१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

खोटाङका दुई वनमा आगलागी, छ घर जले

डम्बरसिं राई

खोटाङ — जिल्लाको उत्तरी क्षेत्र दुबेकोल र माक्पामा शुक्रबार दिउँसोदेखि भीषण आगलागी भएको छ । रावाबेसी गाउँपालिका-५ दुबेकोलस्थित गढीथुम्की सामुदायिक वनबाट फैलिएको आगोले छ घर जलेर नष्ट भएका छन् ।

खोटाङका दुई वनमा आगलागी, छ घर जले

दिउँसो साढे १२ बजेतिर सुरु भएको डढेलोले दुबेकोलमा चार र ऐसेलुखर्क गाउँपालिका-७ माक्पा लेवामा दुई घर जलेर नष्ट भएका हुन । साझसम्म आगो नियन्त्रणमा आउन सकेको छैन । रावाबेसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाका अनुसार गढीथुम्की सामुदायिक वनबाट सल्किएको आगोले दुबेकोलका गोपाल पाण्डे, युवराज पाण्डे, आभिशेखर पाण्डे र भीम पाण्डेको घर जलेर नष्ट भएको छ ।

त्यस्तै उक्त वनबाटै फैलिएको आगोले ऐसेलुखर्क गाउँपालिका-७ माक्पा लेवास्थित भान्सिङ्गे सामुदायिक वन हुँदै गाउँ पसेको आगोले माक्पा लेवाका तोमबहादुर निरौला र पहलमान निरौलाको घर जलेर नष्ट भएको छ । एक सय ९० हेक्टर क्षेत्रफल भएको गढीथुम्की सामुदायिक वन पूरै सखाप भएको छ भने करिब दुईसय हेक्टर क्षेत्रफल भएको भान्सिङ्गे सामुदायिक वन पनि धेरैजसो सखाप भएको अध्यक्ष निरौलाले सुनाए ।

आगो नियन्त्रणका लागि ऐसेलुखर्कस्थित नेपाली सेना, प्रहरी, जनप्रतिनिधिहरु तथा सर्वसाधारण खटिरहेका छन् । दमकल नभएकाले अग्नी रेखा काटेर आगो नियन्त्रणको प्रयास भइरहेको अध्यक्ष निरौलाले सुनाए । डढेलो नियन्त्रण गर्न असम्भवजस्तै भएको निरौलाले जनाए । वनक्षेत्र सबै सखाप हुने अवस्थामा पुगेको निरौलाले बताए । 'आगो नियन्त्रणका लागि हामी सबै खटिएका छौं,' अध्यक्ष निरौलाले भने, 'घरहरु जोगाउन सफल भए पनि वन क्षेत्र भने जोगाउन नसकिने अवस्थामा पुग्यो ।'

आगो कसरी लाग्यो भन्ने खुल्न नसकेको अध्यक्ष निरौलाको भनाई छ । आगलागीले कति धनमाल क्षति भयो भन्ने विवरण पनि नआइसकेको निरौलाले बताए ।

प्रकाशित : चैत्र १, २०७५ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?