कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चन्दका आँखा पूर्वलडाकुमा

१० वर्षे सशस्त्र युद्धपछि सुरू भएको शान्ति प्रक्रियासँगै ३२ हजार २ सय ५० लडाकु शिविरमा भित्रिएका थिए । अनमिनको प्रमाणीकरणपछि बहिर्गमनमा परेकाको संख्या ४ हजार ८ थियो । राजनीतिक र सैन्य रुपमा प्रशिक्षित यी लडाकुलाई लोभ्याउन चन्द समूह प्रयासरत छ ।
कलेन्द्र सेजुवाल

सुर्खेत — २०६६ पुस १ गते ‘अयोग्य’ लडाकुको बहिर्गमनसम्बन्धी कार्ययोजनामा हस्ताक्षर भयो । कार्ययोजनामा संयुक्त राष्ट्रसंघको नेतृत्वमा एक टोली गठन गर्ने र सोही टोलीलाई उनीहरू फेरि हिंसा वा आपराधिक गतिविधिमा संलग्न नहोउन् भन्ने यकिन गर्न जिम्मेवारी दिने उल्लेख गरियो । तर त्यसअनुसार कुनै काम भएन ।

चन्दका आँखा पूर्वलडाकुमा

अयोग्य लडाकुहरू बहिर्गमनमा परेको दशक बित्नै लाग्दा नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले आफ्ना गतिविधिलाई भूमिगत ढंगमा अघि बढाएपछि कार्ययोजनाको उक्त बुँदाले सरोकारवालालाई झस्काएको छ । ‘राज्यले आफूहरूलाई बेवास्ता गरेको उनीहरूको गुनासो छ,’ कर्णाली प्रदेशसभा सदस्य रहेका तत्कालीन माओवादी सेनाका कमान्डर ठम्मर विष्ट भन्छन्, ‘उनीहरू गए भने चन्द समूहलाई ठूलो मलजल हुनसक्छ ।’

संयुक्त राष्ट्रसंघीय नेपाल मिसन (अनमिन) को प्रमाणीकरणमा अयोग्य भनेर बहिर्गमनमा परेका लडाकुको संख्या ४ हजार ८ जना थियो । उनीहरू उतिबेलै राज्य र तत्कालीन माओवादी नेतृत्वसँग आक्रोशित भएर शिविरबाट निस्केका थिए । राजनीतिक र सैन्य रूपमा समेत प्रशिक्षित यो समूहमाथि अहिले स्वाभाविक रूपमा चन्द नेतृत्वको नेकपाको नजर परेको छ । ‘उहाँहरूले हामीलाई आफूतिर तान्न प्रयास त गरिरहनुभएको छ तर हामी शान्तिपूर्ण आन्दोलनको पक्षमा छौं,’ बहिर्गमित जनमुक्ति सेना नेपालका वरिष्ठ उपाध्यक्ष करण बस्याल भन्छन्, ‘हामी अहिले राजनीतिक रूपमा पनि तटस्थ बसिरहेका छौं ।’

१० वर्षे सशस्त्र युद्धपछि सुरु भएको शान्ति प्रक्रियासँगै ३२ हजार २ सय ५० लडाकु शिविरमा भित्रिएका थिए । अनमिनले भने १९ हजार ६ सय २ लडाकुको प्रमाणीकरण गरेको थियो । माओवादी लडाकुबारे जानकारका अनुसार उनीहरू चार किसिमको प्रक्रियाबाट समाजमा आइपुगेका छन् । पहिलो समूह शान्ति प्रक्रियाप्रति असहमत भएर क्याम्पमै नपसी बाहिरियो । सांसद विष्ट राजनीतिक रूपमा प्रशिक्षित ‘जनसेना’ को एक तिहाइ संख्या यसरी बाहिरिएको बताउँछन् । दोस्रो समूह प्रमाणीकरणमा अयोग्य भएर बाहिरियो । यो सबैभन्दा असन्तुष्ट समूह हो, जसले अहिलेसम्म विभिन्न रूप र नाममा आन्दोलन गरिरहेको छ ।

तेस्रो, स्वैच्छिक अवकाश लिएको समूह । यो समूहका केही सदस्य राजनीतिक रूपमा सक्रिय भए पनि अधिकांश व्यापार–व्यवसाय र वैदेशिक रोजगारमा छन् । तत्कालीन माओवादीको मूल नेतृत्वप्रति असन्तुष्ट उनीहरूको धारणा अहिलेसम्म खासै बदलिएको देखिँदैन । चौथो समूह नेपाली सेनामा समायोजन भएर अहिले निवृत्त भइसकेकाहरूको हो । सेनामा समायोजन भएका १ हजार ४ सय ४४ मध्ये करिब एक हजार जना अवकाश लिएर फर्किसकेको आकलन छ ।

हिजो युद्ध लडेका यी चारथरी पूर्वलडाकुहरू चन्द समूहले आस गरेजस्तो उनको पार्टीमा जालान् त ? सांसद विष्ट यो कुरा राज्यको व्यवहार र काममा निर्भर हुने बताउँछन् । ‘सरकारले लोकप्रिय कार्यक्रमका साथ आफूलाई अघि बढाउँदै जनता र पूर्वलडाकुका माग पूरा गर्‍यो भने फेरि जंगल पस्न सायदै कसैलाई रहर छ,’ सांसद विष्ट भन्छन्, ‘२०५२ सालमा जस्तै युद्धका कमान्डरलाई उन्मुक्ति दिएर जनतामाथि अत्याचार गर्ने, परिवर्तनको आभास दिने गरी कुनै काम नगर्ने हो भने हिजो प्रशिक्षित समूह फेरि मिस युज नहोला भन्न सकिन्न ।’

कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी महेशविक्रम शाह पनि चन्द समूहमा अयोग्य लडाकुको सहभागिता रहेको बताउँछन् । यकिन तथ्यांक नभए पनि हिजोदेखि नै असन्तुष्ट उनीहरू चन्द समूहको गतिविधिमा संलग्न रहेको सूचना आएको उनको भनाइ छ । राज्यले प्रतिबन्धित गरिसकेको अवस्थामा विशेषगरी स्थानीय सरकारको व्यवहारबाट चन्दलाई निस्तेज गर्न सकिने उनले बताए ।

‘स्थानीय तहका जनप्रतिनिधिले आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर जनताको पक्षमा काम गरे र गाउँमै रोजगारी सिर्जना गरे भने कोही पनि प्रतिबन्धित समूहमा जाँदैन,’ उनले भने, ‘गाउँमा भ्रष्टाचार मौलायो, सरकारप्रति जनतामा वितृष्णा जाग्यो भने उक्त समूहलाई मलजल पुग्न सक्छ ।’ यही कुरालाई मध्यनजर गरेर प्रदेश प्रहरीले स्थानीय तहका जनप्रतिनिधिसँग अन्तर्क्रिया थालेको उनले बताए ।

अयोग्य लडाकुले शिविरबाट बाहिरिएको केही वर्षमै बहिर्गमित जनमुक्ति सेना नेपाल नामक संगठन स्थापना गरेका थिए । संगठनका संस्थापक अध्यक्ष सागर लिम्बू अहिले चन्द नेतृत्वको नेकपामा छन् । फछिल्लो घटनाक्रमले बहिर्गमित जनमुत्ति सेनाको संगठनभित्र पनि हलचल मच्चिएको उनीहरूको भनाइबाट स्पष्ट हुन्छ । संगठनका अध्यक्ष असिम लिम्बूलाई थुप्रै पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्भव भएन । आइतबार दिउँसो उनको मोबाइल फोन रिसिभ गर्दै संगठनका सचिव बताउने भीम तामाङले भने, ‘उहाँ अहिले महत्त्वपूर्ण बैठकमा हुनुहुन्छ, पछि फोन गर्नुहोला ।’

यही मौकामा बहिर्गमित जनमुक्ति सेना नेपालले देशव्यापी संगठन विस्तार तीव्र बनाएको छ । सुर्खेतका हरि केसीले चैत अन्तिमसम्म सुर्खेतमा प्रदेशस्तरीय समिति गठन गर्ने तयारी भइरहेको बताए । उनले चन्द नेतृत्वको नेकपासँगको सम्बन्धलाई भने अस्वीकार गरे । ‘हिजो त्यत्रो युद्ध लडियो, आखिर अयोग्य भनेर शिविरबाट निकाले,’ उनले भने, ‘अब फेरि केका लागि युद्ध लड्ने हो र ?’ उनले आफ्ना मागलाई शान्तिपूर्ण रूपमा सरकारसँग राख्ने बताए ।

चन्द नेतृत्वको नेकपा पोलिटब्युरो सदस्य ओमप्रकाश पुन सशस्त्र युद्धकालको ‘जनसेना’ विघटन नभएको र उनीहरू आफ्नो पार्टीमै रहेको बताउँछन् । ‘प्रचण्ड र बाबुरामजीले शान्ति प्रक्रियाको नाममा विघटन गर्नुभयो, हामीले भने उतिबेलै तुरुन्तै पुनर्गठन गर्‍यौं,’ उनले भने, ‘अहिले जनसेनाको ठूलो शक्ति हामीसँग छ, यसलाई अझै संगठिन गरिरहेका छौं ।’ पछिल्लो घटनाक्रमपछि आफ्नो पार्टीमा आउन चाहनेको संख्या अझ बढिरहेको उनले बताए ।

प्रकाशित : चैत्र ४, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?