१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गण्डकी मेडिकल कलेज : जिम्मा लिने नहुँदा ताला खुलेन

विना थापा

कास्की — जिम्मेवारी लिने कोही नभेटिएपछि शुक्रबार तयारी गरिए पनि गण्डकी मेडिकल कलेजमा लगाइएको ताला खुल्न सकेको छैन । बढी लिएको शुल्क फिर्तासहितका चार बुँदे माग राखेर आन्दोलित विद्यार्थीले कलेज र सञ्चालक पदाधिकारीका विभिन्न कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

गण्डकी मेडिकल कलेज : जिम्मा लिने नहुँदा ताला खुलेन

एक महिना लामो तालाबन्दी र रिले अनसनपछि पनि व्यवस्थापन पक्ष माग सुनुवाइ गर्न तयार नभएपछि विद्यार्थीहरूले ठगी मुद्दामा कारवाहीका लागि प्रहरीमा जाहेरी दर्ता गराएका थिए । त्यसयता पक्राउ पुर्जी जारी गरेर प्रहरीले पूर्वसीइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई नियन्त्रणमा लिइसकेको छ भने सञ्चालक अध्यक्ष खुमा अर्यालसहित आठ जनाको खोजी गरिरहेको छ ।

सञ्चालकहरूलाई पक्राउ र मुद्दामा कारवाही सुरु गरेपछि पनि बन्द रहेको कलेज खुलाउन प्रशासनले पहल गरेको हो । जिल्ला प्रशासनमा भएको छलफलपछि विद्यार्थीहरू कलेजमा गरेको तालाबन्दी खोल्न सहमत भएका थिए । प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, प्रहरी उपरीक्षक ओमबहादुर राना र नागरिक अगुवा रामबहादुर पौडेललगायत विद्यार्थीहरुसँगै ताला खोल्न पुगेपनि जिम्मा लिने कोही भएनन् ।

ताला खोल्दा पनि कलेजको जिम्मा लिन व्यवस्थापनका कुनै पनि प्रतिनिधि उपस्थित भएनन् । जिम्मेवारी लिने कोही नभएकाले ताला नखुलेको हो । विद्यार्थीलाई पढ्ने वातावरण मिलाउनका लागि ताला खुलाउन खोजिए पनि जिम्मा लिने कोही नभेटिएको कारण सबै फर्किएका थिए । 'जिम्मा लिने कोही भएनन् । त्यसै खोल्न पनि मिलेन,' प्रजिअ बुढाले भने ।


पोखराको गण्डकी मेडिकल कलेजमा शुक्रबार ताला खुलाउन पुगेका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा र नागरिक समाज प्रतिनिधिसँगै विद्यार्थी । जिम्मा लिने कोही नहुँदा कलेजको ताला नखोेली फर्किएका छन् । तस्बिर : विना थापा/कान्तिपुर

सरकारले तोकेकोभन्दा ८ देखि १६ लाखसम्म बढी लिएको शुल्क फिर्तासहितका माग राखेर सन् २०१५ देखि २०१८ सम्मको ब्याचका एमबीबीएस विद्यार्थीले ४४ दिनअघि कलेज, पदाधिकारीका कार्यकक्ष र कलेजको अस्पतालका आकस्मिक बाहेकका कक्षमा ताला लगाएका थिए ।

विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यलयमा फागुन २१ मा ठगी मुद्दामा कारवाहीका लागि जाहेरी दिएका थिए । कलेज सञ्चालक अध्यक्ष खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक, रवीन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा, लेखा शाखाका हरिमाया पौडल, दिनेश पौडेल, तिलक पौडेल, कृष्ण पौडेल पूर्वसिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्माकाविरुद्ध जाहेरी दर्तापछि पक्राउ पुर्जी जारी भएको थियो ।

जाहेरी दर्ताको भोलिपल्टै प्रहरीले खनाल र परीक्षा नियन्त्रक शर्मालाई पक्राउ गरेको थियो भने अन्य लुकेका थिए । पक्राउ परेकाहरूविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष अर्यालसहित ६ जनाले फागुन २३ मा वारेसमार्फत निषेधाज्ञासहितको अन्तरिम आदेश मागको रिट उच्च अदालत पोखरामा दायर गरेका थिए ।


रिटमा जिल्ला अदालत कास्की, जिल्ला प्रशासन र प्रहरी कार्यालय, जिल्ला न्यायाधिवक्ताको कार्यालय र तीन विद्यार्थीलाई विपक्षी बनाइएको थियो । रिटको प्रारम्भिक सुनुवाइमा अदालतले फागुन २६ मा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । तत्काल अन्तरिम आदेश जारी नगरी अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । उक्त रिटमा बिहीबार अदालतले अन्तरीम आदेश जारी गर्न नमिल्ने आदेश गरेपछि सञ्चालकहरू फरार छन् ।


कलेज बन्द र आन्दोलन रहेकाले सन् २०१५ का ८३ र २०१४ का पुरक ३ सहित ८६ विद्यार्थीले एमबीबीएस तेस्रो वर्षको परीक्षा समेत दिन पाएनन् । मुद्दामा कारबाही थालिएपछि विद्यार्थीले आन्दोलन फिर्ता लिएका छन् तर, बन्द रहेको कलेज कहिले र कसले खोल्ने भन्ने अन्यौल भएको छ ।

प्रकाशित : चैत्र १, २०७५ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?