स्थानीय तहको उपलब्धि न्यून

राजबहादुर शाही

(मुगु) — जिल्लाका स्थानीय तहमा गत वर्षको विकास उपलव्धी न्यून देखिएको छ । साना कार्यक्रममै बजेट सक्ने प्रवृत्तिले विकासका काममा उल्लेख्य उपलब्धि नभएको पाइएको हो । अधिकांश पूर्वाधार विकासको गुरुयोजना निर्माण नगरिएकाले विकासका काममा गति दिन नसकिएको जनप्रतिनिधिको गुनासो छ ।

जिल्ला समन्वय समितिले आयोजना गरेको स्थानीय तहको वार्षिक समिक्षामा जनचाहनाअनुरूप काम नझएको औंल्याइएको हो । कार्यक्रmममा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा सञ्चालन गरिएका विकास निर्माणका कामहरूबारे समीक्षा गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । शुत्रबारसम्म सञ्चालन हुने समीक्षा कार्यक्रममा जिल्लाका चारवटै स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाका कार्यत्रमको समीक्षा भइरहेको छ ।


समीक्षामा छायानाथ–रारा नगरपालिका, खत्याड, सोरु र मुगमकार्मारोङ गाउँपालिकाले सम्पन्न गरेका र अहिले सञ्चालन गरिरहेका कार्यक्रमबारे प्रस्तुति हुने जिसस प्रमुख पूर्णबहादुर रोकायाले बताए । ‘स्थानीय तह तथा सरकारी कार्यालयले गरेका कार्यक्रमको प्रभावकारिताबारे समेत आवश्यक छलफल हुनेछ,’ उनले भने, ‘कार्यक्रमले योजना सञ्चालन गर्दा देखिएका समस्याको समाधानका लागि आवश्यक पहल गर्नेछ ।’ उनका अनुसार समीक्षा कार्यक्रमलाई स्थानीय सरकारले सिकाइको रूपमा लिएका छन् । जनशक्ति अभाव, कर्मचारी समायोजनमा अन्योलता, नीति निर्माणमा कठिनाइ, भौगोलिक विकटतालगायत कारण स्थानीय तहले विकासमा गति लिन नसकेको उनले जनाए ।


स्थानीय जनप्रतिनिधिका अनुसार चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा समेत अन्यौलता देखिएको छ । चालु आवमा जिल्लाका चारवटै स्थानीय तहमा आम्दानीसमेत न्यून देखिएको जनप्रतिनिधिको गुनासो छ । स्थानीय तहलाई कडाइ गर्ने अधिकार जिल्ला समन्वय समितिलाई दिनुपर्ने प्रतिनिधिसभा सदस्य मोहन बानियाँले बताए । ‘जिससका पदाधिकारीले स्थानीय तहको अनुगमन र कार्यक्रम मूल्यांकन गरी आवश्यक निर्देशन दिनसके दुवैको काममा प्रभावकारिता हुने देखिन्छ,’ उनले भने, ‘अधिकांश कार्यक्रम पुरानै भएकाले र बजेट कार्यान्वयन परम्परागत तरिकाले भइरहेकाले स्थानीयवासीले विकासको अनुभूति अझै गर्न सकेका छैनन् ।’ जिससले बिहीबारदेखि जिल्ला सभा सुरु गरिएको जनाएको छ । सभामा सदस्यले सार्वजनिक महत्त्वका प्रस्ताव पेस गर्ने र त्यसमाथि छलफल गरी उचित प्रस्ताव पास गर्ने जिसस प्रमुख रोकायाले जनाए ।


अझै पनि अधिकांश अधिकार गाउँमा पुग्न नसकेको राष्ट्रियसभा सदस्य इटोल लामाले बताए । उनले पिछडिएको वर्गले अझै सरकारको अनुभूति गर्न नसकेको जनाए । स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको उनले आरोप लगाए । प्रतिनिधिसभा सदस्य गोपाल बमले जथाभावी कर संकलन गर्दा स्थानीयवासी मर्कामा परेको बताए । ‘विकासको नाममा स्थानीय तहमा जथाभावी डोजरको प्रयोग गर्ने काममात्र भएको छ,’ बमले भने, ‘स्थानीय तहका जनप्रतिनिधि अझै राजनीतिक विचारबाट माथि उठ्न सकेका छैनन् ।’


प्रकाशित : चैत्र १, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?