२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘हिंसा छाडे मात्र चन्दसँग वार्ता’

लीलाबल्लभ घिमिरे

विराटनगर — प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द समूहसँग तत्काल वार्ता नहुने बताएका छन् । नेकपा प्रदेश १ कमिटीका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रममा आइतबार उनले वार्ताका लागि हतियार बुझाएर हिंसा छाड्नुपर्ने बताए । ‘चन्द समूहले हतियार बुझाएर हिंसा छाडेपछि मात्र वार्ता हुन्छ, यसो गर्दा कसैको टाउको दुख्छ भने दुखोस्,’ उनले भने । 

‘हिंसा छाडे मात्र चन्दसँग वार्ता’

प्रधानमन्त्री ओलीले चन्द समूहको नेताहरूको हत्यासम्म गर्ने योजना रहेको कार्यकर्तालाई सुनाएका थिए । ‘लुटपाट मच्चाउने र महत्त्वपूर्ण नेताहरूको हत्यासम्म गर्ने योजना बनाउनेसँग कसरी वार्ता हुन्छ, यी सबै काम रोक्न प्रतिबन्ध लगाउनुपरेको हो,’ उनले भने, ‘संविधान र कानुनविपरीत लुटपाट, आतंक र विध्वंस गर्न पाइँदैन । सरकार ठट्टा गरिरहेको छैन, जोसुकैले रुवाबासी गरे पनि सरकारले यस्ता कुरा निषेध मात्र होइन नियन्त्रण गर्छ ।’


यसअघि संवाददाताहरूसँग प्रधानमन्त्री ओलीले चन्द समूहका गतिविधिमा लगाइएको प्रतिबन्धलाई लिएर रुवाबासी नगर्न प्रतिपक्षी दललाई आग्रह गरेका थिए । ‘यो कुन दर्ता भएको पार्टीलाई प्रतिबन्ध लगाएको हो र ?’ उनले भने, ‘बम पडकाउने, जन्तीका बसमा आगो लगाउने, धम्काउने, चन्दा उठाउने कामलाई प्रतिबन्ध लगाइएको हो । यसमा आफूलाई लोकतान्त्रिक पार्टी र नेताहरू भन्नेको रुवाबासी किन ?’


चन्द समूहलाई अनधिकृत झुन्डको संज्ञा दिएका प्रधानमन्त्री ओलीले प्रतिबन्ध पार्टीमा नभई अराजकतावादमा मात्र लगाइएको बताए । ‘नेकपा विप्लव समूह एउटा झुन्ड हो । पहिला कोब्रा, टाइगर समूह हुन्थे, त्यस्तै समूह हो,’ उनले भने ।


प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद्मा हेरफेर नहुने बताएका छन् । ‘मन्त्रालय खाली छ अपूर्णतामा पूर्णता गर्ने एउटा कुरा हो । मन्त्रिपरिषद् हेरफेरको योजना छैन,’ उनले भने, ‘खाली रहेको मन्त्रालयमा उपयुक्त समयमा पूरा हुन्छ ।’


दुई पार्टी एकीकरणपछि पहिलो पटक नेकपाको प्रदेश कमिटी बनेको हो । २०७ जना सदस्य रहेको उक्त कमिटीका पदाधिकारी तथा सदस्यलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको उपस्थितिमा महासचिव विष्णु पौडेलले पद तथा गोपनीयताको शपथ

गराएका थिए ।


नेकपाको प्रथम प्रदेश कमिटीको पूर्ण बैठकमा बोल्ने क्रममा धेरै समय प्रदेश १ को भौगोलिक आर्थिक अवस्था व्याख्या गरेका अध्यक्ष ओलीले आफ्नो इमानदारितामा कसैले दाग लगाउन नसक्ने दाबी गरे । ‘मेरो इमानदारितामा अलि कति पनि दाग देखाउन म चुनौती दिन्छु,’ उनले भने, ‘नचाहिने सानातिना हावादारी कुरा गर्ने ? होली वाइन खायो, कोनि के गर्‍यो भन्ने ? यस्ता हावादारी कुराका पछि नलगाग्नुहोस् र नगर्नुहोस् पनि ।’


सरकारले धेरै महत्त्वपूर्ण काम गरे पनि जनतामा पुग्न नसकेको उनको भनाइ थियो । ‘हामीले निकै महत्त्वपूर्ण काम गरेका छौं । देशै टुक्र्याउँछौं भन्ने पृथकतावादी शक्ति (सीके राउत) लाई मूलधारको राजनीतिमा ल्याएका छौं,’ उनले भने, ‘यस्तो हुँदा त देशैभर दीपावली हुनुपर्ने हो । यो सानो लडाइँ जितेको होइन ।’

प्रकाशित : चैत्र ४, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?