२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

त्रिभुवन विमानस्थल : साढे २ अर्ब असुल्न बाँकी

सुरज कुँवर

काठमाडौँ — त्रिभुवन विमानस्थल कार्यालयले बन्द भइसकेका एयरलाइन्स, संस्था, सरकारी निकाय तथा व्यापारीबाट करिब साढे २ अर्ब रुपैयाँ असुल्न बाँकी रहेको देखिएको छ । यस्ता २ सय १० वटा संस्थाबाट २ अर्ब ४७ करोड ९३ लाख असुल्न बाँकी रहेको विमानस्थलले जनाएको छ । यो रकम गत पुस मसान्तसम्मको हो । 

त्रिभुवन विमानस्थल : साढे २ अर्ब असुल्न बाँकी

विमानस्थलको कर्पोरेट महाशाखाका उपप्रबन्धक हेमप्रसाद दाहालका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलभित्र तथा बाहिर गरी ४२ व्यापारिक संस्था तथा ठेकेदार कम्पनीले पसललगायत व्यापारिक प्रयोजनका लागि स्थान भाडामा लिएका छन् । यीमध्ये २० वटाले काठमाडौं र पाटन उच्च अदालतमा मुद्दा दायर गर्दै अन्तरिम आदेशको लाभ उठाउँदै आइरहेका छन् ।


सम्झौता अवधि सकिए पनि उनीहरूले १० वर्षदेखि व्यापार गर्दै आइरहेका छन् । सबभन्दा पुरानो मुद्दा मदिराको ड्युटी फ्री पसल सञ्चालन गर्ने प्रमोदशमशेर राणाको छ । २०६५ सालमा म्याद सकिएको उनको संस्था युनिभर्सल सप्लाई एजेन्सीलाई तत्कालीन सञ्चालक समितिले सेवाशुल्क नियमावलीमा भएको छिद्रमा टेक्दै अदालतकै आदेशका भरमा १० वर्ष समय थपेको थियो ।


सम्झौता अवधि सकिइसके पनि यस संस्थाले अहिले सर्वोच्च अदालतमा निवेदन हालेको छ । युनिभर्सलबाट विमानस्थलले ८ करोड ७२ लाख रुपैयाँ भाडा असुलउपर गर्नुपर्ने देखिन्छ । राणाकै अर्को ड्युटी फ्री शप ग्रिनलाइन इन्टरनेश्सनल प्रालिको पनि सम्झौता ०६५ मै सकिइसकेको थियो । तर यो फर्मले पनि १० वर्ष समय थप्दै फेरि काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ ।


ग्रिनलाइनबाट मात्रै विमानस्थलले १ करोड ७८ लाख असुल्न बाँकी देखिन्छ । यी दुवै संस्थाबाट विमानस्थलले उठाउनुपर्ने बक्यौता १० करोड ५० लाख पुगिसकेको छ । तर, रकम नतिरेका राणा सम्पर्कविहीन छन् । अहिले विमानस्थलले दुवै पसल नियन्त्रणमा लिएको छ । ‘पत्रिकामा सूचना निकाल्यौं । राणालाई खोज्यौं । पत्र पठाउन घर खोज्यौं तर न त मान्छे भेटिए, न ठेगाना,’ विमानस्थलका एक अधिकारीले भने । अब विमानस्थलले राणाका दुवै पसलमा रहेका मदिरा लिलाम गर्ने प्रक्रिया थालेको छ । तर, उनले बुझाउनुपर्ने रकम १० करोडभन्दा बढी छ । पसलमा भने २५ लाख हाराहारीको मात्रै मदिरा छ ।


विमानस्थल व्यवस्थापनले पनि नागरिक उड्डयन प्राधिकरणको आर्थिक विनियमावलीको छिद्रमा टेक्दै केही व्यापारीले पसल सञ्चालन गर्दै आएको जनाएको छ । संघीय संसद्को सार्वजनिक लेखा समितिमा आइतबार उपस्थित विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले धेरै पहिलेदेखि नै अदालत जाने र विचाराधीन मुद्दामा लाभ उठाउने प्रवृत्ति रहेको बताए ।


‘म विमानस्थलमा जानुअघि धेरै थियो,’ क्षेत्रीले भने, ‘विगतमा के भयो त्यतातिर जान चाहन्न, अहिले दायरामा ल्याउँदै छौं ।’ यस्तै, सागर पाण्डे र कृष्णबहादुर भारतीको संयुक्त नाममा रहेको कृष्ण ट्रान्सपोर्टले सञ्चालन गरेको प्रिपेड ट्याक्सी भाडाबापत विमानस्थलले १ करोड ४६ लाख लिन बाँकी छ ।


विमानस्थलमा पार्किङको ठेक्का लिने दिनेश प्रेम इन्टरनेसनल कम्पनीबाट १ करोड ८० लाख उठाउनुपर्ने देखिन्छ । विमानस्थलले तीन पटक ठेक्का आहवान गर्दा पनि कुनै बोलपत्र नपरेपछि ०७१ मा यो कम्पनीलाई चार वर्षका लागि ठेक्का दिइएको थियो ।

प्रकाशित : चैत्र ४, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?