोधपुछ गरिएको हो : प्रहरी
सुदीप कैनी

काठमाडौँ — कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै बिहीबार राजधानीको माइतीघर मण्डलमा धर्ना बसेका शिक्षा मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेललाई प्रहरीले १० घण्टा नियन्त्रणमा राखेर छाडेको छ । बिहान ८:३० बजे धर्ना बस्न माइतीघर पुगेका उनलाई महानगरीय प्रहरी वृत्त सिंहदबारको टोलीले नियन्त्रणमा लिएर साँझ ५:३० बजे मुक्त गरेको हो ।

शिक्षा उपसचिव १० घण्टा प्रहरी नियन्त्रणमा

'धर्ना बस्ने तयारीमा माइतीघर मण्डल पुग्दै थिएँ,' उनले भने, 'यहाँ धर्ना बस्न पाउनुहुन्न भनेर उठाएर दिनभर प्रहरी कार्यालयमा लगेर राखे ।' उपसचिव पोखरेलले बुधबार साँझै धर्नाबारे मन्त्रालयका अधिकारी र पत्रकारलाई टेलिफोन गरी जानकारी गराएका थिए । उनले साताव्यापी धर्ना कार्यक्रम घोषणा गरेका छन् । दैनिक १० घण्टाका दरले माइतीघरमा धर्ना बस्ने कार्यक्रम थियो । शान्तिपूर्ण तरिकाले धर्ना बस्दा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनले असन्तुष्टि जनाए ।


संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले अन्यायपूर्ण तरिकाले कर्मचारीको समायोजन गरेको उनको दाबी छ । 'प्रशासनका कर्मचारी मालिक र अन्य सेवाका कर्मचारी दास हुने गरी भएको समायोजन मान्य छैन', उनले भने, 'अन्यायपूर्ण समायोजनको विरोधमा दबाब दिन धर्ना कार्यक्रम तय गरेको हुँ ।'


शिक्षाका कर्मचारी समायोजनप्रति असन्तुष्ट छन् । पोखरेल अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा समायोजनमा परेका छन् । नीति र मापदण्डबिनै समायोजन गरिएको भन्दै उनले पत्र बुझेका छैनन् ।


प्रहरी वृत्त सिंहदबारले वहालवाल कर्मचारी निषेधित क्षेत्रमा धर्ना बसेकाले नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणपछि सोधपुछ गरेर पोखरेललाई छाडिएको वृत्तका अधिकारीहरूले बताए । साँझ आफन्तको जिम्मा लगाएर उनलाई मुक्त गरिएको हो ।


उपसचिव पोखरेलेल शुक्रबार पनि धर्ना बस्ने जनाएका छन् । 'म शान्तिपूर्ण तरिकाले धर्ना बस्न गएको थिएँ, प्रहरीले व्यानर पनि जफत गरे,' उनले भने, 'भोलि -शुक्रबार) पनि जान्छु ।' संघीयताको मर्मविपरीत कर्मचारी समायोजन भएकाले नसच्याएसम्म आन्दोलन जारी राख्ने उनले चेतावनी दिए । 'केन्द्र सरकार हावी भएको छ, प्रदेश, स्थानीय सरकार र तल्लो तहका कर्मचारी मर्कामा परेका छन्,' उनले भने ।


यसअघि पनि असोजमा उनलाई शिक्षा मन्त्रालयले नवलपरासीको देवचुली नगरपालिकामा सरुवा गरेको थियो । उनी त्यहाँ हाजिर हुन गएनन् । कर्मचारी सरुवाको विषयमा सरकार र मन्त्रालयविरुद्ध टिकाटिप्पणी गरेको भन्दै उनीसँग शिक्षा सचिव खगराज बरालले स्पष्टीकरण सोधका थिए । पोखरेलले प्रधानमन्त्रीसहित १० निकायलाई स्पष्टीकरणको जवाफ लेखेका थिए ।


प्रकाशित : फाल्गुन ३०, २०७५ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?