कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सीके राउतको राजनीतिक 'सेफल्याण्डिङ' पछि मधेस राजनीतिमा हलचल

भुषण यादव

वीरगन्ज — विगतमा राज्यसँग आफ्नो माग पूरा गराउन 'सिके राउतको बाटोमा हिँड्न नपरोस्' भन्नेहरुले अहिले सिके मूलधारको राजनीतिमा आएपछि उनको दोकान (पसल) मधेसमा नचल्ने प्रतिक्रिया दिन थालेका छन् । प्रदेश २ का मुख्यमन्त्रीले प्रधानमन्त्रीले सिके राउतलाई 'खलिफा'को रुपमा प्रस्तुत गरेकोमा आपत्ति प्रकट गरेका छन् ।

सीके राउतको राजनीतिक 'सेफल्याण्डिङ' पछि मधेस राजनीतिमा हलचल

मधेसलाई छुट्टै देश बनाउने मुद्दा छाडेर राजनीतिमा 'सेफल्याण्डिङ' गरेका सिके राउतको निर्णयले एक किसिमको तरङ्ग ल्याइदिएको छ । मधेसको मूलधारको राजनीतिमा एउटा अर्को प्रतिस्पर्धी शक्तिको सम्भावना विश्लेषकले देखेका छन् ।


संविधान निर्माण अगावै र पहिलो संशोधन भएपछि पनि मधेस केन्द्रित दलका वरिष्ठ नेताले सरकारलाई बेला बेलामा 'सिके फ्याक्टर' को डर देखाइरहन्थे । अहिले राउत अन्य दलझैँ मूलधारको राजनीतिमा आउने भएपछि मधेस केन्द्रित परम्परागत पार्टीमा चिसो पसेको छ ।


डा.सुरेन्द्र लाभका अनुसार बहुदलीय राजनीतिमा फोरम र राजपाले विश्वास गर्छन भने सिके मात्र हैन् मधेसको राजनीतिमा अन्य पनि आउन सक्छन् । 'सिके राउतको आगमनले कतिपयको मनमा चिसो पसेको छ,' डा लाभ भन्छन्, 'तेजतर्रार मान्छे हुन् राउत, मधेसका समस्या समाधानका लागि नयाँ व्याख्या गर्न सक्छन् ।' प्रदेश २ का मुख्यमन्त्रीले प्रधानमन्त्रीले सिके राउतलाई 'खलिफा' को रुपमा प्रस्तुत गरेकोमा असन्तुष्टी प्रकट गरेका छन् । राजपाका एक नेताले राउतको दोकान मेधसमा नचल्ने टिप्पणी गरेका छन् । जनकपुरका विश्लेषक डा. सुरेन्द्र लाभका अनुसार मूलधारमा आएका सिकेले दल खोलेमा संघीय समाजवादी फोरम र राजपाका लागि प्रतिस्पर्धी पार्टीको रुपमा आउने सम्भावना छ ।


'तर, त्यसका लागि उनले सरकारसँग गरेको ११ बुँझेको इमानदारीपूर्वक पालना गर्नुपर्ने हुन्छ । नत्र सहमति अर्को र क्रियाकलाप अर्कै भयो भने विश्वासको वातावरण बन्न सक्दैन्, कार्यकर्ता पनि पलायन हुन्छ,' डा.लाभले भने, 'अविश्वासको वातावरण बनि रह्यो भने उनी पलायन हुन्छन् ।' विश्वासको वातारण निर्माण गरे राउतले राजनीतिलाई नयाँ तरिकाले अगाडि बढाउन सक्ने उनको आँकलन छ ।


ठाकुरराम बहुमुखी क्याम्पसका समाजशास्त्रका प्रध्यापक विरेन्द्र प्रसाद साहले दुबै पक्षले समझदारी इमानदारीपूर्वक पालना गरे देशको राजनीतिका लागि राम्रो दिशा निर्देश गर्ने बताउँछन् । 'समाज भित्र रहेका केही असहमतिलाई सहमतिमै सम्बोधन गर्न सकिन्छ भन्ने दीर्घकालिन सन्देश जान्छ,' उनले भने, 'लामो समय जेलमा बेसपछि राज्यसँग विद्रोह गरेर मुद्दा स्थापित हुँदैनन् भन्ने कुरा राउतले 'रियलाइज' गरेका हुनसक्छन् । करिब १७ हजारको मृत्यु भएपछि तत्कालिन माओवादी मूलधारको राजनीतमा आएको नजिर पनि छँदैछ ।' साहका अनुसार नेपालको संवेदनशील भूराजनीतिका कारण पनि उनको माग सम्भव थिएन् । त्यसमाथि पनि उनले सानो भूभाग समाउनु भएको थियो । आँधी जनसंख्या रहेको पहाडी समूदायले सहयोग गर्ने कुरै भएन ।


'अनि उनले जुन विखण्डनको नारा अघि सोरका थिए, त्यसमा आम मधेसीले स्वीकार गरेका छैनन्,' समाजशास्त्री साहले भने, 'स्वतन्त्र मधेस अलग राज्यको राजनीति मधेसमा स्थापित हुँदैन् । मधेसी जनताले कुनै एंगलले स्वीकार्दैन भन्ने पनि राउतले रियलाइज गरेको हुनुपर्छ ।' लामो समय राजनीति गरिसकेकाले उनका पनि समर्थक छन् । संविधान बनिसकेको अवस्थामा संविधानलाई फाल्न सकिदैन, बरु असन्तुष्टिहरु यही संविधानमा संशोधन गर्न सकिन्छ । साहका अनुसार मधेसमा उनी प्रति एकखालको आकर्षण छ । 'त्यो आकर्षण विद्रोह गरि फरक राज्य बनाउँछु भनेर भएको हैन्,' उनले प्रस्ट गर्दै भने, 'विगतदेखि जुन मधेस केन्द्रित दल छन्, जो ४८ सालदेखि संसदमा छन्, मन्त्री बनेका छन्, तर, जनतालाई खासै परिवर्तन अनुभव गराउन सकेका छैनन्, विकासको आधारभूत परिवर्तन गराउन सकेनन् । उनीहरुको ठाउँ सिके राउतले लिन सक्छन् ।'


कार्यकर्तालाई ११ बुँदु सहमति र मधेसी जनता र परम्परागत दलवीचको स्पेस बारे सम्झाउन सके राजनीतिमा राउत स्थापित हुने सम्भावना देखिन्छ । राउत मूलधारको राजनीतिमा आएपछि मधेसमा तीन धार हुनेछ । 'संघीय समाजवादी फोरम र राजपाका लागि राउतको पार्टी फलामको चिउरा बन्ने सम्भावना बढी छ । राउतले अबको आफ्नो राजनीति कसरी 'ड्राइभ' गर्छन्, त्यसमा भर पर्छ,' साह भन्छन्, 'लामो समयदेखि आधारभूत परिवर्तन समेत महशुस गर्न नसकेका जनताका सहानुभूति पाउने उनका लागि राम्रो अवसर छ ।'


११ बुँदे सहमति पछि पहिलो पल्ट जनकपुर पुग्दा राउतका समर्थकमा पुरानै 'ह्याङओभर' देखेर सबै झस्किए । पुरानै नारा र प्लेकार्ड बोकेर विभानस्थल पुगेका कार्यकर्तालाई देखेर सत्तारुढ दलका नेता, विपक्षी दल र सामाजिक सञ्जालमा पनि तीव्र असन्तुष्टि प्रकट भए । 'कार्यकर्तासम्म आफ्नो कुरालाई सम्प्रेशित गर्न नसकेकाले पुरानो नारा लगाएको हुनसक्छ,' डा.लाभ भन्छन्, 'लामो समयदेखि कार्यकर्तालाई प्रशिक्षण गर्दै आएका थिए, अहिले उनको लागि संक्रमणकालको समय हो, शंकाको लाम दिन सकिन्छ ।'


समाजशास्त्री साहका अनुसार कुनै पनि रेडिकल कुराबाट सफ्टमा आउन केही समय लाग्न सक्छ । यो किताबको पाना परिवर्तन गरे जस्तो हुन्न । समाजमा सेटल हुन टाइम लाग्छ । अरुले जे व्याख्या गरेपनि ११ बुँदे सहमतिको कारेमा अखण्डतालाई असर नहुने गरि संविधानको लोकातान्त्रिक दायरा भित्र रही गतिविधी अगाडि बढाउने उल्लेख छ । 'छुट्टै राज्य बनाउँछु भनेर एक ढंगको सामाजिकरणमा रहेका कार्यकर्तालाई 'यु-टर्न' गराई एउटा राजनीतिक विश्राम गराउनु चानचुने कुरा हैन्,' साह भन्छन्, 'त्यही भएर अहिलेनै सरकारसँगको सहमति पालना भएन भनेर भन्ने बेला आएको छैन् ।'


०६२ मा दिल्लीमा भएको १२ बुँदे सहमति पछि माओवादीका सांसद पेस्तोल बोकेर संविधान सभा भवन प्रवेश गरेको जगजाहेर नै छ । 'बन्दुक बोकेर हिडा ट्राफिक प्रहरीसँग विवाद भएकै हो,' उनले भने, 'रेडिकलबाट सफ्ट बन्न केही समय चाहिन्छ नै ।' ११ बुँदे सहमतिको आफू अनुकूल व्याख्या भइरहँदा साहले ०३६ सालको जनमतसंग्रह घोषणा सम्भिmए । उनी भन्छन्, 'त्यसबेला जनमत संग्रहलाई कांग्रेसले एक थरि व्याख्या गर्थे, कम्युनिष्टले अर्को थरि र पञ्चायत पक्षधरले अर्कै व्याख्या गरे ।'


राजपा महासचिव मनिष सुमन राउतलाई मधेसको प्रतिस्पर्धी दलको रुपमा मान्न तयार छैनन् । 'विखण्डनको नारा छाडेर सिके राउत मूलधारको राजनीतिमा आए, यो खुशीको कुरा हो,' उनले भने, 'तर, फोरम/राजपाको बाटोमा हिड्न बहुत अप्ठयारो छ, हाम्रो परम्परागत 'टेस्टेड' पार्टी हो, चुनौती दिन गाह्रो छ ।' उनका अनुसार नयाँ दल खोलेपनि उनी देश हल्लाउन सक्दैनन्, सुरुमा केही चमकधमक भने हुन्छ । 'मधेसका प्रत्येक मतदाताले सिकेलाई मतदान गरेपनि उनी संसदमा सामन्य बहुमतमा पनि पुग्न सकदैनन्,' सुमन भन्छन्, 'राज्य पुनसंरचना नै त्यसरी गरिएको छ । २० वर्षसम्म निर्वाचन क्षेत्र बढाउन पनि मिल्दैन् ।'


राउत मूलधारको राजनीतिमा आएपछि सुमनले तीन सम्भावना औँल्याएका छन् । पहिलो उनले पार्टी खोल्छन्, दोस्रो पलायन हुन् सक्छन् र तेस्रो राउत नेकपामा प्रवेश गर्न सक्छन् । 'फागुन २४ गते सरकारसँग सहमति गरेका राउत एक दिन अगाडिसम्म मधेस अलग राष्ट्रका लागि लडिरहेका थिए,' सुमन भन्छन्, 'उनको यु-टर्न रहस्यमयी छ ।' पछिल्लो पटक राउत लामो समय जेल बसेपछि उनका धेरै कार्यकर्ता पलायन भएको उनले खुलाए । उनी जेलमा बस्दा ५ महिनासम्म कार्यकर्ताको मुभमेन्ट पनि देखिएको थिएन् । पारिवारिक दबाबमा पनि सहमति गरेको खुल्न आएको छ । 'देश/विदेशबाट उनलाई आर्थिक सहयोग गर्ने समर्थक पछिल्लो घटनाक्रमले मौन छन्,' राजपा नेता सुमनले भने, 'मेरुदण्ड नै रिसाएकाले उनी पलायन पनि हुन सक्छन् ।' जसरी राष्ट्रियसभामा लैजाने कुरा बाहिर आएका छन्, त्यस्को आधारमा उनी नेकपामा प्रवेश गर्न सक्ने सम्भावना रहेको उनले औँल्याए ।


नेकपा प्रदेश नम्बर दुई इन्चार्ज एवं संसदीय दलका नेता सत्यनारायण मण्डलका अनुसार फोरम र राजपा विगतदेखिनै सत्तामा रहिसकेकाले सिके राउतले त्याग र इमानदारीको हिसाबले उनीहरु भन्दा हावी हुनसक्छन् । 'आकर्षक जागिर छाडेर राजनीतिमा आएका हुन् राउत, कुनै लोभलालचले आर्जन गर्ने हिसाबले आएका हैनन् सुखमय जीवन छाडेर आएका हुन्,' उनले भने, 'विखण्डनको नारा मात्र उनको खराब पक्ष थियो, अब त्यो पनि छाडिसके, मधेसको राजनीतिमा उनलाई स्वागत छ ।' वैज्ञानिक जस्तो मान्छे राजनीतिमा आएपछि मधेस मुद्दाको समाजशास्त्रीय हिसाबले उत्खनन हुने उनले विश्वास लिएको खुलाए । 'अब विध्वंशको बाटो हैन्, समृद्धिको बाटोमा लाने व्यक्ति चाहिको छ,' उनले भने ।


यता कांग्रेस प्रदेश दुई संसदीय दलका नेता रामसरोज यादवले सिके राउत र सरकारबीच भएको रहस्मयी सम्झौताले आशंका उब्जिएको बताए । 'अखण्डता, राष्ट्रियता, संविधान मान्ने सम्झौता भइसकेपछि उनका कार्यकर्ताले जनकपुरमा किन स्वतन्त्र मधेस र जनमतसंग्रहको नारा लगाए,' उनले भने, 'राष्ट्रिय सभा गृहमा भएको सम्झौता उनका कार्यकर्तालाई थाहा नपाएको भन्न मिल्दैन्, सारा मुलुकले थाहा पाउने अनि उनीहरुले चाँहि जानकारी नपाएको भन्न सुहाउँदैन् ।'


उनका अनुसार राउत आफू पनि जेलबाट छुट्ने र कार्यकर्तालाई पनि छुटाएर अभियानलाई फरक ढंगले अगाडि बढाउने रणनीति बमोजिम सम्झौता भएको हो । ११ बुँदे सम्झौताको २ नम्बर बुँदा बारे सरकार पक्षले जनअभिमत भनि रहँदा सिके राउतका कार्यकर्ताले जनमतसंग्रहको रुपमा प्रचार प्रसार गरिरहेको उनले गुनासो गरे । 'दुई नम्बर बुँदा बारे दुबै पक्षले समयमै प्रष्ट पार्नुपार्छ,' उनले भने, 'नत्र भविष्यमा यो एउटा गलपासोको रुपमा हुने छ ।' राउतलाई उनले ठूला शक्तिको रुपमा मान्न अस्वीकारे गर्छन् । 'उनी मधेसको राजनीतिमा आउँदा खासै अन्तर हुँदैन्,' संसदीय दलका नेता यादव भन्छन्, 'राउत बलियो भएको भए सरकारसँग सम्झौता नै गर्दैनथे नि ।'


सन् २०११ मा अमेरिकामा वैज्ञानिकको आकर्षक जागिर छाडेर स्वतन्त्र मधेस बनाउने अभियानमा राउत यस अघि सक्रिय थिए । उनका समर्थकमा विशेष गरि युवा र प्राविधिक क्षेत्रका शिक्षित जनशक्ति बढी थिए । जानकारका अनुसार आकर्षक जागिर छाडेर आएको मधेसी युवा र त्यसमाथि चर्का नाराले उनलाई 'सेलेबल' बनाएको थियो ।

प्रकाशित : चैत्र १, २०७५ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?