न्याम्सको उपकुलपतिमा साह

रासस

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा प्रा डा देवनारायण साहलाई नियुक्त गरेका छन् । 

उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं न्याम्सका सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्रीले सुनसरीका साहलाई शुक्रबारनियुक्त गरेका हुन । यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले न्याम्सका अन्य पदाधिकारीको पनि नियुक्ति गरेका छन् ।

जसअनुसार पर्साका प्रा डा सुबोधकुमार अधिकारी शिक्षाध्यक्ष, पाँचथरकी प्रा प्रमिला देवान रजिस्ट्रार, सुनसरीका प्रा डा पियुस दाहाल डिन र सप्तरीका डा केदारप्रसाद सेन्चुरी वीर अस्पतालको निर्देशकमा नियुक्त भएको छन् । उनीहरु सबैको पदावधि चार वर्षको हुनेछ । प्रधानमन्त्री ओलीको उपस्थितिमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले उपकुलपति साहलगायत सबैलाई आजै बालुवाटारमा पद तथा गोपनियताको सपथ गराएका छन् ।

शपथपछि प्रधानमन्त्री ओलीले भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिए । '५०० रोपनी क्षेत्रफलमा भक्तपुरमा सुविधा सम्पन्न अस्पताल बनाउने कार्य तत्काल थालनी गर्नुहोस्, त्यो काम तपाईंहरुकै कार्यकालमा सम्पन्न हुनुपर्दछ, प्रधानमन्त्री ओलीले भने, 'अहिलेको वीर अस्पताललाई सिटी अस्पतालको रुपमा सञ्चालन गर्नुपर्दछ ।'

वरिष्ठ चिकित्सकले अस्पतालमा बिरामीको उपचार नगर्ने गलत संस्कार बसेकोले त्यसलाई तोड्नसमेत निदेर्शन दिदै प्रधानमन्त्री ओलीले भने, 'सिनियर भएपछि काम गर्न नपर्ने गलत संस्कारको विकास भएको देखिन्छ । सिनियरको अनुभवले बिरामीको उपचार गर्दा त्यसबाट बिरामीले पाउने लाभ अधिक हुन्छ ।'

प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीहरुलाई बिरामीलाई गर्ने व्यवहार सुधार गर्नसमेत आग्रह गरेका छन् । 'डाक्टर, नर्सले बिरामीप्रति मायालु व्यवहार गर्नुहोस्, तपाईंहरुको व्यवहारले बिरामीले राहत महसुस गर्नुपर्दछ, प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रकाशित : चैत्र २, २०७५ ०८:१४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जोखिममा मृगौला

निस्क्रिय जीवनशैली, धुमपान तथा मद्यपान, जंकफुड तथा अस्वस्थकर खानपान, बढ्दो सहरीकरण, तनाव, खाद्य पदार्थ उत्पादनमा विषादीको अत्यधिक उपयोगले उच्च रक्तचाप तथा मधुमेह हुँदा मृगौलामा प्रभाव देखिने गरको छ
अतुल मिश्र

काठमाडौँ — मुलुकमा व्यायामको अभाव, निष्क्रिय जीवनशैली, मदिरा, चुरोट, खैनी, फास्टफुड लगायतका अस्वस्थकर खानपानको प्रयोग, बढ्दो सहरीकरण, तनाव, खाद्यपदार्थ उत्पादनमा विषादी/रसायनिक मल आदिको अत्यधिक उपयोगसँगै रक्तचाप र मधुमेहका बिरामी थपिँदै छन् । यसको सोझै प्रभाव मृगौलामा देखिने गरेको छ ।


‘मुलुकमा मृगौला रोगको वास्तविक अवस्थाबारे विस्तृत र वैज्ञानिक अध्ययन भएको छैन,’ सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक एवं मृगौला, कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठ भन्छन्, ‘तर अन्य विभिन्न सुचकलाई विश्लेषण गर्दा मृगौला रोग द्रुत गतिमा बढिरहेको छ । यसले परिपक्व उमेरकालाई मात्र नभएर कम उमेरकालाई समेत सिकार बनाउँदै छ ।’

अन्य कारणबाहेक मृगौलाको पुरानो रोगले बिस्तारै धेरै वर्षमा नेफ्रोन्सलाई नष्ट गर्छ । क्यान्सर, शिष्ट, पत्थरी, संक्रमण आदि अन्य मृगौलाका समस्या हुन् । चिकित्साकर्मीले रगत र पिसाब जाँच गरेर मृगौला रोग भए नभएको किटान गर्छन । मृगौला फेल भएपछि मृगौला प्रत्यारोपण वा डायलासिस मात्र बाँच्ने विकल्प हुन् ।

मृगौला बिग्रन थाल्दासमेत लामो समयसम्म यसको अनुभुति हुँदैन । मृगौलाको समस्या त्यतिबेलासम्म तपाईंलाई जानकारी हुँदैन
जबसम्म समस्या खतरनाक र अपरिवर्तनीय नहोस ।

मुलुकको परिप्रेक्ष्यमा मृगौला रोगको प्रारम्भिक चरणमा यसको लक्षण नदेखिनु समेत यो रोगको फैलावमा महत्त्वपूर्ण भूमिका खेलिरहेको डा. श्रेष्ठ औंल्याउँछन् ।

थलिएपछि स्वास्थ्य सेवा लिने प्रवृत्ति
‘मृगौला रोगको प्रारम्भमा जटिल लक्षण नदेखिँदा यसको परीक्षणमा चासो नदिने,’ त्रिवि शिक्षण अस्पताल, नेफ्रोलजी तथा प्रत्यारोपण चिकित्सा विभाग प्रमुख एवं मृगौला रोग र प्रत्यारोपण विशेषज्ञ प्रा. डा. दिव्यासिंह शाह भन्छिन्, ‘एकदम गाह्रो नपरेसम्म हामी डाक्टर कहाँ जाँदैनौं यही प्रवृत्तिले मृगौलाको समस्या समयमै पहिचान हुनसकेको छैन ।’

मृगौला रोगलाई सुरुको अवस्थादेखि नै रोकथाममा विशेष ध्यान दिनुपर्ने भन्दै मृगौला फेल भइसकेपछि गरिने उपचार खर्चको दाँजोमा एक प्रतिशत रकम मात्र रोकथाममा लगाए यसले धेरै फाइदा पुग्ने उनी बताउँछिन् । ‘सरकार मृगौला रोगको उपचारमा केन्द्रित भए पनि मृगौला जोगाउन प्रोत्साहन, समयमै रोग पत्ता लगाउने सहज व्यवस्थामा चुकेकाले यो रोग मुलुकमा बढदो अवस्थामा छ’, राष्ट्रिय मिर्गौला उपचार केन्द्रका निर्देशक प्रा. डा. ऋषि काफले भन्छन्, ‘रोगीको संख्या बढ्दा रोग लाग्न दिनबाट बचाउनका लागि सरकारी, सामाजिक प्रयास अझ बढ्नुपर्छ ।’

तीन दशक नाघेका सबै स्वस्थ व्यक्तिले वर्षमा एक पटक रक्तचाप, सुगर र पिसाबको परीक्षण गराउनुपर्छ । रगतमा क्रिएटिनिनको पनि परीक्षण गराउन सकिन्छ तर यो देखिन थाल्दा मृगौला धेरै बिग्रिसकेको हुन्छ । यी सामान्य परीक्षण गराउँदा नै सरदर करिब ९५ प्रतिशत रोग पत्ता लगाउन सकिन्छ ।

सरकारी तथ्यांकअनुसार हाल मुलुकमा मृगौला फेल भएर ४ हजार ५ सय जनाले निःशुल्क डायलासिस गराइरहेका छन । यही तथ्यांकले मुलुकमा हालदेखि राखिएको मृगौलाको समस्यातर्फ स्पष्टसंकेत गर्छ ।

उच्च रक्तचाप र मधुमेहले समस्या
नेपालमा मृगौलाको समस्याका लागि मधुमेह र उच्च रक्तचाप एउटा प्रमुख कारकका रूपमा देखिएको छ । पहिला मृगौला फेल गराउने कारण ग्लोमेरोनेफ्राइटिस र संक्रमण थियो । पश्चिमा देशमा भने मृगौला फेल गराउने मुख्य कारण मधुमेह र उच्च रक्तचाप थियो ।

हालका केही वर्षदेखि मुलुकमा मधुमेह, उच्च रक्तचापका रोगी बढेको औंल्याउँदै डा. शाह भन्छिन्, ‘हाम्रोतिर मधुमेह पहिले ५० वर्ष पछि देखिन्थ्यो हाल ३०/४० वर्षमै पनि देखिन थालेको छ भने वयस्क र युवामा समेत उच्च रक्तचाप देखिन थालेको छ ।’

मधुमेहको समयमै रोग पहिचान र नियन्त्रण नहुँदा अन्ततः मृगौला र आँखामा समस्या देखिने बताउँदै उनी भन्छिन, ‘मृगौला बिगार्नेमा मधुमेहको समस्या पहिलो नम्बरमा रहेको छ ।’

अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ डाइबिटिज एन्ड डाइजेस्टिभ एन्ड किडनी डिजिज (एनआइडिडिके) का अनुसार मधुमेह, उच्च रक्तचाप, मुटु रोग र मृगौला फेल हुने पारिवारिक इतिहास भएकालाई मृगौला रोग हुने सम्भावना हुन्छ ।

मधुमेह र उच्च रक्तचाप भएकाहरूले समयमै रोग पहिचान गरेर उचित औषधि सेवन गर्दै यो समस्यालाई नियन्त्रणमा राखे मृगौला बिग्रिने सम्भावना कम हुन्छ ।

मदिरा घातक
मदिराको अत्यधिक सेवनले मृगौला बिगार्ने काम गर्छ । पछिल्ला दिनमा मदिरा बनाउन उपयोग गरिने वस्तुले पनि यसमा झन् जटिलता ल्याएको छ । ‘युरिया’ मललगायतका अन्य रसायनबाट उत्पादित मदिराले यसमा झन बिकराल समस्या ल्याएका छन् ।

‘घरेलु मदिरा बनाउन पहिले परम्परागत विधिअनुसार मर्चाको उपयोग गरिए पनि हाल छिटै रक्सी बनाउन युरिया मलको उपयोग गर्दा समस्या बढ्दो छ,’ काफले भन्छन्, ‘विशेष अध्ययन नभए पनि मदिरा बनाउन युरिया मलको अत्यधिक प्रयोगले यसका उपभोक्तालाई छोटो समयमै मृगौला रोगी बनाउँदै छ ।’ मदिरा सेवन मृगौलाको स्वास्थ्यका लागि घातक मानिन्छ । तर, परम्परागत मर्चा हालेर बनाइने मदिरा तलनात्मक रूपमा कम घातक देखिएको उनी औंल्याउँछन ।

मदिरामा युरिया मलको प्रयोगमा प्रतिबन्ध लगाउनु पर्ने औंल्याउँदै काफले भन्छन्, ‘हामीले दिनहुँ जाच्ने मृगौला रोगीमध्ये धेरैले यस्तो मदिरा सेवन गरेपछि मृगौलाको समस्या भएको पाउने गरेका छौं ।’

डाक्टरी सल्लाहबिना पेन किलर
मृगौला रोगको समस्या बढनुमा चिकित्सकीय सल्लाहबिना आफू खुसी दुखाइ नाशक औषधि (पेन किलर) खाने पनि एक हो । दुखाइ रोकन र ज्वरो हटाउन उपयोग गरिने औषधिको उपयोग गर्दा विचार पुर्‍याउनु पर्छ । दुखाइ नाशकको साइड इफेक्ट मृगौला र कलेजो सँग जोडिएर आउँछ । आइब्यूप्रोफेन, किटोप्रुफेन, डाइक्लोफेनाक सोडियम, निमेसुलाइड लगायतका दुखाइ नाशक औषधि चिकत्सकीय सल्लाहबिना खानु हुँदैन ।

मृगौला के हो ?
मृगौला हाम्रो मुठ्ठी आकारको एउटा अंग हो । वयस्क व्यक्तिको मृगौला करिब १ सय ४२ ग्रामको हुन्छ भने यसको लम्वाइ करिव १२ सेन्टिमिटर सम्म हुन्छ ।

प्रत्येक मृगौला भित्र नेफ्रोन्स भनिने करिब १० लाख ससाना संरचना हुन्छन् । प्रत्येक नेफ्रोनसको मुख्य दुई खण्ड हुन्छन् । पहिलो ग्लोमेरुल्स र अर्को टयुव्युल्स । यसमा ग्लोमेरुल्स (रक्तवाहिनीको झुप्पो) छान्नेको काम गर्छ भने सर्पाकार टयुब्युल्स ‘आर.ओ.’ को काम गर्छ । जसले घोलिएको अनावश्यक लवणलाई हटाउँछ ।

मृगौलाले रगतलाई शुद्घीकरण अर्थात छान्ने काम गर्छ । यसले हरेक मिनट १.३ लिटर रगत सफा गर्छ । यति मात्र होइन शरीरमा सम्पूर्ण रगतको २५ प्रतिशत मात्रा मुटुबाट मृगौलामा जान्छ ।

एक दिनमा मृगौलाले करिब ४० ग्यालेन अर्थात १ सय ५१ दशमलव ४ लिटर रगत शुद्घीकरण गर्छ । शरीरमा पानी, तरल पदार्थ
खनिज आदिलाई नियन्त्रण गर्छ । पिसाबका रूपमा यसले कामनलाग्ने पदार्थ र अतिरिक्त पानी शरीर बाहिर निकाल्छ ।मृगौलाले आवश्यक पदार्थलाई राखेर अनावश्यक पदार्थ पिसाबद्वारा बाहिर निकाल्छ । शरीरमा भएको करिब ७ लिटर पानीको दिनहु करिव चार सय पटक छान्ने काम र सफाइ हुन्छ ।

धेरै जसो मृगौला रोग नेफ्रोनमा आक्रमण गर्छ । यसले गर्दा हुने क्षतिले मृगौलालाई कामनलाग्ने पदार्थ छान्ने क्षमता प्रभावित गर्छ । यसको कारण वंशानुगत समस्या, चोटपटक वा औषधि आदि हुन सक्छ ।शरीरमा रक्तचापमा कमी आउँदा मृगौलाले रगतको नलीलाइ खुम्चिन संकेत गर्छ । एउटा मृगौला यदि ७५ प्रतिशत ठिक छ भने पनि व्यक्ति स्वस्थ जीवन याफन गर्न सक्छ ।
atulmishra7@gmail.com

प्रकाशित : चैत्र २, २०७५ ०८:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT