सिकार आरक्ष अतिक्रमण

पर्यापर्यटन हेर्न–घुम्न रूचाउनेका लागि उत्कृष्ट गन्तव्यमध्ये पर्ने ढोरपाटनका अधिकांश स्थान पूर्वाधार विकासको पर्खाइमा छन्
प्रकाश बराल

(बागलुङ) — नेपालको एकमाक्र सिकार आरक्षको स्वामित्वमा रहेको अतित्रमित जमिन फिर्ता भएको छैन । आरक्ष कार्यालयको तथ्यांकमा ५५ वटा बस्ती छेउको दुई सय ४० हेक्टर जमिन गुमिसकेको छ । कार्यालयले तयार गरेको तथ्यांकअनुसार बागलुङमा सबैभन्दा धेरै एक सय ७७ हेक्टर, म्याग्दीमा ४० हेक्टर र रुकुममा १६ हेक्टर जग्गा अतिक्रमण भएको हो ।

सिकार आरक्ष अतिक्रमण

आरक्षको मुख्य कार्यालय बागलुङमा भए पनि यो आरक्ष रुकुम र म्याग्दीमा पनि फैलिएको छ । आरक्ष छेउछाउमा धेरै बस्ती पनि छन् । बस्ती भएकाले यहाँ अतिक्रमण बढेको हो । ०४७ को परिवर्तनपछि यहाँ बढेको अतिक्रमण तीन वर्ष अघि सेना खटाएपछि रोकिएको थियो । चोरी सिकार र अतिक्रमणले ढोरपाटनको सौन्दर्य कुरूप बन्न थालेपछि सरकारले सेना खटाएको हो ।


ढोरपाटनमा सिकार गर्न पाउने जनावरबाहेक दर्जनौं संरक्षित पशुपक्षी र जीव छन् । ती सबै चोरी सिकारमा परेपछि सेना खटाइएको थियो । ‘हामीले पटकपटक अझै पनि केही सिकारीहरू भेट्ने गर्छौं, केही पशुपक्षी मृत भेट्छौं,’ सेनाको हनुमानध्वज गुल्मपति रविजंग खड्काले भने, ‘हामीले सिकारी रुटहरूमा बढी निगरानी गरिरहेका छौं ।’ रेडपान्डा ढोरपाटनको आर्कषण हो । सिकार गर्न नपाइने जीव चोरीसिकारमै परिरहेको छ । आरक्षले केही वर्षअघि रेडपान्डाको गणना गर्दागर्दै छाडेपछि कति छन्, कति सिकार भए भन्ने यकिन नभएको प्रमुख संरक्षण अधिकृत सरस्वती सापकोटाले बताइन् । ‘केही समयअघिको हिमपातले पनि धेरै पशुपक्षी मरेका छन्, तिनको लगत संकलन गर्न बाँकी छ,’ उनले भनिन्, ‘आरक्षले यसअघि गरेका कामको अध्ययन गरेपछि सबै बताउन सकिन्छ ।’ सापकोटा आएको छोटो समय मात्र भयो ।


आकर्षण के छ ?

ढोरपाटन सिकार आरक्ष नेपालकै एक मात्र साहसिक सिकारी पर्यटकको गन्तव्य हो । यहाँ हरेक वर्ष युरोप, अमेरिका र अस्ट्रेलिया लगायतका सिकारी लाखौं रुपैयाँ राजस्व तिरेर नाउर र झारलको सिकार गर्न आउँछन् ।


पदमार्ग, सवारीसाधन र हवाई मार्गबाट घुम्न चाहनेलाई ढोरपाटन आकर्षक गन्तव्य हो । २०३३ सालमा सरकारले १ हजार ३ सय २५ वर्गकिमि क्षेत्रफललाई सिकारका लागि छुट्याएर आरक्ष स्थापना गरेको थियो । त्यसपछि नियमित यहाँ विदेशी सिकारी आइरहेका छन् । आरक्षले हरेक वर्ष नाउर र झारलको कोटा तोक्छ । ती कोटामा बढीबढाउ मूल्यमा सिकार गर्न टेन्डर आह्वान गरिन्छ । आरक्ष कार्यालय रहेको र मुख्य पाटनमा आन्तरिक पर्यटकहरू बढी घुम्न जान्छन् । विदेशीहरू भने आरक्षको सिकार ब्लकहरूमा घुम्छन् । ती स्थानमा पुग्न मुख्य पाटनदेखि एक वा दुई दिनसम्म यात्रा गर्नुपर्छ । भीरपहरा, हिउँ, चिसो र जोखिममा रमाउनेहरूले यी ब्लकको यात्रा गर्छन् । २१ दिनसम्म आरक्षमा बसेर सिकार गर्ने, खानपिन र मनोरञ्जन गर्छन् ।


तीन हजार मिटरभन्दा अग्लो स्थानमा मैदान परेकाले चिसो मौसम हुने र आनन्द लाग्ने स्थान हो । यहाँ सिकार आरक्ष मात्र नभई धेरै धार्मिक गन्तव्य पनि छन् । उत्तरगंगा यहाँको उत्कृष्ट धार्मिक तीर्थस्थल हो । ढोरपाटन पुग्नेले यहाँको दर्शन गरेरै फर्कन्छन् । जनैपूर्णिमा, वैशाख पूर्णिमा र शिवरात्रिलगायत पर्वमा यहाँ हजारौं भक्तजन पुग्छन् । छेन्टुङ गुम्बा, तिब्बतीहरूको शरणार्थी शिविर, आयुर्वेद औषधालय र रुद्र ताल धार्मिक रूपमा चर्चित छन् । त्यस्तै निसेल ढोर, बुकी, फागुने, रुकुमतर्फका मैकोट र हुकाम जस्ता ठाउँ पर्यटक आर्कषण गर्ने स्थान हुन् । यो पटनमा राष्ट्रिय खेलकुद परिषद्ले ‘हाइ अल्टिच्युट खेल मैदान’ निर्माणको सर्भे पनि गरेको छ ।


ढोरपाटनको मैदान आफैंमा आकर्षक छ । हेर्दा सानो उपत्यका जस्तो लागे पनि घुम्न निकै समय लाग्छ । घोडा र अन्य पशुचरनले उत्तिकै रमाइलो दृश्य देखिन्छ । चारैतिर हरियाली, बीचमा मैदान, खोलाले यहाँको रौनकता बढी छ । चैत वैशाखमा रातो, गुलाबी, सेतो जस्ता रंगीबिरंगी गुराँसले ढकमक्क हुन्छ । आलु र स्याउ यहाँका मुख्य उत्पादन हुन् । किसानहरू आलु बेचेरै धनी बनेका धेरै उदाहरण छन् ।


आन्तरिक पर्यटकलाई सास्ती

पर्यटकका लागि यहाँ बस्नका लागि आरामदायी होटल बन्ने क्रम सुरु भएको छ । व्यक्तिगत र सामुदायिक होटलले यहाँ पुग्ने झन्डै २ सयलाई दैनिक बस्ने व्यवस्थापन गर्न सक्छन् । यहाँ अझै सुविधासम्पन्न होटलका लागि लगानी आह्वान गरिएको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए । टेन्टमा बसेका पाहुनालाई सम्पन्न होटलमा ल्याउन सके व्यवसाय बढ्ने उनको भनाइ छ ।


आवस्श्यक पूर्वाधार अभावमा घुम्न जाने पर्यटकलाई ढोरपाटनमा सास्ती छ । सौन्दर्यले आर्कषक भए पनि बुर्तिवाङदेखि ढोरपाटन सम्मको ३६ किमि सडक जीर्ण छ । ग्रामीण सडकका रूपमा खुलेको ट्र्याकलाई केही


वर्ष अघिदेखि ढोरपाटन सालझन्डी

आयोजनामा सूचीकृत छ । हरेक वर्षको बजेट सालझन्डीदेखि खर्चने पद्धतिले कहिल्यै पनि बागलुङमा नआएको नेपालीले टिप्पणी गरे । ‘मैले आयोजना प्रमुखलाई बोलाएरै भनेको छु, यो वर्ष ढोरपाटनलाई शून्य मानेर खर्च गरौं’ नेपालीले भने, ‘आरक्षको महत्त्वलाई पाखा लगाउने काम भइरहेको छ ।’ गौरवको आयोजनामा परेकाले नगरपालिकाले सडकमा लगानी नगर्दा जीर्ण भएको उनले बताए ।


सिकारी र विदेशी पर्यटक हेलिकप्टर लिएर आउँछन् । आन्तरिक पर्यटक जान खोज्दा जिप समेत नगएपछि पैदलै यात्रा गर्न बाध्य छन् । सेनाले शिवरात्रिको अवसर पारेर हिउँ पन्छाएर पैदलमार्ग खुलाएको थियो । यहाँका सयौं बासिन्दा गर्मीमा पाटन र जाडोमा बेंसी झर्छन् । उनीहरू पैदलै यात्रा गर्न बाध्य छन् । छिटफुट जिप चले पनि उनीहरूले अवसर पाउँदैनन् । बोबाङदेखि अधिकांश बालबालिका, बूढाबूढी समेत लट्ठी टेकेर पैदलै ढोरपाटन जान्छन् । बालबालिकाहरूको विद्यालय समेत जाडोमा बेंसीमा, गर्मीमा लेकमा सर्ने भएकाले पैदलै यात्रा गर्न बाध्य भएको स्थानीय भद्रमणि विकले बताए ।


स्थानीय पूर्वाधार बनेन

ढोरपाटनमा सुविधासम्पन्न स्वास्थ्यचौकी आवश्यक छ । यहाँका मनिसले उपचारका लागि बुर्तिवाङ पुग्नुपर्दा डोकोमै बोकिएर जानुपर्छ । सेनाले सामान्य उपचार गराएको देखेर दैनिक बुढाबुढी र बालबालिका लिएर अभिभावक ब्यारेक पुग्छन् । ‘थोरै औषधि र स्रोतबाट सबैलाई उपचार गराउन सकिँदैन,’ खड्का भन्छन्, ‘आएकालाई निराश बनाएर पठाउन पनि सकिँदैन ।’


शिक्षामा ढोरपाटन सबैभन्दा पछाडि छ । यहाँका विद्यालयमा फर्निचर, शिक्षक दरबन्दी र भवन समेत छैनन् । एउटै कक्षामा ७० देखि ८० जना बालबालिका कोचाकोच गरेर बस्छन् । धुलोमै बस्दा चिसो लाग्ने खतरा बढी भएको शिक्षक इन्द्रकुमारी घर्तीले बताइन् । ‘शिक्षा, स्वास्थ्य, यातायात र खानेपानीका लागि बढी सास्ती खेपेकाले यहाँ आधारभूत विकास आवश्यक छ,’ घर्तीले भनिन्, ‘सुविधा सम्पन्न विद्यालय खोलियो भने मात्र गुणस्तर बढाउन सकिन्छ ।’ पूर्वाधार अभावले अभिभावकलाई बालबालिका विद्यालय पठाउनैपर्छ भन्ने बाध्य पार्न नसकेको उनले बताइन् ।


ढोरपाटनमा ३ हजार बढी घरको बसाइ अस्थायी छ । उनीहरू पशुचरनका लागि बुकी लेकमा जाँदा बालबालिकाहरू अलपत्रै हुन्छन् । गर्भवती र सुत्केरीलाई झनै सास्ती छ । ३६ किमि परको बुर्तिवाङस्थित प्राथमिक उपचार केन्द्र सम्म बोकेर लैजाने काम निकै जटिल छ । बर्थिङ सेन्टर नभएकोले गर्भवतीले परीक्षण समेत समयमा गर्न पाउँदैनन् । स्थानीय भगीमला विक भन्छिन्, ‘समयमै बेंसी झरेर नबसे उपचारै नपाएर मर्नुपर्ने बाध्यता छ ।’ यहाँका महिला सुत्केरी हुन नसकेर मर्ने धेरै छन् । दुर्घटनाका बिरामीलाई पनि समयमा लैजान नसके जोखिम बढी हुने उनले बताइन् ।


आलु खेतीबाट कमाइ गर्नेका परिवारबाहेक अरुको दुईछाक खान पुग्ने कमाइ केही पनि छैन । पशुचरनका लागि लेकमा जानेहरू उतै आलुकै परिकार खाएर बाँच्छन् । यहाँका मानिसहरू गाई काटेको आरोपमा पटकपटक पक्राउ पर्छन् । कतिपयले खानेकुरा केही नभएपछि त्यस्तो काम गर्न बाध्य भएको बताउँछन् । उत्तरगंगामा पुल अभावमा धेरै बालबालिका जँघार तर्न बाध्य छन् । वर्षातमा उनीहरूले डेढ घण्टा घुमाउरो बाटो घुमेर पढ्न आउँदा कक्षा लिन भ्याउँदैनन् । ढोरपाटनको अर्को सास्ती खानेपानीको समस्या पनि हो । यहाँ उत्तरगंगा र ढोरखोलामा बगेको पानी खाएर जीवन कटाएकाहरू धेरै छन् । नवी, स्यालपाखे, भण्डारीगाउँ जस्ता गाउँमा खोलाको पानी गाग्रीमा बोकेरै खानुको विकल्प छैन । उत्तर तर्फको बस्तीमा गार्पाखोलाको पानी खान्छन् । अरु भन्दा यो खोलाको पानी शुद्ध मानिन्छ । तर अधिकांशले खोलाकै पानी छानेर खाइरहेका छन् ।


किसानको व्यवस्थापन

नगरपालिकाले ढोरपाटन लक्षित गरेर खानेपानी र बस्ती विकासको योजना बनाएको नगरप्रमुख नेपालीले बताए । केही समयअघि आगलागीले ध्वस्त भएको नवी गाउँका ४२ घर निर्माणका लागि नगरप्रमुखको व्यक्तिगत र नगरपालिकाको सामूहिक लगानी गरिएको छ । प्रमुखले सबै घर जस्तापाताले छाइदिने घोषणा गरेका छन् । नगरपालिकाले भवन निर्माणमा अनुदान दिने भएको हो ।


ढोरपाटनमा स्याउ पनि फल्छ । मुस्ताङ र जुम्लाको जस्तो गुलियो नभएकाले किसानले विकल्प खोजेका छन् । जुस बनाउने, सुकुटी वा अन्य प्रयोजनमा लगाउन सके फाइदा हुने स्थानीय धनबहादुर अदैले बताए । ‘सबैको उत्पादनलाई खरिद गरिदिने र फरक परिकार बनाउने योजना चाहियो,’ अदैले भने, ‘धेरैले कुहाएर फाल्ने गरेका छन् ।’ ढोरपाटनको मुख्य बाली आलु हो । आलुकै भरमा सयौंको जीवन धानिएको छ । धेरै फलाउनलेले बुटवलसम्म पठाउँछन् । थोरै हुनेले बुर्तिवाङसम्म । ढुवानी खर्चले धेरै नाफा लिन नसकेको स्थानीय चन्द्रसिंह कुमाईले गुनासो गरे । ‘घोडा र खच्चरमा बोकाएर पठाउने हो,’ कुमाईले भने, ‘बजार पुग्दा प्रतिस्पर्धा गरेर सस्तैमा दिनुपर्छ ।’ नेपाल सरकारको आलु जोनमा यो क्षेत्र समेटिएको छ । आवश्यक पूर्वाधार, कृषि प्रविधि, मल तथा ढुवानीको काममा जोनबाट सहयोग हुने आशा गरिएको उनले बताए ।


उत्तरगंगा जलविद्युत्को पर्खाइ

डीपीआरको चरणमा रहेको उक्तरगंगा जलविद्युत् आयोजना जलाशययुत्त बनाउनुपर्ने आवाज उठेको छ । रन अफ दि रिभरमा बनाएमा ३ सय र जलाशय बनाएमा ८ सय २८ मेगावाट क्षमताको ऊर्जा निस्कन्छ । क्षमता बढाएमा १ हजार २ सय मेगावाटसम्म उत्पादन गर्न सकिने प्रमुख कार्यकारी अधिकृत राजबहादुर विष्टले बताए । कम्पनीले लाइसेन्स लिएको ५ वर्ष पुग्न लागेकाले नवीकरण हुने गरी कामको थालनी गरेको छ । कामै नगरेमा लाइसेन्स रद्द हुने भएकाले असार मसान्तसम्म देखिने गरी केही काम गरेर नवीकण गर्ने कम्पनीको मनसाय रहेको नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए ।


जलाशययुक्त आयोजना बनाउँदा यहाँका ५ सय १२ घर विस्थापित हुनेछन् । विस्थापित हुनेले पनि आयोजना बन्नुपर्ने सुझाव दिएका छन् । बूढीगण्डकी लगायतका धेरै आयोजना भन्दा कम क्षति र थोरै मानिस विस्थापित भएर यो आयोजना निर्माण हुनेछ । कम्पनीले आगामी सन् २०८३/०८४ सम्ममा विद्युत् उत्पादन हुने गरी काम गर्ने संकेत गरेको छ । ‘अहिले वातावरणीय प्रभाव मूल्यांकन लगायतका काम भइरहेकाले ठोस उपलब्धि नदेखिएको हो,’ विष्टले भने, ‘भौगोलिक सर्भेक्षणमा हामीले प्राविधिक खटाइरहेका छौं ।’ ढोरपाटन सिकार आरक्षणको क्षेत्रमा वन मन्त्रालयले स्वीकृति दिनुपर्ने प्रावधान छ ।

ढोरपाटनको उक्तरगंगालाई जलाशययुत्त बनाएपछि निसीखोलामा पानी खसालिनेछ । जापान र नेपाली इन्जिनियरहरूको टोलीले यो आयोजनाको विस्तृत सर्वेक्षण र नक्सांकन गरेका छन् । जापानीले गरेको नक्सांकनमा ८ सय २८ मेगावाट क्षमता उत्पादन हुनेछ । नेपालीको अध्ययनले बढी देखाएको कम्पनीका पूर्वप्रमुख शिव गिरीले बताए । ‘दुई–तीनवटा आयोजना एउटै पानीबाट बनाएर कालीगण्डकी नदीमा बहाव थप्न सकिन्छ,’ गिरीले भने, ‘यसरी बनाउँदा पानीको मात्रा थपिएर कालीगण्डकी ए आयोजनाले हिउँदमा पनि १ सय ४४ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न सक्छ ।’ हाल उत्तरगंगाको पानी भेरी नदीमा गएर मिसिएको छ । निर्माणपछि यो पानी पूर्वतर्फ बडिगाढमा मिसिएर कालीगण्डकीमा पुग्नेछ । आयोजनाका लागि १ खर्ब ७० अर्ब लाग्ने प्रारम्भिक अनुमान छ ।


प्रकाशित : चैत्र १, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?