‘जे–जे भयो, मेलमिलाप गर्नुपर्छ’

कैलाली — जिल्ला अदालत कैलालीले केही दिनअघि टीकापुर घटना मुद्दामा फैसला सुनायो । फैसलापछि कैलालीको भजनी ८, थापापुरका नरुल अलि जागाले सफाइ पाएर घर फर्किए । ३ वर्षपछि पारिवारिक पुनर्मिलन भयो तर उनको खुसीले गाउँ छिमेकमा भने कुनै उत्साह देखिएन ।

‘जे–जे भयो, मेलमिलाप गर्नुपर्छ’

टीकापुर घटनामा परेका थापापुरका ७ जनामध्ये नरुल अलिले सफाइ पाएका हुन् । ३ जनाले ३ वर्ष कैद सजाय पुर्पक्षमा बन्दी जीवन बिताएर अदालतको आदेशमा मुक्त भए तर रेशम चौधरीसँगै अन्य ३ जनालाई भने आजीवन कारावासको सजाय सुनाइएकामा गाउँलेको दुखेसो घटेन । अब गाउँलेले पुनरावेदनबाट उनीहरूको रिहाको आशा गरेका छन् ।

‘जेलबाट मुक्त भएका नरुल र कैद सजाय भोगेर आएका अरू तीनको परिवारमा घरका सदस्यको मिलनले खुसी छाउनु स्वाभाविक हो,’ स्थानीय सुखीराम चौधरीले भने, ‘आजीवन कैद सजाय सुनाइएकाहरूका परिवारले अझै बाटो हेर्न छाडेका छैनन् ।’ उनका अनुसार टीकापुरबाट करिब १३ किमि दूरीमा रहेको गाउँ थापापुरका बासिन्दा निर्दोष छन् । घटनामा मुछिएका ५८ मध्ये यहाँबाट ७ जना पक्राउ परेका थिए । केही अझै फरार अपराधीको सूचीमा छन् ।


३ वर्ष कैद सजाय खेपेका थापापुरका सन्तराम, किसन र जितबहादुर चौधरीका परिवारमा खुसी छाएको छ । पूर्ण सफाइ पाउने आस बोके पनि पुर्पक्षको थुनालाई कैद सजाय मानेर अदालतले खुला अकाशमा उड्ने मौका दिएकामा परिवारमा खुसी छ । त्यसैले उनीहरू अदालतको सम्मान गरिरहेका छन् । उनीहरूसँगै आन्दोलनमा सहभागी भएका तर जिल्ला अदालतको फैसलामा बृजमोहन, सन्तराम र राजेश चौधरी, रेशम चौधरीसँगै आजीवन कारावासमा छन् ।


‘एउटा विशुद्ध अधिकारको शान्तिपूर्ण लडाइँमा थापापुरबाट महिला पुरुष सबै सहभागी भएका हुन्,’ स्थानीय पेरुलाल चौधरीले भने, ‘हिंसात्मक कसरी भयो, सरकारले गहन छानबिन गर्नुपर्ने हो, हिंसात्मक घटना गराउने घुसपैठिया आन्दोलनकारीलाई कारबाही गरी अरूलाई उहिल्यै छोडिदिनुपर्ने हो ।’


जेल परेकाहरूको यता घर परिवारको समेत बिचल्ली भएको उनी बताउँछन् । ‘जिल्ला अदालतबाट नछुटेकाहरूले पुनरावेदन गर्नेछन्,’ भलमन्सा सुनील कठरिया भन्छन्, ‘तर राज्यले घटनालाई राजनीतिक रूपमा सुल्झाउनुपर्थ्यो ।’ उनले अब टीकापुर घटनालाई बिर्सने गरी आजीवन कारावास सजाय सुनाइएका साथीहरू पुनरावेदनबाट छुटून् भन्ने कामना मात्रै बाँकी रहेको बताए ।


‘सरकारले शान्ति र सदभाव कायमका लागि जे भयो, भयो यस्तो घटना दोहोरिन नदिन मेलमिलाप नीति लिनुपर्छ,’ स्थानीय हेरुलाल चौधरी भन्छन् । अदालतको न्यायको प्रतीक्षामा बसेका थारू समुदायमा केही संशय बढेको थापापुरका कांग्रेस नेता गंगा चौधरी बताउँछन् । अदालतको फैसला पूर्ण अपेक्षाकृत नआउँदा संशय देखिएको उनको भनाइ छ ।


उनका अनुसार गाउँमा कोही सफाइ पाएर आए, कोही सजाय काटेर मुक्त भई आए, सँगैका कोही आजीवन कारावासमा पर्दा सबैका मनमा एक प्रकारको हलचल ल्याएको देखिन्छ । उनले समाजलाई अहिले सबैतिरबाट शान्ति तथा सद्भाव र न्यायका बाटामा लैजान जरुरी भएको बताए ।


सरकार राज्यलाई टुक्र्याउँछु भन्नेलाई रिहा गर्छ, सहमति गर्छ तर जनताबाट अनुमोदन भएका रेशम चौधरीलाई नछोड्नु र थारूका जयाज मागलाई दबाउनुले थारूहरूमा विद्रोह र असन्तुष्टि बढ्दै गएको स्थानीय सेवक चौधरी बताउँछन् ।


के गर्दै छन् थारू नेता

जिल्ला अदालतको फैसलाबाट रिहा भएका नेता लक्ष्मण चौधरी अहिले गाउँबस्ती भेटघाटमा सक्रिय छन् । उनी भन्छन्, ‘३ वर्षको जेल जीवनपछि एक पटक सबै साथीभाइसँग भेटघाट गरिरहेको छु । चिनजान भएका पहाडी थारू सबै बस्ती टोलमा पुगिरहेको छु ।’


उनले थारू आन्दोलन कसैको अधिकार खोस्न र वर्षौंदेखि एकताको सूत्रमा बाँधिएको सामुदायिक भावनालाई भाँड्ने नभएको चेतना फैलाउँदै सरकारलाई विगतमा भएका सहमति कार्यान्वयनको दबाब दिन शान्तिपूर्ण ढंगले सरकारको ध्यानाकर्षण गराउने कामका लागि अघि बढेको बताए ।


‘थरुहट आन्दोलन क्रममा भएको टीकापुर घटना कुनै समुदाय लक्षित थिएन,’ उनले भने, ‘हाम्रो लडाइँ राज्यसित हो । राज्यसित थरुहट प्रदेशको माग गर्दा घटना भयो । हामी थारूलाई राज्यले हत्या, चोरी, डाँका, लुटपाट मुद्दा लगायो तर टीकापुर बजारमा रहेका थारूका घरपसलमा लुटपाट आगजनी गर्ने कसैलाई कारबाही गरेन । राज्यको यो विभेदकारी व्यवहारले हामीलाई दुःखी बनाएको छ ।’

प्रकाशित : चैत्र ४, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?