कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पीडितलाई नै बिचाैलिया बनाएर अढाई कराेड ठगी

जनकराज सापकोटा

काठमाडौँ — मानव तस्करहरूले अमेरिका लैजाने भन्दै युवालाई ठग्ने क्रम बढदो छ । पछिल्लो पटक रोल्पा र दाङका ५ युवाले यही फन्दामा परेर झन्डै साढे दुई करोड रुपैयाँ डुबाएका छन् । यसअघि जस्तै यो ठगीमा पनि कलाकारको आवरणमा अवैध धन्दा गरिरहेका सुदर्शन गौतम जोडिएका छन् । उनैले हैटी पुर्‍याएर अलपत्र पारेका युवाले डुबेको रकम उठाउने उपायका रूपमा थप युवालाई ठगेको खुलेको छ ।

पीडितलाई नै बिचाैलिया बनाएर अढाई कराेड ठगी

अमेरिका पुग्ने आसमा रोल्पा र दाङका ५ युवा दर्जनभन्दा बढी देशमा हन्डर र ठक्कर खाँदै झन्डै साढे दुई करोड रुपैयाँ सिध्याएर वर्ष दिनपछि स्वदेश फर्किए । र्फकेलगत्तै उनीहरूले महानगरीय प्रहरी अपराध महाशाखामा आफूलाई ठग्नेहरूविरुद्ध उजुरी दिए ।

त्यसैका आधारमा प्रहरीले दाङबाट महेश बाठामगरलाई पक्राउ गरेको छ । फागुन २१ गते पक्राउ परेका महेशलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि भन्दै तेस्रो पटक १५ दिन म्याद थपेर थुनामा राखेको छ ।

अमेरिका जान भन्दै नेपालबाट भारतको दिल्ली, रुसको मस्को, क्युबाको हभाना, पानामा, हैटीको पोर्ट औ पि्रन्स र बेलायत शासित टक्र्स एन्ड केकोस आइल्यान्ड पुगेका ती युवा सात महिना प्रहरी हिरासतमा बसेका थिए ।

अमेरिका जान भन्दै हैटी पुगेर फर्किएका यसअघिका पीडितको कथासँग पछिल्लो कथा मिल्दोजुल्दो देखिन्छ । यी पाँच युवाको कथामा कलाकारको आवरणमा अमेरिका र क्यानडा पठाउने धन्दा चलाउँदै आएका सुदर्शन गौतमको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ । दुवै हात नभएका गौतमविरुद्ध रेड कर्नर नोटिस जारी गर्न प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन -इन्टरपोल) मा पत्राचार गरिसकेको छ । सगरमाथा आरोहणसमेत गरेका र 'हिम्मतवाली' नामक चलचित्रमा अभिनय गरेका गौतमसँग क्यानडाको आवासीय अनुमति र अमेरिकाको गि्रन कार्ड छ ।

गत साउन ३ मा काठमाडौं जिल्ला अदालतले गौतमविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो भने साउन २३ गते महानगरीय प्रहरी अपराध महाशाखाले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गराउन प्रक्रिया थालेको थियो । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले रेड कर्नर नोटिस जारी गराउने प्रक्रिया जारी रहेको बताउँदै भने, 'हामीले निरन्तर फलोअप गरिरहेका छौं ।'

सुदर्शनकै पहलमा अवैध रूपमा अमेरिका छिर्ने भन्दै तीन नेपाली महिला कलाकारको आवरणमा हैटीको राजधानी पोर्ट औ पि्रन्स पुगेका थिए । २३ जनवरी २०१७ मा तीन महिलालाई हैटी फिल्मस् नामक कागजी कम्पनीले फिल्म छायांकनका निम्ति आमन्त्रणपत्र पठाएको थियो । त्यही पत्रका आधारमा हैटी पुगेका उनीहरूलाई मानव तस्करहरूलेे पोर्ट औ पि्रन्सबाट क्यारेबियन सी हुँदै टापु राष्ट्र बहामासतर्फ लगेको थियो ।

पानीजहाजको दिशासूचक यन्त्र बिगि्रएर समुद्रमा १८ दिनसम्म अलपत्र परेपछि पानी र खानाको अभावमा छटपटिएर तीन जनामध्ये एक -सुमित्रा कुँवर) को मृत्यु भएको थियो । मानव तस्कर गिरोहका सदस्यले शव गन्हाउने भन्दै उनलाई समुद्रमा फालिदिएका थिए । उक्त घटनाबाट बाँचेर फर्केका र झन्डै ६० लाख गुमाएका दुई महिलाले प्रहरीमा उजुरी गरेपछि कलाकारको आवरणमा सुदर्शनले बनाएको मानव तस्करीको जालो सतहमा आएको थियो ।

अपराध महाशाखाको अनुसन्धानले सुमित्राको मृत्युको घटना र मानव तस्करीको पछिल्लो घटनामा समानता रहेको र दुवै घटनाका पीडितको प्रत्यक्ष/परोक्ष सम्बन्ध गौतमसँग रहेको देखाएको छ । मानव तस्करीमा प्रयोग गरिएको रुट, पटक-पटक पैसा हाल्न लगाइएको तरिका, तस्करीमा सक्रिय एजेन्टलाई हेर्दा अघिल्लो र पछिल्लो घटनामा समानता भेटिन्छ । अपराध महाशाखाका एक अनुसन्धान अधिकारीले भने, 'अघिल्लो तस्करीमा सुदर्शन गौतम सोझै संलग्न छन्, यो घटनामा भने गौतमले पर्दापछाडि बसेर भूमिका खेलेको देखिन्छ ।'

गौतमकै पासोमा परेर हैटी पुगेका र लाखौं रुपैयाँ गुमाई अलपत्र परेका केही पीडितले पछिल्लो घटनामा एजेन्टको भूमिका खेलेको देखिन्छ । अनुसन्धानक्रममा संकलित प्रमाणले उनीहरूको संलग्नता देखाएको प्रहरीले जनाएको छ । त्यसमा सुदर्शनको पनि हात रहेको प्रहरी दाबी छ । अनुसन्धानमा संलग्न एक प्रहरीले भने, 'आफ्नो फसेको रकम उठाउन पीडितहरू दलाल बनेर आफ्नै गाउँठाउँका मान्छेलाई फसाएको देखिन्छ ।'

महानगरीय प्रहरी अपराध महाशाखाको सूचनाका आधारमा दाङ प्रहरीले पक्राउ गरेका महेशका दाइ विश्व बाठामगर अमेरिका छिर्ने भन्दै दुई वर्षअघि घरबाट हिँडेका थिए । त्यतिबेला उनलाई अवैध रूपमा अमेरिका छिराउने काममा सुदर्शन गौतम संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हैटी पुगेर पनि अमेरिका छिर्न नसकेपछि र लाखौं रुपैयाँ फसेपछि विश्व पनि मानव तस्करीको धन्दामा आबद्ध भएका हुन् ।

तस्करीको पछिल्लो घटनामा हैटीमा रहेका विश्वसहित उनका जेठा दाइ गोर्कण र भाइ महेशको संलग्नता देखिएको छ । कान्तिपुरसँग सम्पर्कमा आएका पीडितले विश्वले भनेकै भरमा र नेपालमा रहेका उनका जेठा दाइ गोकर्णको विश्वासमा परेर अमेरिका छिर्ने भन्दै लाखौं रुपैयाँ बुझाएको बताए । पीडितले गुमाएको रकममध्ये झन्डै दुई करोड रुपैयाँ गोकर्णले नै बुझेको देखिन्छ ।

सुदर्शनले भनेकै आधारमा अवैध रूपमा अमेरिका छिर्न हिँडेका र हैटीमा अलपत्र परेका बागलुङका जगन्नाथ कँडेल पनि मानव तस्करीको पछिल्लो घटनामा जोडिएका छन् । प्रहरीसँग बयानमा पीडितहरूले आफूलाई हैटीमा लिन जगन्नाथ नै आएको बताएका छन् । पीडितले बताएअनुसार नेपालमै रहेकी जगन्नाथकी श्रीमतीको खातामा पनि उनीहरूले पाँच लाख रुपैयाँ जम्मा गरेका थिए ।

हैटी पुगेका विश्व बाठामगरले रोल्पा तालबाङका नरेश घर्तीलाई फोन गरेर अमेरिकाको लोभ देखाए, 'हेर साथी, म अमेरिका आइपुगें, तँ पनि आउने भए मिलाइदिन्छु ।' बाल्यकालदेखिको साथी अमेरिका पुगेको सुनेपछि र उसैले चाँजो मिलाइदिने भएपछि नरेश हौसिए । विश्व आफैं भने सुदर्शनको जालोमा परेर हैटीमा अलपत्र अवस्थामा थिए ।

सुमित्रासहितका महिला कलाकारको भिसामा डोमिनिकन पुग्नुभन्दा एक साताअघि नै विश्वसहितका युवालाई सुदर्शनले डोमिनिकन रिपब्लिक पुर्‍याएका थिए । केही साता त्यहाँ बसेर उनीहरू पोर्ट औ पि्रन्स पुगेका थिए । त्यहाँ उनीहरूको भेट बागलुङका जगन्नाथ कँडेल, दिनेश कटुवाल, काठमाडौंका सन्दीप थापालगायतसँग भएको थियो ।

विश्व र उनका दाइ गोकर्णको विश्वासमा परेर नरेश, रोल्पाका शेरबहादुर घर्ती, भीमप्रसाद बाठामगर, शेरबहादुर घर्ती, बमबहादुर डाँगी र दाङका मोहम्मद जावेद २०७४ असोज १ गते अमेरिका जान भन्दै भारतको नयाँदिल्लीतर्फ लागेका थिए । गोकर्णले नै उनीहरूलाई दिल्ली पुर्‍याएका थिए ।

दिल्लीमा गोकर्णले पाँचै जनालाई शिव शर्मा बाँस्तोलासँग चिनाजानी गराइदिएका थिए । डिल्लीबजारमा स्पेसल फेयर इन्टरनेसनल नामक ट्राभल एजेन्सी चलाएर बसेका बाँस्तोलाले उनीहरूलाई त्यहाँभन्दा अगाडि जाने चाँजोपाँजो मिलाइदिएको देखिन्छ । पीडितले दिल्ली पुगेर आफूहरूको कागजपत्र मिलाउने काम बाँस्तोलाले नै गरेको प्रहरी बयानमा बताएका छन् ।

कान्तिपुरसँग सम्पर्कमा आएका पीडितले हैटीमा बसेका विश्व र जगन्नाथले पैसा असुल्ने काम गरेको बताए । एक पीडितले भने, 'हामीलाई आफू अमेरिका पुगिसकेको बताएको विश्व आफैं हैटीमा अलपत्र रहेछ । उसले आफ्नो फसेको रकम उठाउन हामीलाई पनि अलपत्र पारेको रहेछ ।'

पीडितको बिचल्ली

ठगिएका पाँचमध्ये चार जना रोल्पाका छन्, एकजना दाङका । सामान्य आर्थिक हैसियतका र गाउँमै दुःखजिलो गरेर बसिरहेका उनीहरूले अमेरिका पुग्ने आसमा घरखेत नै गुमाएका छन् ।

रोल्पा परिवर्तन गाउँपालिका-२ का शेरबहादुर घर्ती गाउँमै सानो कपडा पसल चलाएर बसेका थिए । थोरै आम्दानीमा चित्त नअडिरहेका बेला छिमेकी विश्व बाठामगरले लोभ्याए, 'गाउँमै के अडिनुहुन्छ । अमेरिका जाने भए भन्नुस् ।' उनको शान्त मनमा अमेरिकी सपनाको भुल्को उठिहाल्यो । त्यही लोभमा पर्दा उनले करिब ५० लाख गुमाए ।

अमेरिका सपना देख्नुअघिसम्म शेरबहादुर गाउँमै फेन्सी पसल चलाएर बसेका थिए । कान्तिपुरसँगको कुराकानीमा उनले फसेको पैसा कसरी उठाउने भन्ने चिन्ताले इन्तु न चिन्तु पारेको बताए । उनले साहुबाट लिएको पैसा तिर्न पुख्र्यौली जग्गा नै साहुलाई बुझाएको बताए । भने, 'सारा आफन्त र गाउँलेबाट ऋण लिएको थिएँ, न अमेरिका पुगियो न पैसा फिर्ता भयो । बिचल्लीमा परियो ।'

२२ वर्षका नरेन्द्र घर्ती स्नातक पढदै थिए । उनी पनि विश्वकै भर परेर अमेरिका जान तम्सिए र झन्डै ५० लाख गुमाए । उनका दुई दाइ साउदी अरबमा छन् । उनका बाबुको थाप्लोमा छोरालाई अमेरिका पठाउने चक्करमा लागेको ऋणको भारी छ । उनले भने, 'के गर्ने के, छटपटी भा'छ ।'

रोल्पाकै बमबहादुर डाँगीले पनि अमेरिका सपनामा ४५ लाख गुमाए । उपराष्ट्रपति नन्दबहादुर पुनका मीतका छोरा बताउने उनले उपराष्ट्रपतिलाई पनि आफ्नो ब्यथा थाहा भएको बताए । उनले भने, 'फसेको पैसा कसरी उठाउने भन्ने मात्रै चिन्ता छ । पैसा नउठे घरबास जाला भन्ने डर छ ।'

कान्तिपुरसँग सम्पर्कमा आएका सबैजसो पीडितले अमेरिका जान भन्दै स्थानीय साहु र आफन्तबाट चर्को ब्याजदरमा रकम लिएको देखिन्छ । एक पीडितले भने, 'अमेरिका जान नसकेको पीडा छँदै छ, साहुको ऋण तिर्दातिर्दै उठीबास लाग्ने भयो ।'

बलियो जालो

संगठित मानव तस्करीमाथि अनुसन्धान गरिरहेका प्रहरीका अनुसार अमेरिका लैजाने सपनाको पासो थाप्नेहरूका तीन फरकफरक समूह नेपालमा सक्रिय देखिन्छ । जसमा गौतमले चलाएको जालो सबैभन्दा ठूलो छ ।

प्रहरी परिसर काठमाडौंको थुनामा रहेका महेशले कान्तिपुरसँगको कुराकानीमा आफूलाई दाजुभाइले फसाएको बताए । महेशका दाजुभाइ विश्व र गोकर्ण पनि प्रहरीको खोजी सूचीमा छन् । पीडितले जेठो गोकर्णकै आदेशमा भाइ महेशको खातामा रकम हालिदिएको बताएका छन् । महेशले भने, 'दाजुभाइले गरेको गल्तीमा मैले सजाय पाएँ ।' घटनाको अनुसन्धानमा संलग्न प्रहरीले भने मानव तस्करीको धन्दामा महेशले पनि सघाएको बताए ।

मानव तस्करले यसअघिका घटनामा जस्तै सोझै आफूले रकम नबुझी आफन्त र विभिन्न व्यक्तिको खातामा रकम हाल्न लगाएका छन् । प्र्रमाण नरहोस् भनेर नगदै बुझ्ने, फरकफरक मितिमा विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाउने, विभिन्न मनी ट्रान्सफर कम्पनी प्रयोग गर्ने गरेको देखिन्छ । अनेकन व्यक्ति र खाता प्रयोग गर्ने भएकाले तस्करीका घटना सार्वजनिक भइसक्दा पनि प्रहरीले प्रमाण अभावमा मुख्य एजेन्ट पक्राउ गर्न सकेको छैन ।

यही घटनामा समेत पाँच पीडितले गोकर्णको दुईवटा खातामा करोडौं रकम जम्मा गरिदिएको देखिन्छ । भाइ महेश र गोकर्णले भनेअनुसार खर्कमाला खत्रीको खातामा पनि २१ लाखभन्दा धेरै रकम राखेको पाइएको छ । त्यस्तै गोकर्णले भनेअनुसार हैटीमा रहेका जगन्नाथकी श्रीमतीको खातामा पाँच लाख जम्मा गरिदिएको छ ।

अमेरिका जाने सपना देखेकाहरूसँग गोकर्णले पटकपटक गरी करोडौं रकम असुलेको देखिन्छ । नगदै दिन नसक्नेसँग गोकर्णले जग्गा लिएर भए पनि पैसा असुलेका छन् । दाङ, घोराही-८ का मोहम्मद जावेद अख्तरले २०७४ पुस ७ गते आफ्नो २७ लाख बराबरको जग्ग्ाा गोकर्णको नाममा पास गरिदिएका थिए ।

प्रहरीका अनुसार पछिल्लो प्रकरणमा मुख्य भूमिका रोल्पाका गोकर्ण र ट्राभल एजेन्सी सञ्चालक बाँस्तोलाले खेलेका छन् । पीडितले प्रहरीमा गोकर्ण, शिव र महेशसहित बागलुङका जगन्नाथ, रोल्पाका सुवर्ण बीसी र काठमाडौं बस्ने खर्कमाला घर्तीलाई प्रतिवादी बनाएर जाहेरी दरखास्त दिएका छन् ।

हैटी पुगेर फर्केकाले कान्तिपुरसँगको कुराकानीमा अमेरिका छिर्ने सपनामा अवैध बाटो हिँडेका सयौं नेपालीलाई भेटेको बताए । हैटीबाट फर्केका एक पीडितले हैटीको जेलमा मात्रै एक सय ९७ नेपाली रहेको बताए । उनले भने, 'महिनौंदेखि अलपत्र परेका, दर्जनौं देश चहार्दाचहार्दै थाकेर पनि दलालको पासोमा झुन्डिएका सयौं नेपाली भेटें । सबैको अवस्था जुनसुकै बेला जेसुकै हुन सक्ने खालको छ ।'

यही समूहसँग जोडिएर काम गर्ने बागलुङका राजु भन्ने जेसन श्रीसलाई महानगरीय प्रहरी अपराध महाशाखाले २०७५ जेठ १९ गते पक्राउ गरेको थियो । श्रीस अहिले पनि काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । अमेरिका तथा क्यानडा पठाइदिने भन्दै भारत, सिंगापुर, मलेसिया, थाइल्यान्ड, नाइजेरिया हुँदै अपि|mकी देश टोगो पुगेर ७ महिना अलपत्र भई फर्केका ६ पीडितले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाएको थियो ।

जेसनका दाइ सागर पनि मानव तस्करीको आरोपमा पक्राउ पर्दै छुटदै अाएका व्यक्ति हुन् । बागलुङको रिघा घर भई लैनचौर बस्ने उनले दिल्लीमा बस्ने डीबी भन्ने नेपाली तथा अमेरिका र क्यानडा बस्ने सुदर्शनसँग मिलेर अमेरिका पठाउने भन्दै मानव तस्करको जालो फैलाउँदै आएका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल महानगरीय प्रहरी अपराध महाशाखामा एसएसपी रहेका बेला २०७४ भदौ २४ मा सागर पक्राउ परेका थिए । भारतको दिल्ली हुँदै अफ्रिकी राष्ट्र इथियोपिया, मोजाम्बिक, स्वाजिल्यान्ड पुगेर फर्केका पीडितको उजुरीपछि प्रहरीले उनलाई पक्रेको थियो । पहिलो पक्राउमा धरौटीमा छुटेका उनी दोस्रो पटक २०७४ जेठ १९ मा मानव तस्करीमै संलग्न रहेको आरोपमा पक्राउ परेका थिए ।

निषेधाज्ञाको बाटो

११ महिना लामो हैरानीको बाटो छिचोलेर नेपाल फर्केका पीडितले महानगरीय प्रहरी अपराध महाशाखामा डिल्लीबजारमा स्पेसल फेयर इन्टरनेसनल नामक ट्राभल एजेन्सी चलाएर बसेका बाँस्तोलासहितलाई प्रतिवादी बनाएर जाहेरी दर्ता गरेलगत्तै प्रहरीले उनीमाथि निगरानी बढायो ।

पक्राउ पर्न सक्ने भएपछि बाँस्तोलाले काठमाडौं जिल्ला अदालतमा महानगरीय प्रहरी अपराध माहाशाखालाई विपक्षी बनाई निषेधाज्ञा गराइपाउँ भन्दै निवेदन दिए । अदालतले महाशाखालाई पक्राउ गर्नुपर्नाको कारणसहित गत पुस १६ गते पत्र काट्यो । त्यसको पर्सिपल्ट महाशाखाले अदालतलाई पत्र लेखी विदेश पठाउने गैरकानुनी धन्दामा उनीसमेत सहभागी भएको जवाफ दिएको छ ।

महाशाखाले अदालतलाई लेखेको जवाफमा ठगी कसुरको अनुसन्धानका लागि प्रहरीले बारम्बार खोजतलास गर्दा फेला नपरेको र फोन गर्दा सम्पर्कविहीन भएका शिव शर्माले कसुर अपराधबाट उन्मुक्ति लिने अभिप्रायः राख्दै अदालतमा झूटा विवरण दिएको निष्कर्ष निकालेको थियो ।

प्रकाशित : चैत्र ५, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?