कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चन्दा आतंकले रोजगार व्यवसायी त्रसित 

ठूलासँग तीन लाख, सानासँग एक लाख माग
होम कार्की

काठमाडौँ — नेक्रवित्रम चन्द नेतृत्वको नेकपाको युवा संगठनले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित निवासमा विस्फोट गराउनुको मुख्य कारण चन्दा नै रहेको पाइएको छ । व्यवसायीका अनुसार युवा संगठनले सबै म्यानपावर व्यवसायीसँग समन्वय गरी चन्दा दिन अध्यक्ष गुरुङसमक्ष माग गरेका थिए ।

चन्दा आतंकले रोजगार व्यवसायी त्रसित 

गुरुङले व्यवसायीको अवस्था नाजुक रहेको भन्दै तत्काल चन्दा दिन नसक्ने बताए । संगठनले चन्दा मागेको चिठी फिर्ता लग्यो । त्यसको केही दिनपछि गुरुङको घरमा निकै शक्तिशाली बम विस्फोट गराए ।


चन्दा नदिएकै कारण मानवीय क्षति हुने गरी विस्फोट गराएपछि वैदेशिक रोजगार व्यवसायी त्रसित छन् । विस्फोटपछि सरकारसँग छलफल गर्न व्यवसायीले बनाएको घटना समन्वय समितिका संयोजक दिलप्रसाद पोखरेलले व्यवसायीहरू चन्दा आतंकबाट पीडित भएको बताए । ‘झन्डै ६० प्रतिशत म्यानपावर व्यवसायीलाई चन्दा दिन पत्र आएको छ,’ उनले भने, ‘यो विषय लुकेर लुक्ने होइन । व्यवसायीहरू यस्तो अवस्थामा चन्दा दिन सक्ने हैसियतमा छैनन् ।’


चन्द समूहले ठूला म्यानपावरलाई ३ लाख र सानालाई १ लाखसम्म चन्दा दिन पत्र काटेको छ । ‘सिधा चन्दा दिन अप्ठ्यारो पर्नेलाई विज्ञापनका रूपमा पनि मागिएको छ,’ उनले भने, ‘म्यानपावरले आफ्नै खल्तीबाट रकम दिने होइन । चन्दा माग्नु भनेको कामदारसँग अनावश्यक पैसा उठाउन दबाब दिनु हो ।’


उनले चन्दा आतंकले झन् ठूलो रूप लिँदै जाने अवस्था देखिएको बताए । ‘अहिले केहीले दिएका छन्, मागेको जति दिन सकिएको छैन । यो थप बढदै जान्छ । १० हजार मागेको ठाउँमा २ हजार दिएर पठाइएको होला । फेरि अर्को महिना माग्न आइहाल्छन्,’ उनले भने, ‘अब चन्दा आतंकलाई रोक्ने उपाय नै वार्ता नै हो ।’


पछिल्लो समयमा वैदेशिक रोजगारको क्षेत्र धराशायी छ । गत जेठदेखि मलेसियाको श्रम बजार बन्द छ । खाडी क्षेत्रमा पहिला जस्तो कामदारको माग आएको छैन । मलेसिया बन्द हुँदा मात्रै चार सय म्यानपावरको काम ठप्पझैं छ । वैदेशिक रोजगार विभागले सरकारले तोकेभन्दा बढी सेवा शुल्क लिने म्यानपावरमाथिको कारबाही थालेको छ । ‘हामीले कहाँबाट रकम ल्याउने ? आफ्नै कार्यालयको भाडा र कर्मचारीलाई तलब खुवाउन सकिएको छैन,’ एक व्यवसायीले कान्तिपुरलाई भने, ‘जबर्जस्ती चन्दा मागिएको छ । नदिँदा आफूमाथि आक्रमण हुन्छ भन्ने डर ।’


अध्यक्षमाथिको आक्रमणले व्यवसायीहरू मानसिक रूपमा कमजोर भएको पोखरेलले बताए । ‘हामीमाथि परेको समस्याबारे प्रधानमन्त्रीसमक्ष राख्यौं, यसलाई प्रधानमन्त्रीले गम्भीर रूपमा लिनुभएको देखियो,’ उनले भने, ‘श्रममन्त्रीले आफ्नो नेतृत्वमा गृहमन्त्रीसमक्ष गएर सुरक्षाको प्रत्याभूति दिलाउने वचन दिनुभएको छ । यसबाट हामीलाई थोरै भए पनि राहत मिलेको छ ।’

विस्फोटपछि गत आइतबारको व्यवसायी भेलाले सुरक्षाको प्रत्याभूति नभए अनिश्चितकालसम्म आफ्नो व्यवसाय बन्द गर्ने निर्णय गरेका थिए । ‘सरकारबाट हामीलाई सुरक्षाको प्रत्याभूति हुने कुरामा शंका नगर्न आग्रह भएको छ । हामीलाई विश्वस्त बनाउने प्रयास पनि भएको छ,’ उनले भने । विस्फोटपछि संघको चैत २६ गते हुने निर्वाचनसहितको साधारणसभा स्थगित भएको छ । व्यवसायीहरू भयभीत भएको अवस्थामा साधारणसभा गर्न नसक्ने संघले जनाएको छ ।

प्रकाशित : चैत्र २, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?