दाहालको प्रश्न- ‘मलाई मारेर गणतन्त्र बच्छ ?’

काठमाडौँ — नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई मार्न नेक्रवित्रम चन्द नेतृत्वको समूहले टोली खटाएको सूचना पाएको खुलासा गरेका छन् । चन्द समूहले यसबारे माइन्युटमै निर्णय गरेको सूचना सरकारले आफूलाई दिएको उनले बताए ।

दाहालको प्रश्न- ‘मलाई मारेर गणतन्त्र बच्छ ?’

‘सरकारबाटै जानकारी आयो, प्रचण्डलाई नै पहिला मार्नुपर्छ भनेर माइन्युट गर्नुभा’छ रे, टिम पनि खटाउनुभएको छ रे,’ चन्दलाई लक्षित गर्दै उनले भने, ‘ती साथीहरूलाई देखेर मलाई साँच्चै दया, माया लागेको छ । मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र वा परिवर्तन बच्ने हो त ?’


सहिद–बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई बिहीबार नेकपा कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै दाहालले भने, ‘राज्यले जे गर्नुपर्ने हो ऐन, कानुनअनुसार गर्छ । मुख्य कुरा परिस्थितिलाई सही ढंगले विश्लेषण, मूल्यांकन गरेर अघि बढ्ने हो ।’ सरकारले कानुनअनुसार कारबाही गर्ने उल्लेख गर्दै उनले राम्रोसँग सोच्न (चन्द समूहलाई) सुझाव दिइरहेको बताए । तत्कालीन नेकपा माओवादीले २०५२ सालमा थालेको ‘जनयुद्ध’ को परिस्थिति अहिले नभएको उनले बताए । ‘०५२ सालजस्तो परस्थिति नितान्त छैन, यो ०७५ साल हो,’ दाहालले भने, ‘ठूलो राजनीतिक परिर्वतन हाम्रै कारणले आएको छ । यसलाई उल्टाउने भनेकै फेरि निरंकुशतातर्फ नेपाललाई लैजाने हो, विचार गर्न विशेष रूपले आग्रह गर्न चाहन्छु ।’ चन्दा, लुटपाट र आपराधिक गतिविधिमा लागेको भन्दै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चन्द समूहका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ ।


नक्कल, षड्यन्त्र तथा नाटक गरेर चन्द समूह परीक्षामा पास नहुने दाहालले बताए । ‘कुनै पनि आन्दोलन सफल बनाउन त्यो समय, अवस्था तथा आवश्यकताअनुसार सक्कलताबाट मात्रै सफल हुन्छ’, उनले कसैको नक्कल गर्दै, धाकधम्की दिँदै आफ्नो आधिपत्य देखाउँछु भन्ने सपना नदेख्न चेतावनी पनि दिए । पार्टी एकीकरणबाट बलिदानको कीर्तिमानी स्थापना गर्न सफल भएको बताउँदै उनले भने, ‘जनताको काम गर्दै जाँदा जनताले प्रचण्ड बनाएको हो । प्रचण्डको नक्कल गरेर वास्तविक प्रचण्ड हुन सकिदैन ।’ दाहालले सबै सहिदको एकै ठाउँमा पार्क बनाउन पार्टीमा सहमति भइसकेको जानकारी गराए । प्रधानमन्त्री केपी ओलीले पार्टीभिक्र असन्तुष्टि व्यत्त गरिरहेका नेताहरूलाई बोलाएर नेक्रवित्रम चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउनुको कारण स्पष्ट पारेका छन् ।


चन्द समूह चन्दा असुली, नेता–व्यवसायीको हत्यालगायत योजनामा रहेकाले शान्तिसुरक्षाका लागि सरकारले कदम चालेको उनले बताए । ओलीले पार्टीभित्र पूर्वएमाले पृष्ठभूमिका नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमसँग बालुवाटारमा बिहीबार छलफल गरेका हुन् । नेताहरूले सीके राउतसँगको सम्झौता, चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाउनेलगायत गम्भीरखाले निर्णयमा आफूहरू बेखबर रहनुपरेको भन्दै गुनासो गरेका थिए । यिनै नेताले बुधबार अध्यक्ष दाहालसँग पनि भेटी पार्टीभित्र छलफल नभई निर्णय गर्ने परिपाटी बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।


प्रधानमन्त्री निवासमा सरकारको निर्णयबारे नेताहरूले असन्तुष्टि राखे पनि मुख्य रूपमा पार्टी एकताबारे छलफल भएको थियो । १० महिना भइसक्दा पनि पार्टी एकताले पूर्णता पाएको छैन । ‘मुख्य रूपमा पार्टी एकता लम्ब्याउनु हुँदैन भनेर त्यसको प्रस्ताव तयार गर्नेमा छलफल केन्द्रित भएको हो,’ एक नेताले भने, ‘अब छिट्टै एकताले आकार लिन सक्नेछ ।’ नेताहरूको गुटबन्दीका कारण एकता प्रस्ताव तयार हुन सकेको छैन । जिल्ला तहका कमिटी बनाउने सवालमा समेत नेताहरूले आफ्नो समूहको स्वार्थ हेरेपछि विवाद बढेको थियो । तल्लो तहबाट प्रस्तावित नाममा विवाद भएपछि पटक पटक बनेको कार्यदलले प्रस्ताव तयार गर्न सकेन । त्यसपछि सचिवालयले प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएको थियो । अध्यक्षहरूले प्रस्ताव तयार गर्ने क्रममा वरिष्ठ नेताहरूसँग परामर्श गरेका हुन् ।


प्रकाशित : चैत्र १, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?