चन्दलाई प्रतिबन्ध घोषणासँगै सुरक्षा सतर्कता बढाइयो

जनकराज सापकोटा

काठमाडौँ — सरकारले प्रतिबन्ध लगाएको विरोधमा नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले गरेको देशव्यापी बन्दको बढी प्रभाव शैक्षिक क्षेत्रमा परेको छ । प्रहरी प्रधान कार्यालयले सातै प्रदेशबाट संकलन गरेको रिपोर्टले शैक्षिक संस्थान सबैभन्दा धेरै प्रभावित बनेको देखाएको छ । स्कर्टिङ र राजमार्ग सुरक्षा गस्ती बढाइए पनि लामो दूरीका सवारीसाधन प्रभावित बनेको प्रहरीले जनाएको छ । 

चन्दलाई प्रतिबन्ध घोषणासँगै सुरक्षा सतर्कता बढाइयो

बन्दका कारण प्रदेश १ का ६० प्रतिशत शैक्षिक संस्था मात्रै सञ्चालनमा आएका थिए भने प्रदेश २ मा ७५ प्रतिशत शैक्षिक संस्था चले । प्रदेश ३, ५, ६ र कर्णाली प्रदेशका शैक्षिक संस्था फाटफुट मात्रै चलेको र गण्डकी प्रदेशका शैक्षिक संस्था ५० प्रतिशत मात्रै सञ्चालनमा आएको प्रहरी रिपोर्ट छ ।


महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकाका तीनै जिल्लाको अवस्था सामान्य रहेपनि पठनपाठन भने पूर्ण रूपमा प्रभावित भयो । सबैजसो प्रदेशका छोटो दूरीका सवारीसाधन सञ्चालनमा आए पनि लामो दूरीका सवारी सञ्चालन नभएको प्रहरीले जनाएको छ ।


प्रदेश प्रहरी कार्यालयबाट प्रहरी प्रधान कार्यालयमा आएको रिपोर्टअनुसार प्रदेश १ को इलामबाट मात्रै लामो दूरीका सवारीसाधन चलेका थिए । प्रदेश २ बाट लामो दूरीका सवारीसाधन थोरै चले भने गण्डकी प्रदेशको कास्कीबाट काठमाडौंका लागि सवारी छुटे पनि अन्य जिल्लाबाट चलेनन् । प्रदेश ५, ६ र कर्णाली प्रदेशबाट पनि लामो दूरीका सवारीसाधन चलेनन् । बन्दको सबैभन्दा धेरै प्रभाव प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा पर्‍यो । त्यहाँ लामो र छोटो दूरीका दुवै सवारीसाधन ठप्प रहे । देशैभरि बजार र कलकारखाना खुला रहेको र सार्वजनिक गतिविधि सामान्य प्रभावित बनेको प्रहरीले जनाएको छ ।


नेकपाले बन्द सफल पार्न देशैभरि विस्फोट र आगजनी प्रयास गरेको प्रहरीको रिपोर्ट छ । प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार साँझसम्म कैलाली, कास्की, सिन्धुपाल्चोक, रौतहट, जुम्ला, स्याङजा, मकवानपुर, रुकुम पूर्व, बाग्लुङ, बाजुरा र गोर्खामा विस्फोटक पदार्थ भेटिएको थियो । कैयौं ठाउँमा नक्कली बम राखेर आतंक सिर्जना गरेको पाइएको छ ।


नेकपाका कार्यकर्ताले कैलालीमा बसमाथि आगजनी गरेको तथा कपिलवस्तु, नवलपरासी र मकवानपुरमा ट्रकमा क्षति पुर्‍याएका छन् । प्रहरीले बन्द गराउने काममा संग्लन रहेको भन्दै ४ जनालाई पक्राउ गरेको छ ।


सुरक्षा सतर्कता बढाइयो

सरकारले चन्द नेतृत्वको नेकपाका गतिविधि प्रतिबन्धित घोषणा गरेसँगै प्रहरीले देशव्यापी सुरक्षा सतर्कता बढाएको छ । प्रहरी स्रोतका अनुसार दुर्गम भेगका प्रहरीचौकीमा आक्रमण हुन सक्ने भन्दै प्रहरीले सतर्क रहन निर्देशन दिएको छ । त्यस्तै, राजधानी र देशका सबैजसो मुख्य सहरमा गस्ती, चेकजाँच र प्रहरी परिचालन बढाइएको छ ।


प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार सादा पोसाकका प्रहरीको परिचालन बढाइएको छ भने सूचना संकलनलाई तीव्रता दिइएको छ । प्रहरीले चन्द समूह सम्बद्धहरूको सूची तयार पार्ने, प्रत्यक्ष संग्लनलाई पक्राउ गर्ने र सदाशय राख्नेमाथि निगरानी गर्ने नीति लिएको छ ।


राजधानी कम प्रभावित

महानगरीय प्रहरी कार्यालयले उपत्यकाको सुरक्षा अवस्था सामान्य रहेको र बन्दले प्रभावित नभएको जनाएको छ । कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार संवेदनशील स्थानमा निगरानी, नियमित जाँच र सरप्राइज जाँच सुरु गरिएको र गस्ती बढाइएको बताए । उनले भने, ‘काठमाडौं छिर्ने र बाहिरिने नाकामा जाँच र सादा पोसाकका प्रहरी परिचालन बढाइएको छ ।’


प्रकाशित : चैत्र १, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?