मनाङमा एमबीबीएस डाक्टर

आश गुरुङ

(लमजुङ) — तीन दशकअघि बिदेसिएका एक मनाङीले जन्मथलो सम्झँदै गाउँको स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर सहितको मेडिकल टोली राख्ने भएका छन् । स्वास्थ्य सहायकको भरमा रहेको नासों गाउँपालिका ५, थोंचे स्वास्थ्य चौकीमा दक्ष जनशक्ति राख्न मनाङबाट बिदेसिएका डा. देवी गुरुङले पहल गरेका हुन् ।

मनाङको नासोंमा डा. देवी गुरुङ (बीच) लगायतलाई स्वागत गर्दै स्थानीय । डा. गुरुङले नेतृत्व गरेको संस्थाले नासोंमा चिकित्सकसहितका स्वास्थ्यकर्मी व्यवस्था गर्ने भएको छ । तस्बिर : कान्तिपुर

Citizen

चौकीमा बिहीबार आयोजित एक कार्यक्रममा गुरुङले नेतृत्व गरेको हिमालयन फेमिली हेल्थकेयरले चिकित्सकसहितको जनशक्ति उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । मनाङको तल्लो भेग तिल्चेमा जन्मिएका देवी करिब ३३ वर्षअघि संघर्ष गर्दै अमेरिका पुगेका थिए । त्यहाँ पीएचडीसम्मको अध्ययन पूरा गरी जन्मथलोकै स्वास्थ्य अवस्था सुधार्न केही वर्ष अघिदेखि उनी नेपाल आउँदै फर्कंदै गर्न थालेका हुन् ।

सम्झौताअनुसार हिमालयन फेमिलीले उक्त चौकीमा एक एमबीबीएस डाक्टर, वरिष्ठ नर्स, स्वास्थ्य सहायक र औषधिसमेत उपलब्ध गराउनेछ । २ महिना हिउँ पर्ने उक्त क्षेत्रमा बाँकी १० महिनाका लागि ती सेवा उपलब्ध गराउन ३३ लाख रुपैयाँ लाग्नेछ । उक्त रकम देवीको अगुवाइमा उपलब्ध गराउन लागिएको हो । ‘यो असाध्यै ठूलो सहयोग हो । दुर्गमका बासिन्दाको स्वास्थ्यमा समस्या पर्दा निकै राहत हुनेछ,’ स्थानीय अगुवा धोर्जे डन्डुल गुरुङले भने । जन्मथलो फर्किएर देवीले जिल्लावासीलाई ठूलो गुन लगाएको उनले बताए । उनी भन्छन्, ‘पहिले धेरै दु:ख पाएका देवीले आफू सक्षम भएपछि गाउँको स्वास्थ्य सुधार्ने लक्ष्यसाथ काम थालेका छन् । हामी सदैव साथ दिनेछौं ।’ ऊक्त क्षेत्रमा दक्ष चिकित्सकसहितको चौकी हुँदा चत्रीय अन्नपूर्ण र मनास्लु पदयात्रीलाई समेत सहज हुनेछ । यो क्षेत्रमा वार्षिक करिब ३० हजार पर्यटक घुम्न आउने तथ्यांकमा छ । उनीहरू दुर्घटनामा पर्दा वा आकस्मिक रूपमा बिरामी पर्दा हेलिकप्टरबाट लानुको विकल्प थिएन । ‘गाउँमै डाक्टर हुँदा यो समस्या टर्नेछ,’ स्थानीय सोमी गुरुङले खुसी हुँदै भनिन् ।

कार्यक्रममा डा. देवीले टुहुरो हुँदा आफू र परिवारले ठूलो संघर्ष गर्नुपरेको, काठमाडौंमा भाँडा माझेर बसेको र त्यही क्रममा एक ‘गडफादर’ मार्फत अमेरिका पुगेको प्रसंग सुनाएका थिए । गाउँमै अस्पताल बनाउने अभियान सुरु गरेको र त्यसका लागि ७ रोपनी जग्गासमेत यसअघि किनिसकेको उनले जनाए । उनकी पत्नी कोनीले आफ्नो माइती कोरिया र कर्मथलो अमेरिका भए पनि पतिको जन्मथलोमा आएर सेवा गर्न पाउँदा बेग्लै खुसी लागेको सुनाइन् । डा. देवीले चौकीलाई सुविधासम्पन्न बनाउने र पछि अस्पताल बनाउने सोच बनाएका छन् । नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले गाउँपालिकाले अस्पताल बनाउने सोच बनाएको र डा. देवीले पनि बनाउने कुरा सुनेको बताए । ‘डा. देवी मेरो साथी हुनुहुन्छ । उहाँले अस्पताल बनाउने सोच र हाम्रो पनि अस्पताल बनाउने सोच । यसमा कसरी जान सकिन्छ भनेर छलफल गर्न चाहन्छौं,’ उनले भने, ‘यस विषयमा हामी सकारात्मक छौं ।’ देवी दम्पतीले थोंचे र तिल्चेका २ विद्यालयलाई १/१ ल्यापटपसमेत वितरण गरेका छन् ।

प्रकाशित : चैत्र १, २०७५ ०९:३५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तिलौराकोट उत्खनन : विश्वसम्पदा सूचीमा राख्न तथ्य जुट्दै

मनोज पौडेल

(कपिलवस्तु) — बुद्धस्थल प्राचीन कपिलवस्तु (तिलौराकोट)लाई विश्व सम्पदामा सूचीकृत गर्न प्रशस्त तथ्य र प्रमाणहरू संकलन भएका छन् । २ महिनाअघि गरिएको उत्खननबाट त्यस्ता प्रमाण संकलन भएका हुन् । 

बुद्धस्थल तिलौराकोटस्थित समयमाई मन्दिरदेखि उत्तर–पश्चिममा उत्खनन गरिँदै (सबैभन्दा माथि), तिलौराकोटको मध्यभागमा रहेको पोखरी उत्खननस्थल (तल दायाँ), फेला परेका माटोका सामग्री सुकाइँदै र ऐतिहासिक तथा पुरातात्त्विक वस्तु । तस्बिर : मनोज/कान्त्पिुर

यसवर्ष विज्ञ विदेशी पुरातत्त्वविद्सहित नेपाली टोलीले विश्व सम्पदाकै लागि केन्द्रित भई तिलौराकोटमा अन्वेषण गरेका हुन् । अध्ययन टोलीमा बेलायतको डुर्‍हाम युनिभर्सिटी, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका पुरातत्त्वविद् संलग्न थिए ।

यसपटक तिलौराकोटका ४ ठाउँमा उत्खनन गरिएको थियो । मध्य क्षेत्रमा पाइएको प्रशासनिक भवन संरचनाको पश्चिमी सुरक्षा किल्ला पर्खालको उत्खनन गरिएको थियो । त्यहाँ १५ मिटर लामो सुरक्षा पर्खाल भेटिएको छ । यो ५० मिटरसम्म हुने अनुमान गरिएको छ । त्यहाँ ४ वर्ष अघि जियोफिजिक्स (भू–भौतिक सर्भे) गर्दा ठूलो संरचना पाइएको थियो । पछिल्लो पटक भइरहेको उत्खननमा मध्य भागको प्रशासनिक भवन संरचना मुख्य उपलब्धि हो । जियोफिजिक्सले गरेको व्याख्याअनुसार नै नतिजा निस्कनु राम्रो भएको पुरातत्त्वविद्को भनाइ छ । मुख्य प्रशासनिक भवन ईशापूर्व तेस्रो शताब्दीतिरको हो । पश्चिमी सुरक्षा किल्ला पर्खालनजिक उत्खनन गर्दा तामाको कुषाणकालीन २ सय ५२ सिक्का भेटिएका थिए । यो सिक्का ईशाको दोस्रो शताब्दीतिर प्रयोग गरिएको विज्ञको भनाइ छ ।

त्यस्तै सन् २०१५ मा मध्यभागमा पोखरी फेला परेको थियो । उक्त पोखरीको यस वर्ष अध्ययन गर्दा दुई किनारको छेउ भेटिए । पूर्व–पश्चिमतिरको उत्खननमा दक्षिण–पश्चिम पोखरीको कुना भेटियो भने अर्कोतिर दक्षिणपूर्वतिरको कुना भेटियो । यो पोखरी २३ सय वर्ष पुरानो रहेको अध्ययनले देखाएको छ । पूरातत्त्वविद्का अनुसार यो पोखरी तिलौराकोट दरबारमा बस्ने राजाले प्रयोग गर्थे । यो अहिले पनि पोखरीकै रूपमा देखिन्छ । जमिनको २ मिटर तल २६ तहसम्म रहेको इँटाको मनमोहक पर्खाल देखिन्छ ।
त्यस्तै समयमाई मन्दिरदेखि उत्तर पश्चिम २ वर्षदेखि गरिएको उत्खनन स्थलमा पश्चिमतिर बढाएर उत्खनन गर्दा नयाँ संरचना पाइएको छ । यसपटक तिलौराकोट कम्पाउन्डबाहिर रहेको कन्थक स्तूपमा पनि उत्खनन गरियो । त्यसका लागि जापानी नागरिक डा. नोबुओ कसाईले १ करोड सहयोग गरेका थिए । यही स्थानमा बेलायती कर्मचारी वाडेलले सन् १८९८ मा उत्खनन गरेका थिए । त्यसपछि यस वर्ष उत्खनन भएको हो । यहाँ इँटाभन्दा पहिले प्रयोग गरिने माटोका स्तूप फेला परेका छन् । भेटिएका तथ्यको अनुसन्धान भइरहेको छ । अर्को वर्ष विस्तृत खोज गरिने पुरातत्त्वविद्हरूले जनाएका छन् । यस वर्ष माटोका मूर्ति, कुँदिएको इँटा, मानव तथा जनावरका मूर्ति फेला परेका छन् । यस्तै, कुमालेको माटोका भुग्रो, जाँतो आकारको टुक्रा र धातु पगाल्ने भाँडाकुडा पनि पाइएको छ ।

लुम्बिनी विकास कोष पुरातत्त्व अधिकृत कृष्णबहादुर केसीले यसपटक पनि वैज्ञानिक तरिकाले अध्ययन अनुसन्धान गरिएको बताए । त्यसक्रममा भूभौतिक सर्भे, ड्रोन फोटोग्राफी, टोपोग्राफी, फिल्ड वाकिङ, सोसियो इकोनोमी र भिजिटर सर्भे गरेको उनले बताए ।

‘उत्खनन परिणाम राम्रो हुँदा निकै खुसी छौं,’ उत्खनन परियोजना सहनिर्देशक तथा वरिष्ठ पुरातत्त्वविद् कोषप्रसाद आचार्यले भने, ‘यस क्षेत्रको योजना र विकासका लागि कोसेढुंगा बन्न सहयोग गर्छ ।’ यसबाट तिलौराकोटको ऐतिहासिकता पुष्टि भएको उल्लेख गर्दै उनले भने, ‘अब विश्व सम्पदामा सूचीकृत हुन समस्या छैन ।’ उनका अनुसार उत्खननबाट प्राचीन सहरको स्वरूप र सांस्कृतिक विकास थाहा लाग्नेछ । तिलौराकोटको कालक्रम पत्ता लगाएर ऐतिहासिक रूपमा प्रमाणित गरे हाल रहेका भ्रम चिरेर विश्वको ध्यान तान्न थप सहयोग पुग्ने उनले दाबी गरे । ‘धेरै महत्त्वपूर्ण प्रमाण फेला परेका छन्’ लुम्बिनी विकास कोष उपाध्यक्ष भिक्षु मैत्तेय शाक्यपुत्रले भने, ‘अब छिट्टै तिलौराकोट विश्व सम्पदामा सूचीकृत हुन्छ, त्यसपछि यसको महत्व विश्वव्यापी रूपमा बढ्छ । उनले कोषले अहिलेदेखि नै तिलौराकोटमा विकासका काम थालेको र पर्यटकीय आकर्षण थप्ने काम भइरहेको बताए । ‘एक वर्षभित्रै रूप परिवर्तन हुनेछ,’ उनले भने ।

पछिल्लो उत्खननका क्रममा सय वाई मिटरको केन्द्रीय प्रशासनिक संरचना, ऐतिहासिक पोखरी, हतियार बनाउने उद्योग, व्यवस्थित सहरका पुराना संरचना भेटिएका छन् । करिब ५ सय पंचमार्क सिक्का पाइएका थिए । त्यस्तै ईशापूर्व आठौं शताब्दीका भवनका किल्ला तथा पर्खालको पोस्टहोल (काठ र बाँसका खाँबोको डोब) पनि पाइएको थियो ।

सन् २०१३ देखि यहाँ उत्खनन अन्वेषण भइरहेको छ । पहिलो वर्ष लुम्बिनी विकास कोष र त्यसपछिबाट जापान सरकारको जापानी फन्ड इन ट्रस्ट (जेफिड)को सहयोगमा युनेस्कोमार्फत अध्ययन अन्वेषण भइरहेको छ । सन् २०१९ देखि २०२१ सम्म तेस्रो चरणका लागि सम्झौता भई काम भइरहेको हो । तेस्रो चरणमा विश्व सम्पदाका लागि प्रमाण संकलन गरी डकुमेन्टेसन गरिने गरी काम अघि बढाइएको छ ।

अत्याधुनिक उपकरण प्रयोग गरेर पुरातात्त्विक मूल्यमान्यताअनुसार उत्खनन भइरहेको छ । ‘उत्खननले तिलौराकोटको प्राचीन कालक्रम पत्ता लाग्दै गएको छ,’ डुर्‍हाम विश्वविद्यालय बेलायतका प्रोफेसर तथा प्रमुख पुरातत्त्वविद् डा. रबिन कनिङ्घमले भने, ‘भित्र प्रवेश गर्नासाथै प्राचीन सहरको व्यवस्थित र ऐतिहासिक रूपरंग देख्न सकिने बनाउँदै छौं । यहाँ संरक्षणका काम पनि थालिएको छ ।’

उत्खननमा बेलायतको डुर्‍हाम विश्वविद्यालय र लार्टोव विश्वविद्यालय अस्ट्रेलियाका प्राध्यापक, युनेस्को, पुरातत्त्व विभागका र लुम्बिनी विकास कोषका विशेषज्ञ तथा पुरातत्त्वविद् सहभागी छन् । केही दिन बंगलादेश, श्रीलंका र भारतका पुरात्त्वविद् पनि सहभागी थिए । त्यस्तै त्रिविका इतिहास र संस्कृति पढ्ने १२ विद्यार्थी पनि सहभागी छन् । उत्खनन करिब २ महिनासम्म चलेको थियो । तिलौराकोट राजा शुद्धोदनको राजप्रासाद तथा भगवान् गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको स्थल भएकाले बौद्ध धर्मावलम्बीका लागि निकै महत्त्वपूर्ण मानिन्छ । तिलौराकोट सन् १९९६ मा विश्व सम्पदाको प्रारम्भिक सूचीमा परेको थियो ।

प्रकाशित : चैत्र १, २०७५ ०९:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT