कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चन्द समूहका गतिविधि उस्तै, जन्ती बोकेको गाडीमा आगजनी 

सुदूपश्चिम ब्युरो

(धनगढी) — सरकारले प्रतिबन्धित गरे पनि नेक्रवित्रम चन्द समूहले आफ्ना गतिविधि रोकेको छैन । उक्त समूहले बिहीबार ठाउँठाउँमा सवारीसाधनमा आगजनी गर्नुका साथै बजार, यातायात र शिक्षण संस्थान बन्द गराएको छ । कैलालीको मसुरिया र बडैपुर नजिक भजनीबाट आउँदै गरेको विवाहको गाडीमा आगजनी गरिएको छ ।

चन्द समूहका गतिविधि उस्तै, जन्ती बोकेको गाडीमा आगजनी 

जिल्ला प्रहरी प्रमुख आभूषण तिम्सिनाले म१ख ४४१ नम्बरको बसलाई कैलालीको बडैपुरनजिक राति १ बजेतिर चन्द समूह कार्यकर्ताले रोकेर आगो लगाएको बताए । उनका अनुसार गाडीमा बाजा बजाउने टोली र जन्ती थिए । उनीहरूलाई बाहिर निकालेर बसमा आगो लगाइएको थियो ।


धनगढी, टीकापुर, सुख्खड, लम्की, भजनीलगायत बजार पूर्ण रूपमा बन्द भए । बाटामै अलपत्र परेका गाडीलाई प्रहरीले स्कर्टिङ गरी गन्तव्यमा पठाएको छ । विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएका छन् । एसपी तिम्सिनाले जोशीपुर, साढेपानीलगायत ठाउँमा शंकास्पद वस्तु फेला परेको बताए । धनगढीमा न्यून संख्यामा अटोरिक्सा र मोटरसाइकल चलेका थिए । बाजुराका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परे । प्रदेशको अस्थायी राजधानीलगायत पहाडी जिल्लामा लामो दूरीका यातायात साधन ठप्प रहे । नगर क्षेत्रमा शिक्षण संस्था र बजार पनि खुलेनन् । कैलालीकै जोशीपुर गाउँपालिकाको एकै भवनमा सञ्चालित वडा ५, ६ र ७ को कार्यालयमा शंकास्पद वस्तु फेला परेका छन् । कैलालीमा चन्द समूहका ३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।


कञ्चनपुरमा यातायातका साधन सञ्चालन नहुँदा भारतबाट घर फर्किएका र कामका लागि उता लागेका अलपत्र परे । अत्तरियामा यात्रु दिनभर महेन्द्रनगर बसपार्कमा रहे ।


बन्दका कारण महेन्द्रनगरबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी चलेनन् । सुरक्षा निकायले एस्कर्टिङ दिने जानकारी गराए पनि व्यवसायीले गाडी चलाएनन् । मुगुका स्कुलहरूलाई चन्द समूहले बन्द गर्न पत्र पठाएपछि बिहीबार सामाजिक विषयको परीक्षा स्थगित भयो । बन्दका कारण कर्णाली प्रदेशका अधिकांश जिल्लाको जनजीवन प्रभावित बन्यो । लामो दूरीका गाडी नचल्दा स्थानीय हिँडेरै आउजाउ गर्न बाध्य भए । जिल्लाभरका सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्मको वार्षिक परीक्षा चलिरहेकामा विद्यार्थी पुगे पनि बन्दका कारण त्यत्तिकै फर्किएका थिए ।


छायानाथ रारा नगरपालिका, सोरु, खत्याड र मुगमकार्मारोङ गाउँपालिकाका एक सय ४१ विद्यालयमध्ये खत्याडमा मात्र परीक्षा भयो । गमगढी बजार क्षेत्रका सम्पूर्ण होटल र पसल बिहानैदेखि खुलेनन् । सल्यानमा बन्द गराउँदै हिँडेका चन्द समूहका ३ कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीका अनुसार नेकपाका कार्यकर्ता खुमलाल केसी, गणेश आरसी र मदन केसीलाई नियन्त्रणमा लिएको हो । बन्दले कालीकोटको ग्रामीण भेकका कार्यालय, विद्यालय बन्द रहे । कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकसहित कर्णाली करिडोरमा गाडी नचल्दा स्थानीय पैदल हिँड्न बाध्य भए । जिल्लाका सबैजसो विद्यालय खुलेनन् ।

प्रकाशित : चैत्र १, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?