वन अतिक्रमण गरी हाटबजार

मनोज पौडेल

कपिलवस्तु — बुद्धभूमि नगरपालिका ४ स्थित हनुमान चोकलाई पूर्व–पश्चिम राजमार्गले उत्तर–दक्षिण विभाजित गरेको छ । त्यसैले यहाँको जमिनको भाउ पनि महँगो छ । यो चोक राष्ट्रिय वन क्षेत्र हो । जिल्लास्थित भूमि बिचौलियाले त्यही जग्गामा आँखा गाडेका छन् ।

वन अतिक्रमण गरी हाटबजार

अतिक्रमण गरी चोकमा झुप्रा निर्माण गरिएपछि ०६९ मा वन कार्यालयले हटाएको थियो । प्रहरी परिचालन गरी २ सय झुप्रा हटाइएको थियो । ‘निकै दबाब सहनुपरेको थियो,’ तत्कालीन जिल्ला वन अधिकृत कृष्णप्रसाद पोखरेलले भने, ‘ज्यानको धम्की आयो ।’ त्यसको १ वर्षसम्म चोक खाली थियो । त्यसपछि घर निर्माण थालियो । अहिले ठूलो बजार हुन लागेको छ ।


उक्त चोकमा भइरहेको अतिक्रमणलाई नगरपालिकाले संस्थागत गरिरहेको छ । स्थानीय राजनीतिक दलका प्रतिनिधिले उक्त जग्गामा बजार व्यवस्थापनको माग गर्दै ०७१ मा वन मन्त्रालयमा निवेदन हाले । अहिले उनीहरूले नगरपालिकालाई उपयोग गरेका छन् । चोकबाट ६ सय मिटर दक्षिणमा नगरपालिकाको कार्यालय छ ।


नगरपालिकाको केन्द्र हनुमान चोकमा सार्ने भनेर नगरसभाले ०७५ भदौ २७ मा निर्णय गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त निर्णय सदर गर्दै राजपत्र भाग (५) मा ०७५ फागुन १४ गते सूचना प्रकाशित गरिसकेको छ । राजपत्रमा सूचना प्रकाशित भएपछि वन क्षेत्रमा केन्द्र सार्ने निर्णयले वैधानिकता पाएको छ ।


उक्त चोक आसपास ४ हेक्टर बढी वन अतिक्रमण गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ मा गाउँपालिकाको काम, कर्तव्य र अधिकार उल्लेख छ । त्यसको दफा ड (१) मा वन जंगल, वन्यजन्तु, चरा, वातावरण र जैविक विविधता सम्बन्धी नीति कानुन, मापदण्ड योजना कार्यान्वयन, अनुगमन र नियमन गर्ने उल्लेख छ ।


त्यसविपरीत नगरपालिकाले राष्ट्रिय वन अतिक्रमण गर्न थालेको छ । केही ठाउँमा सामुदायिक वन अतिक्रमण गरेको छ । वन क्षेत्रमा सञ्चालन भएका केही योजनामा लगानी गरेर काम पूरा गरिसकेको छ । केहीमा बजेट विनियोजन गरी प्रक्रिया अघि बढाएको छ ।


चोकमा निर्माण गरिएका झुप्रामा ०६९ मा वनले आगो लगाएर हटाएपछि यहाँ धर्मशाला निर्माणको माग राखियो । विभिन्न ठाउँबाट सहयोग उठाए चोकबाट टिक्कर जाने बाटोको पश्चिमपट्टि २ कोठाको पक्की धर्मशाला बनाए । त्यहाँ अहिले नगरपालिकाको कृषि र पशु शाखा छ । त्यसैको आडमा टिक्कर र तौलिहवा जाने बाटोको पूर्व–पश्चिम अतिक्रमण गरी फुसको छाप्रा बनाइएका छन् । त्यहीँ व्यापार गरिरहेका छन् ।


वनमा ठूलो हनुमानको मूर्ति बनाइएको छ । त्यहीँ छेउमा साप्ताहिक हाटबजार लाग्ने गरेको छ । अहिले वनमा बसपार्क निर्माण गरिएको छ । ‘नगरपालिकाको कार्यालय उपयुक्त ठाउँमा छैन,’ नगर प्रमुख केशव श्रेष्ठले भने, ‘त्यही भएर हनुमान चोकको २ सय बिघा उपयोगको माग गरी मन्त्रिपरिषद्मा पठाएका छौं ।’


प्रक्रिया पुर्‍याएर कार्यालय सार्ने जनाउँदै उनले वन अतिक्रमण गर्ने नियत नभएको बताए । ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाको केन्द्र हनुमान चोक राख्न स्वीकृति दिएको छ,’ उनले भने, ‘त्यसकारण हामीले लेटरप्याडमा हनुमान चोक राखेका छौं ।’ नगरपालिकाले राष्ट्रिय वन क्षेत्रमा बहुउद्देश्यीय सभाहल बनाउने निर्णय गरेको छ । हनुमान चोकदेखि ५ सय मिटर पश्चिम–दक्षिण सभागृह बनाउन गृहकार्य थालेको छ ।


गाउँपालिकामा प्रतिनिधित्व रहेका सबै दलको बैठक बसेर उक्त निर्णय गरिएको हो । त्यसका लागि करिब ३ हेक्टर छनोट गरिएको छ । जथाभावी वन क्षेत्र उपयोग गर्न नपाइने डिभिजन वन कार्यालयका अधिकृत ईश्वरीप्रसाद पौडेलले बताए । ‘मन्त्रिपरिषद्ले निर्णय नगरेसम्म आधिकारिक हुँदैन,’ उनले भने, ‘जथाभावी गरे हामी कारबाही गर्छौं ।’

प्रकाशित : चैत्र ५, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?