२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

कान्द्रापारिको कथा : सुक्खामा काठे पुल,वर्षामा डुंगा

मोहन बुढाऐर

(भजनी, कैलाली) — कैलालीको भजनी नगरपालिका ९ मा पर्ने पचमोरिया र बिजुलिया वारिपारिका दुई बस्ती हुन् । ती बस्तीमा दिनहुँ कान्द्रा नदी वारपार गर्न स्थानीयले नदीमा काठेपुल बनाएका छन् । यो काठेपुल नदी वारपारका लागि अस्थायी माध्यम हो ।

कान्द्रापारिको कथा : सुक्खामा काठे पुल,वर्षामा डुंगा

हरेक बर्खाको बाढीले काठेपुल बगाउँछ । नदीमा पानीको सतह घटेपछि काठको पुल हाल्ने गरिन्छ । स्थानीय फूलराम चौधरीका अनुसार बर्सेनि बस्तीका प्रत्येक घरबाट एक जना काठको पुल निर्माणमा जुट्ने गर्छन् । बढीमा १० दिनमा गाउँले नदीमा पुल बनाइसक्छन् ।


‘पुल निर्माणका लागि जसको हातमा जे सीप छ, त्यो श्रमदानमा लगाउनुपर्छ’ फूलरामले भने, ‘कोही जंगलबाट काठ बोक्न जुट्छन्, कोही मिस्त्रीको काम गर्छन् । केही गर्न नसक्ने किलाकाँटीका लागि पैसाको सहयोग गर्छन् ।’ उनले काठेपुलका लागि स्थानीय सामुदायिक वनबाट काठ ल्याउने गरेको बताए ।


उनका अनुसार बर्खाका तीन महिना भने वारिपारिका दुई बस्तीबीच सम्बन्ध लगभग टुटेजस्तै हुन्छ । आपतकालीन अवस्थामा डुंगाको प्रयोग गर्ने गरेको उनी बताउँछन् । गाउँले आफैंले बर्खाका लागि डुंगा किनेर राख्ने गरेको उनले बताए । ‘नदी वारपारको सास्ती कम गर्न हिउँदमा काठेपुल र बर्खामा डुंगाको प्रयोग गर्ने गरेका छौं,’ फूलरामले भने, ‘यो ठाउँमा कम्तीमा एउटामात्रै भए पनि झोलुंगे पुलको माग राखेको वर्षौं भइसक्यो । अहिलेसम्म सुनुवाइ भएको छैन ।’


यो नदी चुरेबाट उत्पत्ति भई कैलालीको मध्यभागमा नागबेली जस्तै घुमेर नेपाल–भारतको सीमा नदी मोहनामा मिसिन्छ । स्थानीय रामप्रसाद चौधरीका अनुसार बस्तीको बीचोबीच भएर कान्द्रा नदी करिब ५५ किलोमिटर जति बग्छ । नदीको सिरान चुरे फेदीदेखि अन्त्यसम्ममा दुई दर्जन बढी अस्थायी काठेपुल र साँघु छन् । ‘पूर्व–पश्चिम राजमार्गको पहलमानपुरमा एक ठाउँबाहेक अन्त कहीँ पनि पक्की तथा झोलुंगे पुल छैन ।’ उनले हुलाकी सडकको लालबोझीमा ठेकदार कम्पनीका कारण ८ वर्षदेखि पुल निर्माणको काम पूरा हुन नसकेको बताए ।


कैलालीको मध्यभागबाट बग्ने काँडा, पथरिया, कटैनी, घुराहा, खुटिया, गौरीगंगा लगायतका ठूला नदी वारपारमा पनि स्थानीयले हिउँदमा साँघु तथा काठेपुल र बर्खामा डुंगाको प्रयोग गर्ने गरेका छन् । पूर्व–पश्चिम र हुलाकी सडकबाट बाहेक उक्त नदी तर्न हिउँदमा साँघु तथा काठेपुल र बर्खा डुंगाको प्रयोग गर्नु बाध्यता भएको बताउँछन् अर्का स्थानीय प्रताप साउद । उनका अनुसार वारिपारि गाउँको सम्बन्ध बर्खामा डुंगा र हिउँदमा काठेपुलले जोडिएको छ । कैलालीको मध्यभागको अधिकांश क्षेत्र उक्त नदीकै कारण बाढीग्रस्त क्षेत्रमा पर्ने गरेको छ ।


सामुदायिक वन उपभोक्ता समूह, क्लबहरूले हिउँदमा काठेपुल र बर्खामा डुंगा चलाउने गरेकाले स्थानीयलाई नदी तर्न सजिलो भएको साउद बताउँछन् । उनले लामो समयदेखि कान्द्रा नदीका विभिन्न ठाउँमा स्थानीयले झोलुंगे तथा पक्की पुलको माग राख्दै आएको बताए ।


आम्दानीको स्रोत पनि बर्खामा जलमग्न हुने यस क्षेत्रका नदी स्थानीयका लागि अभिशाप भएका छन् । तर वारपारको सजिलो तरिका अपनाउँदा काठेपुल र डुंगा स्थानीयका लागि आम्दानीको स्रोतसमेत बनेको देखिन्छ ।


स्थानीय गंगा चौधरीले नदी वारपार गर्न आफ्ना लागि बनाएको डुंगा र काठेपुलले स्थानीय विकासमा टेवा पुगेको बताए । उनका अनुसार गाउँलेबाहेक अरूले काठेपुलबाट नदी तर्दा पैसा तिर्नुपर्छ । गाउँ बाहिरका बासिन्दाले प्रतिव्यक्ति रित्तो ५, साइकलसहित १० र मोटरसाइकलको २० रुपैयाँ तिर्नुपर्छ । दैनिक ५ सयदेखि १ हजारसम्म उठ्ने गरेको छ । उनले यसरी उठेको पैसाले गाउँकै बाटोघाटो निर्माणमा लगाउने गरेको बताए । उनी भन्छन्, ‘पैसा उठाउन स्थानीय रूपमा ठेकेदार छनोट गरेर जिम्मा दिने गरिन्छ । कतै स्थानीय सामुदायिक वनका पदाधिकारी र क्लबले जिम्मेवारी लिएका हुन्छन् ।’ लालबोझी कर्मदेउ घाटको ठेक्का भजनी नगरपालिका आफैंले लगाउने गरेको छ । नगरपालिकाले तारउतारको ठेक्का दिने गरेको उनले बताए । बर्खामा डुंगामा तारउतारको ठेकेदारले शुल्क उठाउँछ भने हिउँदमा काठको पुल ठेकेदारले आफ्नै लगानीमा निर्माण गरेर शुल्क उठाउने गरेको छ । तर नगरपालिकाको ठेक्का सम्झौतामा भने स्थानीय वारिपारिका गाउँलेबाट भने शुल्क लिन नपाइने व्यवस्था छ ।

प्रकाशित : चैत्र १, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?