३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

शिविरमा नागरिकता लिनेको भीड

गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा भएको शिविरमा नागरिकता, फोटोसहितको मतदाता नामावली, अपांगता परिचय पत्र, घरेलु उद्योग दर्ता, स्वास्थ्य उपचारलगायत सेवाबाट स्थानीय लाभान्वित
भीमबहादुर सिंह

जाजरकोट — बारेकोट गाउँपालिकाको केन्द्र लिम्सामा नागरिकता लिनेको भीड लागेको छ । बारेकोटमा बुधबारदेखि सञ्चालित घुम्ती शिविरमा नागरिकताको प्रमाणपत्र लिन स्थानीयको भीड लागेको हो ।

शिविरमा नागरिकता लिनेको भीड

शिविरमा शनिवारसम्म बारेकोटका ८ सय सर्वसाधारणले नागरिकता लिइसकेका छन् । दुर्गम गाउँको घरदैलोमै नागरकिताको प्रमाणपत्र पाउँदा स्थानीय बासिन्दासमेत खुसी छन् । बारेकोटवासीको दुई दिन पैदल हिडेर सदरमुकाम खलंगा पुगेर नागरिकता बनाउनुपर्ने बाध्यतालाई मध्यनजर गरी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा एकीकृत घुम्ती शिविर सञ्चालन भएको हो ।


शिविरमा नागरिकता, फोटो सहितको मतदाता नामावली, अपांगता परिचय पत्र, घरेलु उद्योग दर्ता, स्वास्थ्य उपचारलगायत सेवाबाट स्थानीय लाभान्वित भएका छन् । दुर्गम गाउँमा पहिलो पटक डिजिटल प्रविधिबाट शिविरमा नागरिकता वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले बताए । एक सातासम्म सञ्चालन हुने शिविरमा सबैभन्दा बढी नागरिकता लिनेको भीड लागेको खतिवडाले जनाए । उनका अनुसार नागरिकता लिनका लागि शुक्रबारसम्म दुई हजार स्थानीय शिविरस्थलमा आइपुगेका छन् ।


बारेकोट ३, पहाडामुलसामकी ७५ वर्षीया मन्दरा कामीले घरछेउमै नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने अवसर पाएको बताइन् । जीवनको उत्तरार्धमा घर नजिकै नागरिकता पाउँदा खुसीले गद्गद् भएको मन्दराले बताइन् । ‘खलंगास्थित जिल्ला प्रशासन कार्यालयमा पुग्न तीन दिन हिँड्नुपर्ने बाध्यता छ, हिँडेर जान नसक्ने, बोकेर लैजाने कोही नहुँदा नागरिकता पाउन सकेकी थिइनँ,’ उनले भनिन्, ‘नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता, मतदानको अधिकार लगायतबाट वञ्चित हुँदै आइरहेकी थिएँ ।’ दुर्गमका जनतालाई घर आँगनमै सरकारी सेवा प्रवाह गर्ने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।


उनका अनुसार शिविरमा जनतालाई पायक पर्ने गरी १, २, ३, ४, ५ र ६ वडाका बासिन्दाको लागि गाउँपालिका केन्द्रबाट सेवा दिने व्यवस्था मिलाइएको छ । वडा नं ७, ८ र ९ का बासिन्दाका लागि ८ नं. वडा कार्यालय सेपुखोलाबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । गाउँपालिकाका अनुसार बारेकोटमा करिब ५ हजार स्थानीयवासी नागरिकताबाट वञ्चित छन् ।


पाठेघर खस्ने समस्याका बिरामी बढी

बारेकोट गाउँपालिकाका अधिकांश महिलाहरूमा पाठेघर खस्ने समस्या रहेको पाइएको छ । एकीकृत घुम्ती कार्यक्रमअर्न्तगत स्वास्थ्य शिविरमा आएका ४० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या देखिएको छ ।


उपचारमा संलग्न डा.अमिन शाहले महिलाहरूमा आङ खस्ने, सेतोपानी बग्ने, क्यास्टोसेल तथा पोलिपिसलगायत समस्या बढी देखिएको बताए । स्वास्थ्य परीक्षण गरेका महिलालाई रिङप्रेसरी राख्न र पाठेघरको शल्यक्रिया गर्न रिफर गरिएको उनको भनाइ छ । उमेर नपुग्दै बिहे गर्नु, गर्भवती तथा सुत्केरी भएको बेला गह्रौं भारी बोक्नु, सरसफाइमा ध्यान नदिनु, धेरै सन्तान जन्माउनुलगायत कारण पाठेघर खस्ने समस्या बढी देखिएको उनले जनाए ।


गाउँपालिकाको स्वास्थ्य तथा सरसफाइ उपशाखा प्रमुख वीरराज सिंहले गरिबी तथा जनचेतनाको अभावका कारण पनि अधिकांश महिला पाठेघर खस्ने समस्याबाट पीडित बनेको बताए । पाठेघर खस्ने समस्या स्वास्थ्य समस्या मात्र नभएर सामाजिक समस्याको रूपमा देखिन थालेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र ३, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?