कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुलाकी सडक आयोजना : म्याद गुज्रँदै, काम आधामात्रै

भवानी भट्ट

(कञ्चनपुर) — सम्झौता अवधिभित्र काम भएको भए कञ्चनपुरमा हुलाकी सडक आयोजना चालु आवभित्रै सकिनुपर्ने हो । तर तोकिएको समयभित्र आधा पनि पूरा नहुने देखिएको छ । कञ्चनपुरमा ३ चरणमा ठेक्का सम्झौता गरेर हुलाकी सडकको काम भइरहेको छ ।

हुलाकी सडक आयोजना : म्याद गुज्रँदै, काम आधामात्रै

डोकेबजारदेखि बेलौरीको बुटाबारीसम्म २० किलोमिटर, बुटाबारीदेखि बेलडाँडीसम्म २० र बेलडाँडीदेखि दैजीसम्म २२ किलोमिटरको फरकफरक निर्माण कम्पनीले काम गरिरहेका हुन् । ‘निर्धारित समयमा कुनै पनि काम सकिँदैन,’ हुलाकी सडक आयोजनाका इन्जिनियर पदम मडैले भने, ‘चालु वर्षभित्र ३ वटै खण्डको काम सकिनुपर्ने हो, तर आधा पनि काम सकिने देखिँदैन ।’ उनका अनुसार हालसम्म समग्रमा सडक निर्माण ४० प्रतिशत मात्रै भएको छ ।


डोकेबजारदेखि बुटाबारीसम्म १३ नं. ठेक्काको हालसम्मको प्रगति करिब ४० प्रतिशत छ । केही ठाउँमा ग्राभेल हाल्ने काम भइरहेको छ । केही ठाउँमा माटो भरान हुँदै छ । डोकेबजारदेखि दोदा पुलसम्म ४ किलोमिटरमा कालोपत्रेका लागि अन्तिम तयारी भइरहेको इन्जिनियर मडैले बताए । ‘चालु वर्षभित्र उक्त कालोपत्रे सकिन्छ,’ उनले भने । उक्त खण्ड निर्माणका लागि राजेन्द्र शर्मा जेभी निर्माण कम्पनीसँग ०७३ फागुन १ गते साढे ३६ करोडमा ठेक्का सम्झौता भएको थियो ।


बुटाबारीदेखि बेलाडाँडीसम्म १४ नम्बर ठेक्काअन्तर्गत निर्माण भइरहेको सडकको प्रगति ५० प्रतिशत पुगेको छ । चालु वर्षमा १० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखिएको इन्जिनियर मडैले बताए । ‘यो खण्डमा त कालोपत्रेका लागि निर्माण भएको बेस पनि बिग्रिइसक्यो,’ इन्जिनियर भन्छन्, ‘फेरि मर्मत गर्नुपर्ने भएको छ ।’ उक्त सडक निर्माणका लागि ०७३ पुसमा बाबा हंससिद्ध निर्माण कम्पनीसँग ४१ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको हो । बेलडाँडीदेखि दैजीसम्मको २२ किलोमिटर सडकमा सबैभन्दा कम काम भएको छ । कहिले निकुञ्जको विवाद त कहिले निर्माण कम्पनीकै लापरबाहीले यहाँ ढिलो गरी काम सुरु भएको हो । यो सडकमा अहिले पनि माटो भरान तथा ग्राभेलिङको काम सकिएको छैन ।


हुलाकी सडक आयोजनाको कार्यालय धनगढीका अनुसार यहाँ ३०/३५ प्रतिशतमात्रै काम भएको छ । बेलडाँडी–दैजी खण्ड निर्माणका लागि राजेन्द्र शर्मा जेभी निर्माण कम्पनीसँग ०७३ फागुनमा ३८ करोड ५७ लाखमा ठेक्का सम्झौता भएको हो । चालु वर्षमा ३ वटै ठेक्काको काम सकिनुपर्ने हो । तर उक्त समयावधिमा आधा पनि पूरा नहुने देखिएको छ । ‘अहिलेकै अवस्थामा काम भए आधा पनि पूरा हुँदैन,’ मडैले भने, ‘केही ठाउँमा निर्माण सामग्री नपाउँदा र केहीमा निकुञ्जको विवादका कारण ढिलाइ भएको हो ।’ निर्माण कम्पनीले पनि लापरबाही गरेका कारण समयमा नसकिने अवस्था आएको उनले बताए । उनले चालु वर्षभित्र ६२ किलोमिटरमध्ये १६ किलोमिटर कालोपत्रे हुन सक्ने बताए ।


स्थानीयद्वारा विरोधराजनीतिक पहुँचका आधारमा हुलाकी सडक मोडिएको भन्दै भीमदत्त नगरपालिका १९ बाग्फाँटावासीले विरोध जनाएका छन् । उनीहरूले २०१५ देखिको हुलाकी सडक बेलडाँडीदेखि सोझै निकुञ्ज भएर बाग्फाँटा हुँदै महेन्द्रनगर जोड्ने भए पनि राजनीतिक पहुँचका आधारमा दैजी पुर्‍याइएको आरोप लगाएका छन् ।

प्रकाशित : चैत्र १, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?