कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

किस्ट मेडिकल कलेजमा अवैध शुल्क : ढोका थुनेर मोलमोलाइ, धम्क्याएर असुली

काठमाडौँ — ललितपुरको किस्ट मेडिकल कलेजले विद्यार्थीलाई धम्क्याएर गैरकानुनी शुल्क लिने गरेको पाइएको छ । विद्यार्थीका अनुसार सञ्चालकहरू कलेज हाता वा वरपर बोलाएर अतिरिक्त शुल्क नबुझाए भर्ना हुन नदिने भनी धम्क्याउने गर्छन् ।

किस्ट मेडिकल कलेजमा अवैध शुल्क : ढोका थुनेर मोलमोलाइ, धम्क्याएर असुली

किस्टका केही विद्यार्थी एवं नेपाल मेडिकल काउन्सिल स्रोतका अनुसार सञ्चालकमध्येका आशिष थापा, कानुनी सल्लाहकार केशवराज आचार्य, शैक्षिक कार्यक्रम संयोजक किशोरमानसिंह बस्नेतले अतिरिक्त रकमका लागि विद्यार्थीसँग मोलमोलाइ गर्छन् । उनीहरूले कलेजले लिन पाउने शुल्क खातामै जम्मा गर्न लगाउँछन् भने अतिरिक्त शुल्क निजी खातामा राख्न निर्देशन दिन्छन् । कतिपय अवस्थामा नगद कारोबारसमेत हुने गरेको स्रोतले बतायो ।


काउन्सिलका एक सदस्यले आचार्य, थापा एवं बस्नेतको नाम किटानी गरेर उजुरी परेको बताए । 'उनीहरूको व्यक्तिगत खाता छानबिन गरियोस्, स्रोत नखुलेको रकमको ठूलो कारोबार भएको देखिन्छ' भनी विद्यार्थीले काउन्सिललाई सूचना दिएका हुन् । उनका अनुसार एक विद्यार्थीले किस्टका पदाधिकारीले गरेको मोलमोलाइको अडियो रेकर्ड नै सुनाएका थिए ।


किस्ट कलेजले अतिरिक्त शुल्क नतिरे आन्तरिक परीक्षामा फेल गराउने, हाजिर नगराउने, परिचयपत्र, लाइबे्ररी कार्ड नबनाइदिने गरेको विद्यार्थीको गुनासो छ । अवैध शुल्क उठाएका विषयमा विरोध वा नियामक निकायमा उजुरी गर्दा कलेजले अनेक बहानामा दण्डित गर्ने र परीक्षामा फेल गराउने गरेको उनीहरूले कान्तिपुरलाई बताए । 'म छात्रवृत्तिको विद्यार्थी हुँ, कुनै शुल्क तिर्नु नपर्ने हो,' एक विद्यार्थीले कान्तिपुरसित भने, 'तोकिएको अवधिमा भर्ना गरेनन्, अवधि सकिएपछि अब गाह्रो हुन्छ भनेर नम्बर मागे र मलाई थर्काए । त्यसपछि यति र उति रकम बुझाए भर्ना गर्न सकिन्छ भनेर अप्ठेरामा पारे । १५ लाख रुपैयाँ खातामा बुझाएपछि भर्ना भएँ ।'


नेपाल मेडिकल काउन्सिलले किस्टमा भएको अनियमितता छानबिनका लागि त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानलगायत निकायमा पत्राचार गरेको थियो । गोप्य रूपमा सूचना र उजुरी दिन चाहने किस्टका विद्यार्थी खुल्न भने नचाहेको काउन्सिल स्रोतले बतायो । स्रोतले भन्यो, 'स्रोतसाधन र पहुँच भएका अभिभावकले काठमाडौंमा पढाएका हुन्छन्, उनीहरू आफ्नो समस्या सकेसम्म खोल्न रुचाउँदैनन् ।' पोखराको गण्डकी मेडिकल कलेजका विद्यार्थीको आन्दोलनपछि भने किस्टका विद्यार्थीले विभिन्न निकायमा उजुरी गरेका छन् ।


किस्ट मेडिकल कलेजमा पूर्वाधार कमजोर छ । खुला बाटो र दमकल पार्किङ गर्ने व्यवस्थासमेत नभएको कलेजमा अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीले जबरजस्ती सिट बढाइदिएर संरक्षण गरेका थिए । उनको बहिर्गमनपछि समेत सञ्चालकहरूले राजनीतिक तथा अन्य प्रभावमा बढी कोटा निर्धारण गराई विद्यार्थीसँग अतिरिक्त शुल्क लिने गरेको स्रोतले बतायो । किस्ट कलेजकै एक चिकित्सकले भने, 'हामीकहाँ त्रिभुवन विश्वविद्यालयले अनुगमन गरेको थियो तर उपकुलपति तीर्थ खनियाँको शंकास्पद भूमिकाका कारण कारबाही भएन ।'


छानबिन थालेपछि हाजिरी

विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क असुल्दै आएको किस्ट कलेजमाथि छानबिन सुरु भएको छ । शिक्ष्ाा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको टोलीले कलेजका विषयमा छानबिन थालेको हो । टोलीमा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्साल, उपसचिव विष्णुप्रसाद मिश्र, केन्द्रका एसपी कमलप्रसाद अधिकारी र इन्स्पेक्टर बुद्धिराज खनाल छन् । 'स्थलगत निरीक्षण गरेर आवश्यक कागजात र विवरण मागेका छौं,' सहसचिव लम्सालले भने, 'केही विवरण प्राप्त भयो, केही आउने क्रममा छ ।'


यसअघि त्रिभुवन विश्वविद्यालयको अनुगमन निर्देशनालयले खटाएको छानबिन टोलीलाई उक्त कलेजले विवरण उपलब्ध गराएको थिएन । कलेजका पदाधिकारीले छानबिनमा असहयोग गरेपछि टोलीले उनीहरूलाई कारबाही गर्न सिफारिस गरेको थियो । प्रतिवेदनलाई कार्यकारी परिषद्मा लगेर कारबाही प्रक्रिया अघि बढाउन उपकुलपति खनियाँसहित त्रिविका पदाधिकारीले चासो देखाएका छैनन् ।


शिक्षा मन्त्रालयलाई पनि यसअघि उक्त कलेजले टेरेको थिएन । अवैध शुल्क असुल्ने पोखराको गण्डकी मेडिकल कलेजका सञ्चालकविरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि भने किस्ट सञ्चालक हच्केको शिक्षा मन्त्रालयका एक अधिकारीले बताए ।

छानबिन सुरु भएपछि कलेजले बढी शुल्क नतिर्ने विद्यार्थीकोे हाजिरी गर्न थालेको छ ।


अवैध रूपमा लिएको अतिरिक्त शुल्क अभिभावक र विद्यार्थीले फिर्ता भने पाएका छैनन् । शिक्षा मन्त्रालयको निःशुल्क छात्रवृत्तिमा एमबीबीएस र बीडीएस पढदै गरेका विद्यार्थीसँग पनि कलेजले मनोमानी शुल्क लिएको छ । शुल्क नतिर्नेलाई सेवासुविधाबाट वञ्चित गरिएको भन्दै विद्यार्थीले शिक्षा मन्त्रालयमा उजुरी दिएका थिए । विद्यार्थीको गुनासोका आधारमा कान्तिपुरले पीडित विद्यार्थीको हाजिरमा रोक लगाएको समाचार प्रकाशित गरेको थियो ।


'समाचार आएको भोलिपल्टदेखि नैै हाजिर गराउन थालियो,' पीडित एक छात्रले कान्तिपुरसँग भने, 'परिचयपत्र, लगबुक, लाइबे्ररी कार्ड पनि बनाइदिन थालेको छ ।' बढी शुल्क नतिरे कलेजको आन्तरिक परीक्षामा फेल गराएको भन्दै कलेजका दसौं ब्याचका विद्यार्थीले जिल्ला प्रशासन ललितपुरमा उजुरी दिएका छन् ।


सन् २०१८ ब्याचको निःशुल्क छात्रवृत्ति कोटामा भर्ना भएका विद्यार्थीबाट किस्टले १ लाख ५० हजार अतिरिक्त रकम लिएको बिलभर्पाइ कान्तिपुरलाई प्राप्त भएको छ । अन्य विद्यार्थीसँग पनि सोही दरमा रकम माग गरिएको छ । 'हाजिर भएर पढ्न थालेका छौं । अहिले थप पैसा मागिएको छैन । कलेजमा प्रोग्राम चलिरहेको छ, सकिएपछि अतिरिक्त शुल्कका विषयमा पनि छिनोफानो गर्छौं,' पीडित विद्यार्थीले भने ।


मन्त्रिपरिषद्ले काठमाडौं उपत्यकाभित्रको मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्न ३८ लाख ५० हजार र बीडीएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ शुल्क कायम गरेको छ । किस्ट कलेजले भने रजिस्ट्रेसन, वाषिर्क/आन्तरिक परीक्षा, स्वास्थ्य बिमा, इन्टर्नसिप र फिल्ड भिजिटका नाममा लाखौं रुपैयाँ लिँदै आएको छ । शिक्षा मन्त्रालयको निःशुल्क छात्रवृत्ति कोटामा अध्ययनरत विद्यार्थीसँग पनि यिनै शीर्षकमा मनोमानी शुल्क लिने गरेको हो । त्रिवि र मेडिकल काउन्सिल शुल्क ३ हजार ५ सय तोकिएको छ ।


कलेजले भने ५० हजारका दरले विद्यार्थीसँग रकम लिने गरेको छ । वाषिर्क परीक्षा शुल्क २ हजार ५ सय तोकिएका कलेजले आन्तिरक परीक्षा शुल्क भनेर १८ हजार रुपैयाँका दरले असुल्ने गरेको छ । स्वास्थ्य बिमा र भ्रमण भनेर ४५ हजार लिइन्छ । 'हामीले कुन शीर्षकमा पैसा तिर्ने हो भनेर माग्दा कलेजले शीर्षक खुलाउँदैन,' एमबीबीएस अध्ययनरत एक छात्राले भनिन्, 'मागेजति रकम नदिए अपमानजनक व्यवहार गरिन्छ ।'

प्रकाशित : चैत्र ५, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?