कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

घाँस–दाउरा गर्न तिरो भारतलाई

मोहना नदीपारिका १ सय ८० परिवारले हरेक वर्ष नगद र जिन्सी भारतीय निकुञ्ज प्रशासनलाई बुझाउँछन् । त्यसबापत उनीहरुले निकुञ्ज छेउको जंगलबाट घाँस, दाउरा बटुल्न र बाख्रा चराउन पाउँछन् । 
मोहन बुढाऐर

हसुलिया, कैलाली — उनीहरू नेपालकै बासिन्दा हुन् । सरकारी काम परे गाउँपालिकामै पुग्नुपर्छ । तर उनीहरूले बर्सेनि भारतीय प्रशासनलाई बर्सेनि तिरो तिर्छन् । तिरोमा नगद र जिन्सी दुवै पर्छन् । 

घाँस–दाउरा गर्न तिरो भारतलाई

नेपाल–भारतको सीमा नदी मोहनापारि भारतको दुदुवा राष्ट्रिय निकुञ्जसँग जोडिएका कैलारी गाउँपालिका–३ का मोहनपुर र शिवरत्नपुर तथा ७ को हौसलपुरका बासिन्दाले हरेक माघ १ मा निकुञ्ज प्रशासनलाई वार्षिक तिरो तिर्छन् । मोहनपुरका ६१ घरपरिवारले चन्दन चौकी वन पोस्टमा १० किलो चामल र ५ किलो हल्दी बुझाउने गरेका छन् ।


शिवरत्नपुरका ८४ घरपरिवारले वार्षिक प्रतिघर ३ सय रुपैयाँ निकुञ्ज प्रशासनलाई बुझाउँछन् । हौसलपुरका ३५ परिवारले ४

पसेरी (१० किलो) चामल निकुञ्जलाई दिँदै आएका छन् । ‘तिरो बुझाएबापत निकुञ्ज छेउको जंगलबाट घाँस, दाउरा बटुल्ने र बाख्रा चराउने सुविधा पाएका छौं,’ शिवरत्नपुरका रूपलाल चौधरीले भने ।


स्थानीय फूलराम चौधरीले वार्षिक तिरो तिरेर निकुञ्ज प्रशासनलाई खुसी पार्नु आफूहरूको बाध्यता भएको बताए । ‘निकुञ्जबाट घाँस–दाउरा र गाईगोरु चराउने सुविधा लिन पाइन्छ,’ उनले भने, ‘बस्तीको सुरक्षाका लागि पनि तिरो तिर्न बाध्य छौं ।’


चौधरीका अनुसार गाउँको सामाजिक सुरक्षा निकुञ्जका वनकर्मी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) मा निर्भर छ । ‘सम्बन्ध कुनै कारणले चिसियो भने भारतीय पक्षको घेराबन्दीमा पर्नुपर्छ,’ उनले भने, ‘उनीहरूको बाटो, जंगल प्रयोग गर्न नपाए घेराबन्दीमा पर्छौं ।’ स्थानीय बासिन्दाले रोजगारी र रासनपानीका लागि समेत दिनहुँ भारतको चन्दनचौकी बजार पुग्नुपर्छ । ‘दुदुवाको जंगल भएर चन्दन चौकी जाने बाटो वनकर्मी र एसएसबीले छेक्लान् भन्ने डर हुन्छ,’ उनले भने । कहिलेकाहीं भारतीय डाँका गाउँ पस्छन् ।


डाँकाबाट बच्न पनि भारतीय सुरक्षाकर्मीलाई गुहार्नुपर्छ । ‘भारतीय वनकर्मीलाई बुझाउँदै आएको वार्षिक करको रीति तोडिए वा विरोध गरे जंगलबाट पाउँदै आएको सुविधा मात्र खोसिँदैन, गाउँकै सुरक्षाको चिन्ता हुन्छ,’ एक स्थानीयले भने ।


वर्षाका बेला गाउँवासीलाई बाढीको समस्याले पनि पिरोल्छ । मोहना नदीमा पक्की पुल नहुँदा बर्खामा नेपाल आउजाउ गर्न सक्दैनन् । नदीको बाढी गाउँमा पस्दा त्यही निकुञ्जभित्र पस्नुपर्ने बाध्यता छ । आदिवासी थारूका यी बस्तीलाई मोहनाले नागबेलीझैं तीनतिरबाट घुमेर नेपालको भूमिबाट अलग्याएको छ । उनीहरूसँग आफ्नो जग्गाको लालपुर्जासमेत छैन ।


रातको समयमा गाउँमा कोही बिरामी भए उपचारका लागि पारिकै भर पर्नुको विकल्प छैन । दुदुवाबाट हात्तीको लस्कर बस्तीमा पस्दा भगाउन भारतीय वनकर्मीलाई नै गुहार लगाउनुपर्छ ।


मोहनपुरका भलमन्सा (थारू अगुवा) भागिराम चौधरी भन्छन्, ‘आफ्नै देशका सुरक्षाकर्मी उद्धार गर्न आउँदैनन् । एसएसबीले उद्धार गरिदिन्छन् । दुदुवाका वन रक्षक र एसएसबीसँग निहुँ खोज्न उचित हुदैन ।’ उनले वर्षको एकपटक स्थानीय खुसी भएर वन विभागका कर्मचारीलाई आन्तरिक उत्पादन चामल, साग, तरकारी र बेसारलगायत खाद्यान्न राजीखुसीले बुझाउने गरेको बताए । यसलाई अन्यथा लिन नहुने उनको भनाइ छ । मोहनपुरका अर्का अगुवा विमल चौधरीले भन्छन्, ‘निहुँ खोज्यो भने कुनै वनपैदावर चोरीको आरोपमा जिन्दगीभर जेलमा सडाउलान् भन्ने डर लाग्छ ।’ उनका अनुसार एसएसबी कहिले गाउँभित्रै पस्छन् । कसैलाई गाली गर्छन्, कसैलाई माया पनि गरेजस्तो गर्छन् । सागपात लिएर जान्छन् ।


वडा सदस्य पार्वती विकले मोहनपुर र शिवरत्नपुरको समस्या सम्बोधन गर्न सजिलो नभएको बताइन् । ‘मोहना नदीमा पुल नबनेसम्म यहाँका बासिन्दाको भारत निर्भर जिन्दगीबाट मुक्ति मिल्दैन,’ उनले भनिन् । उनले वडा तथा गाउँपालिकाको विकासका गतिविधि जोड्न मोहना नदी बाधक भएको बताइन् । ‘मोहनपुर र शिवरत्नपुरमा राज्यको विकासको पूर्वाधारमा एउटा प्राथमिक विद्यालयबाहेक केही छैन,’ उनले भनिन्, ‘यहाँका नेपालीले राज्यको कुनै सेवा पाएका छैनन् ।’


गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले भौगोलिक हिसाबले टापुका रूपमा रहेको ऊक्त बस्तीमा विकासका कार्यत्रम लैजान सजिलो नभएको बताए । उनले मोहना नदीमा झोलुंगे पुल निर्माणको पहल भइरहेको सुनाए । बस्तीमा विद्युत् पुर्‍याउने काम पनि सुरु भएको जानकारी दिए । ‘त्यो भारतको दुदुवा राष्ट्रिय निकुञ्जसँंग सटेको र लालपुर्जाविहीन ऐलानी आवादीमा बसेको बस्ती हो,’ उनले भने, ‘सुरक्षाका लागि प्रहरी चौकीको प्रस्ताव गर्न गाह्रो छ ।’


'भोट बैंक मात्रै भयौं’

मोहनापुरमा २०५२ मा खुलेको एउटा प्राथमिक विद्यालय मात्र छ । बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सुरक्षा पोस्ट केही छैन । स्थानीय कुलप्रसाद चौधरीले आफ्नो गाउँ नेताको भोट बैंक मात्र भएको बताए । उनले तीनतिरबाट नदीले घेरेकाले झोलुंगे पुल बने मात्र बस्ती नेपालसँग जोडिन सक्ने बताए ।


मोहनापुरका सेन्धु चौधरीका अनुसार ०४९ को स्थानीय निर्वाचनमा यहाँका बासिन्दाले पहिलो पटक भोट हालेका थिए । ‘तत्कालीन हसुलिया गाविस ४ अन्तर्गत यो गाउँ परेको थियो,’ उनी सुनाए, ‘पहिलो पटक वडाध्यक्ष उम्मेदवार भोट बैंक बनाउन सरकारी कर्मचारी लिएर मतदाता नामावली संकलन गर्न आएका थिए । केही समयपछि भएको निर्वाचनमा यहाँका ५०/६० जनाले भोट हाले ।’ उनका अनुसार धेरैको नागरिकता त्यसपछि बनेको हो ।


कमैयाको कथा

४० को दशकअघिसम्म नेपालको आवादी नक्सामा जंगल थियो । मोहनपुरका भलमन्सा भागिरामले सुरुमा ०३३ सालतिर आफ्ना बाजे यहाँ आएर बसेको बताए । उनका अनुसार मोहनपुर भगौडा कमैयाको बस्ती हो । जमिन्दारले दिने कष्ट सहन नसकेर उनका बाजे विद्रोह गरेर यहाँ आएर लुकेका थिए ।


‘जमिनदारको घरबाट ४ छोरा र श्रीमती लिएर बाजे सीमावर्ती भारतीय बजार चन्दन चौकी आए । त्यहाँ पनि जमिनदारले समातेर लैजान सक्ने डर थियो । दिनभर उतै रोजगारी गरेर परिवारलाई चारो खोजे पनि बस्ने सुरक्षित, एकान्त, कसैले नदेख्ने ठाउँ खोज्दा यो ठाउँ फेला पर्‍यो,’ भागिरामले सुनाए । वरपर जंगल, तीनतिरबाट नदीले घरेको फाँटमा लुक्न सजिलो थियो । सितिमिति नयाँ मानिस पस्न नसक्ने भएकाले छाप्रो बनाएर उनका बाजेले बस्ती बसालेका थिए ।


‘जमिनदारको अन्यायले आजित भएका कमैयालाई बाजेले समेत भाग्न उक्साए,’ उनी भन्छन्, ‘एकपछि अर्को गर्दै कमैयाको २०/२५ जनाको परिवार बस्न थाल्यो ।’ अहिले मोहनपुरमा ८१ घर परिवार छन् । ०४२/४३ तिर यो ठाउँ आवादीमा परेको थियो । भगौडा कमैया भएकाले नेपालतिर भन्दा काम र रासनपानीका लागि सुरुदेिख भारतसँग सम्बन्ध रह्न पुग्यो,’ भलमन्सा भागिराम भन्छन् ।

प्रकाशित : चैत्र ३, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?