कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँस–निगालाका सामग्रीले बजार पाएनन्

विप्लव महर्जन

सल्यान — कपुरकोट गाउँपालिकाको दानबाङका ४६ वर्षीय शंकर घर्तीले घरमै बाँसनिगालोका चोयाबाट विभिन्न सामग्री उत्पादन गर्दै आएका छन् तर उनलाई ती सामग्री बिक्री गर्न बजारको समस्या भएको छ । घर्तीलाई बजारको समस्याका कारण गाउँगाउँमा डुलेर आफूले उत्पादन गरेका सामग्री बिक्री गर्नुपर्ने बाध्यता छ । 

उनीमात्र होइन, दानबाङका ८० परिवारले बाँसनिगालाबाट विभिन्न परम्परागत सामग्री उत्पादन गर्दै आएका छन् । स्थानीयले यही व्यवसायबाट प्रतिपरिवार वार्षिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म कमाउने गरेका छन् । तर बजारको समस्या भएपछि विभिन्न गाउँमा पुर्‍याएर बिक्री गर्नुपर्ने बाध्यता छ ।


स्थानीयले बाँसनिगालाका चोयाबाट डोका, डाला, छिटवा, पेटारो, माछा मार्ने पेरुंगो, फुलदानीलगायत सामग्री उत्पादन गरेका छन् । बजारमा प्लास्टिकका विभिन्न सामग्री सस्तोमा पाउन थालेपछि उनीहरूले उत्पादन गरेका सामग्री बिक्रीमा समस्या भएको छ । सामग्री उत्पादन गर्न स्थानीयले गाउँमै बाँस तथा निगालो खेती गरिरहेका छन् ।


बाँसनिगालाका सामग्री बुनेर ६ जनाको परिवार पाल्दै आएका घर्तीले उत्पादित सामग्री बिक्री गर्न सल्यानका विभिन्न ठाउँ, दाङ र बर्दियासम्म पुग्ने गरेको बताए । लगातार दुई/तीन महिनासम्म बुनेका सामग्री त्यक्तिकै थन्किएकाले बित्री गर्न गाउँगाउँ घुम्नुपरेको उनको भनाइ छ । ‘बजारमा आउने विभिन्न आधुनिक सजावटका सामग्रीले यसको व्यापार घटेको छ,’ उनले भने, ‘उत्पादन गरेका सामग्री एक सयदेखि चार सय रुपैयाँमा बिक्री गर्दै आइरहेका छौं ।’ उनले बजारमा पाइने विभिन्न सामग्रीभन्दा आफूहरूले उत्पादन गरेका सामग्री आकर्षक र टिकाउ हुने दाबी गरे ।


पहिले धेरै ठाउँबाट माग आउने बाँस निगालाका सामग्रीको माग अहिले घटेको स्थानीय देवबहादुर घर्तीले बताए । तालिम तथा आधुनिक उपकरण अभावले परम्परागत विधिबाट सामग्री उत्पादन गर्दै आइरहेको उनको भनाइ छ । उनका अनुसार ग्राहक खोज्दै गाउँगाउँ घुम्नुपर्ने भएकाले पेसा ओझेलमा पर्दै गइरहेको छ । ‘पटकपटक विभिन्न सरकारी निकायलाई आधुनिक मेसिन र तालिमको व्यवस्था गर्न माग गरे पनि बेवास्ता भइरहेको छ,’ उनले भने, ‘तालिम र आधुनिक औजार पाए पेसालाई व्यवस्थित बनाउन सकिन्थ्यो ।’


उनका अनुसार केही वर्षअघिसम्म यही पेसाबाट जीविकोपार्जन गर्दै आएका केही स्थानीयवासी अहिले रोजगारीका लागि भारतका विभिन्न ठाउँमा जानु बाध्य भएका छन् ।


धान राख्ने भकारो, सामान राख्ने छिटवा, पेटारो, डोकोलगायत सामग्री प्रयोग घट्दै गएकाले बाँसका सामान बिक्रीमा समस्या भइरहेको स्थानीयको गुनासो छ । स्थानीय दीपेन्द्र रानाले कपुरकोट, श्रीनगर र दाङको तुलसीपुरमा सरकारी निकायले संकलन केन्द्र व्यवस्था गरे आफूहरू बिक्रीका लागि गाउँ डुल्नुपर्ने बाध्यताको अन्त्य हुने बताए ।


‘बजार व्यवस्था भए आयआर्जनमा धेरै सुधार आउने देखिन्छ,’ उनले भने, ‘उत्पादित सामग्रीको भाउ बर्सेनि घट्दै गएकाले पनि बिक्रीमा समस्या भएको हो ।’ उनले संकलन केन्द्र राखिए आफूहरूले उत्पादन गरेका परम्परागत सामग्रीले राम्रो मूल्य पाउने र सहज बजार पाऊने जनाए ।


प्रकाशित : चैत्र ४, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?