सञ्चारमन्त्रीले भने, 'दस औंला जोडेरै बिन्ती छ, वार्तामा आउनुस्'

विमल खतिवडा

काठमाडौँ — सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आपराधिक र विध्वंसात्मक क्रियाकलाप गरेकाले गतिविधिमा प्रतिबन्ध लगाइएको स्पष्ट पारेको छ । सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार सरकारका तर्फबाट आधिकारिक निर्णय सार्वजनिक गर्दै चन्द समूहले केही समययता आतंकवादी शैलीमा मुलुकका विभिन्न भागमा संगठित आपराधिक तथा विध्वंसात्मक कार्य गरिरहेको फेहरिस्त प्रस्तुत गरे । 

सञ्चारमन्त्रीले भने, 'दस औंला जोडेरै बिन्ती छ, वार्तामा आउनुस्'

'चन्द समूहले निर्दोष नागरिकको हत्या, बम विस्फोट, आगजनी, जबरजस्ती रकम संकलन, अपहरण, दूरसञ्चार, जलविद्युत्जस्ता अति संवेदनशील पूर्वाधारमा क्षति पुर्‍याउँदै आएको छ,' मन्त्री बाँस्कोटाले भने, 'यस्ता गतिविधि गर्नेलाई संगठित अपराध ऐन २०७० अनुसार कारबाही हुन्छ । निर्वाचन आयोगमा दर्ता नभएका कारण यो समूह मात्र हो ।' ०७५ फागुन १० गते यही समूहले ललितपुर, काठमाडौं, धादिङ, नुवाकोट, गोरखा, लमजुङ, बागलुङ, रुपन्देही, रोल्पा, बाँके, जाजरकोट, कञ्चनपुरलगायत जिल्लामा दूरसञ्चार सेवा प्रदायक कम्पनीका टावरमा भएका विस्फोट र आगजनीको जिम्मेवारी लिएको थियो । 'सरकारले आपराधिक तथा विध्वंसात्मक गतिविधि सञ्चालन गर्ने समूह, व्यक्ति तथा संस्थालाई प्रचलित कानुनबमोजिम कारबाही र त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न आपराधिक तथा विध्वंसकारी घोषणा गर्न आवश्यक भएको थियो,' उनले भने ।


मन्त्री बाँस्कोटाले अधिकांश समय चन्द समूहको क्रियाकलापमाथि टिप्पणीमा खर्चिएका थिए । उनले वार्ता गर्न सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा सरकारले करिब ५ महिनाअगाडि समिति गठन गरे पनि चन्द समूह नआएको बताए । 'हाम्रो तर्फबाट वार्ता प्रयास नभएको होइन । कार्यकर्ता रिहा गर्ने र मुद्दामामिला नगर्ने सर्त राखियो । हामीले मान्यौं तर चन्द समूह वचनको पक्का देखिएन,' उनले भने ।


मन्त्री बाँस्कोटाले चन्द समूह वार्तामा आए रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताए । '१० औंला जोडेरै बिन्ती छ, आउनुस्,' उनले भने, 'उहाँहरूले आपराधिक क्रियाकलापलाई निरन्तरता दिनुभयो भने राज्यले आफ्नो दायित्व निर्वाह गर्नेछ । हामी दुःखी हुन सक्छौं तर कर्तव्यच्युत हुन सक्दैनौं ।' उनले कुनै पार्टीलाई प्रतिबन्ध नलगाएको, चन्द समूहको गतिविधि मात्र बन्देज गरिएको बताए ।


मन्त्री बाँस्कोटाले सीके राउतसँगको सम्झौताको प्रसंगमा कोही ठीक ठाउँमा आउन तयार भए लखेट्न नमिल्ने बताए । 'फरक तरिकाले हिँडिरहेको दाबी गर्ने संस्थालाई शान्तिपूर्वक राष्ट्रिय एकता, अखण्डतालाई कार्यान्वयन गर्छु, म त्यसमा प्रतिबद्ध छु भनेर आउँछ भने उसलाई घिसारेर, लखेटेर, ढोका थुनेर यहाँ आउनै पाउँदैनस् भनेर खेद्न मिल्दैन,' उनले भने, 'सीके राउत आउनुभयो, सरकारले स्वागत गर्‍यो ।' उनले यसलाई अन्य रूपमा व्याख्या गर्नुपर्ने कारण नभएको बताए ।


'शब्दका नाममा उत्पात केही भयो कि भन्ने छ तर यसरी शब्दको खेती चलिरहन्छ,' उनले भने, 'शंका गर्न पाइन्छ, प्रश्न उठाउन पाइन्छ, आफ्ना तर्क, तथ्यांक राख्न पनि पाइन्छ तर के हुन्छ भनेर पर्खनु पनि पर्छ ।'



प्रकाशित : फाल्गुन ३०, २०७५ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?