जाजरकोटमा दीर्घरोगी बढे

(जाजरकोट) — गुणस्तरीय उपचार नपाउँदा जिल्लामा दीर्घरोगीको संख्या बढ्दै गएको छ । खलंगामा आयोजना गरिएको तीनदिने शिविरमा सुगर, प्रेसर, कलेजोमा बोसो जम्ने, दम, टिबी, महिलाको आङ खस्ने, पाठेघरमा मासु पलाउनेलगायत दीर्घरोगीको संख्या बढी देखिएको हो ।

कर्णाली प्रदेशका अन्य जिल्लाभन्दा जाजरकोटमा विभिन्न रोगका बिरामी धेरै पाइएको वीर अस्पतालका डा. सुधांशु केसीले बताए । कलेजोरोग विशेषज्ञ डा. केसीका अनुसार शिविरमा विभिन्न दीर्घरोगीको संख्या बढ्दै गएको पाइएको हो ।


उनले कुपोषण भएका बालबालिकाको संख्यासमेत बढ्दै गएको जनाए । अखाद्य वस्तु प्रयोग, धूमपान, सन्तुलित भोजनको अभाव, शारीरिक व्यायामको कमी, स्वास्थ्यसम्बन्धी जनचेतनाको कमीलगायत कारण रोगीको संख्या बढेको उनले बताए । ‘जिल्लामै गुणस्तरीय उपचार सेवा नहुँदा पनि रोगीको संख्या बढेको हो,’ उनले भने, ‘अधिकांश बिरामीमा अस्पतालप्रति अविश्वास भएको पाइयो ।’ जाजरकोटभन्दा विकट ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहे पनि सदरमुकाममा विशेषज्ञ डाक्टर नबस्दा बिरामीले रोग पालेर बस्नुपर्ने बाध्यता भएको केसीको भनाइ छ । शिविरमा आएका धेरै बिरामीले पुरानो पर्चा देखाउँदै मृगौलामा पत्थरी भएको बताए पनि उनीहरूमा जाँच गर्दा पत्थरी नपाइएको उनले बताए । ‘गलत पहिचानले बिरामीलाई भ्रम पैदा भएको रहेछ,’ उनले भने, ‘बिरामीको रोग पहिचान गर्न सम्बन्धित चिकित्सकले लापरबाही गरेको पाइयो ।’


निःशुल्क शिविरमा ६ हजार २ सयले उपचार सेवा पाएका छन् । एक–एक पाइला काठमाडौंको मुख्य आयोजना तथा भेरी नगरपालिका, पहाडी क्षेत्र विकास अभियान, सुर्खेत आँखा अस्पताल, नेफाल रेडक्रस सोसाइटीलगायत संघ संसस्थाको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।


शिविरमा आँखा, कान, दाँत, घाँटी, स्त्रीरोग, छाला, बालरोग, हाडजोर्नी, दम, जनरल मेडिसिन, सामान्य शल्यत्रिया, प्याथोलोजीलगायत सेवा प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष डा. सुमनशमशेर थापाले बताए । शिविरमा जाजरकोटका साथै रुकुम पश्चिम, सल्यान र सुर्खेतका बिरामीले समेत सेवा पाएका छन् । संस्थाले विपतमा परेका र दुर्गमका जनतालाई सहयोग गरिरहेको उनले बताए ।


शिविरमा २ हजार

बिरामीलाई ब्रस र मन्जन निःशुल्क वितरण गरिएको छ । शिविर सञ्चालनका लागि २० विशेषज्ञसहित ४५ जनाको टोली जाजरकोट आएको पहाडी क्षेत्र विकास अभियानका अध्यक्ष प्रदीपजंग शाहले बताए । शिविरमा उपचार हुन नसकेका गम्भीर प्रकृतिका बिरामीलाई काठमाडौं रिफर गरिएको छ ।


प्रकाशित : चैत्र १, २०७५ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?