१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतीय प्रहरी नियन्त्रणपछि रिहा

दुर्गालाल केसी

दाङ — बर्दीसहित जिल्ला आएका दुई भारतीय प्रहरीलाई नियन्त्रणमा लिएर छाडिएको छ । बाँकेको रुपैडिहा नाका हुँदै बिहीबार राति गाडीमा तुलसीपुर आइपुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरी शुक्रबार भारत फिर्ता गराएको हो ।

स्कर्पियो गाडीमा बर्दीसहितका दुई प्रहरी, चालक र अन्य ४ सादा पोशाकमा आएको जिल्ला प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा मुजफ्फरपुर थाना तिलाहर उत्तरप्रदेशमा कार्यरत थानेदार भिके मौर्य र हेड कन्सटेबल महोम्मद अनिस रहेका छन् । अन्य व्यक्ति गैरप्रहरी रहेको बुझिएको छ । उनीहरु भारतबाट कुनै घटनाको अनुसन्धान गर्न आएका हुन् । उनीहरुले मानव बेचबिखनसम्बन्धी मुद्दामा छानबिन गर्न आएको बताए पनि यहाँका प्रहरीसँग समन्वय गरिएको थिएन ।


दाङको इँटाभट्टामा कार्यरत भारतीय कामदारको विषयमा मानव बेचबिखन मुद्दा भएकाले अनुसन्धान गर्न आएको उनीहरुले बताए । नेपालको प्रहरीसँग समन्वय नगरी बर्दीसहित आएकाले ध्यानाकर्षण भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबाहदुर पाण्डेले बताए । 'बर्दीसहित यति भित्र आउन पाइँदैन । कुनै औपचारिक बैठक, कार्यक्रम भए जानकारीसहित आउन सकिन्थ्यो,' उनले भने, 'जानकारीबिना आएकाले हाम्रो ध्यानाकर्षण भएको हो । उताको सम्बन्धित प्रहरी थानामा बुझेपछि एक रात राखेर छोडिएको छ ।' सोधपुछका क्रममा अन्य गलत मनशाय नभएको पाइएपछि भारत फिर्ता गरेको उनले जानकारी दिए ।


आपराधिक घटनामा अर्को मुलुकमा पुगेर अनुसन्धान गर्दा दुई देशबीच समन्वय हुनुपर्ने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । अपराधमा अनुसन्धान गर्न आए पनि जानकारी दिएर आउनुपर्ने प्रावधान रहेको उनको भनाइ छ । 'जानकारी नदिएर बर्दीसहित आउनु गलत भयो । मुद्दामा अनुसन्धान गर्दा पनि यताको प्रहरीसँग सहयोग लिन सकिन्थ्यो,' उनले भने, 'आपसी समन्वयमा काम गर्दा राम्रो हुन्छ । जानकारी नदिएर प्रवेश गर्दा नियन्त्रणमा लिएर सोधपुछ गर्नुपरेको हो ।'


बाँकेको सीमा क्षेत्रबाट दाङ पुग्न करिब १ सय ५० किलोमिटरको यात्रा गर्नुपर्छ । थुप्रै ठाउँमा गाडी जाँच पनि हुन्छ । दाङ र बाँकेको सीमा क्षेत्रमा पर्ने बाँके राष्ट्रिय निकुञ्जमा गाडी प्रवेश हुँदा गाडीको दर्तासँगै खानतलासी गरिन्छ । त्यस्तो अवस्थामा बर्दीमै रहेका भारतीय प्रहरी दाङ आइपुग्नु आश्चर्यको विषय भएको सुरक्षा अधिकारीले बताए ।

प्रकाशित : चैत्र १, २०७५ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?