कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१०० वर्ष पुरानो पुलकै भर

भीमबहादुर सिंह

जाजरकोट — नदी/खोलामा धमाधम झोलुंगे पुल निर्माण भइरहेका छन् । तुइन विस्थापन गर्ने र पुल निर्माण गर्ने कार्यले तीव्रता पाएको छ । केही वर्षयता निर्माण भएका पुल ४/५ वर्षमै मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुग्छन् । तर, जाजरकोटको भेरी नदीस्थित मटेला पुलमा भने बटुवाले सय वर्षदेखि वारपार गरिरहेका छन् । 

१०० वर्ष पुरानो पुलकै भर

भेरी नगरपालिका ११, मटेला र पश्चिम रुकुमको चौरजहारी जोड्ने पुल विकासको उत्कृष्ट नमुना पनि बनेको छ । पुरै फलामले बनेको पुलका सामग्रीमा खियासमेत लागेका छैनन् । पुलका पिलर तथा लठ्ठा पनि दुरुस्तै रहेको प्राविधिकको भनाइ छ ।


अहिलेसम्म पुलमा अन्य कुनै क्षति भएको छैन । पुल राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९८२ सालमा निर्माण गरेका थिए । भेरी नदीको मटेला पुल नेपालमा विकास योजनाको उत्कृष्ट नमुनाको रूपमा हरेको भेरी नगरपालिका ३, पीपलडाँडाका ७४ वर्षीय केशवजंग शाह बताउँछन् । तत्कालीन जाजरकोटी राजाकी छोरी बालकुमारी शाहको सक्रियतामा पुल निर्माण भएको थियो ।


बालकुमारी चन्द्रशमशेरकी कान्छी रानी थिइन् । बालकुमारीले जाजरकोटको खलंगामा बसोबास गर्ने आफ्ना माइतीलाई भेरी नदी वारपार गर्न असुविधा हुँदा पुल निर्माणका लागि आग्रह गरेपछि चन्द्रशमशेरले मटेलामा झोलुंगे पुल बनाइदिएको शाहले बताए । पुल बन्नुअघि यहाँका बासिन्दालाई रुकुम, सल्यान, सुर्खेतलगायत ठाउँमा आवतजावत गर्न डुंगाको सहायताले भेरी नदी वारपार गर्नुपर्ने बाध्यता थियो ।


भेरी नदी डुंगा तथा पौडी खेलेर वारपार गर्ने क्रममा पटकपटक स्थानीयको ज्यान जाने गरेको घटनाप्रति बालकुमारी चिन्तित भएर चन्द्रशमशेरलाई पुल निर्माण गर्न बाध्य पारेको उनको भनाइ छ । ‘चन्द्रशमशेरले पुल निर्माणमा केही समय बेवास्ता गर्दा बालकुमारीले दरबारमा खानासमेत नखाएरै बसेको सुन्नमा आएको थियो, निकै प्यारी पत्नी भएकाले पनि बालकुमारीको आग्रहलाई स्विकारेर पुल निर्माण गराएको किंवदन्ती छ,’ शाहले भने, ‘मटेला पुल निर्माण भएपछि जाजरकोटवासीलाई रुकुम, सल्यानलगायत ठाउँमा आवतजावत गर्न सहज भएको थियो ।’


पुल निर्माणका लागि स्कटल्यान्डको एवरडिनस्थित जोन एम हेन्डरसन एन्ड कोअपरेसन लिमिटेड कम्पनीले सम्पूर्ण सामग्री उत्पादन तथा जडान गरेको थियो । पुल निर्माणमा के कति लागत खर्च भएको थियो भन्ने यकिन विवरण थाहा नभएको इन्जिनियर नीरज शाहले बताए । पुलको डिजाइनिङ नेपालका प्रथम इन्जिनियर कुमारनरसिंह राणाले गरेको उनले जनाए । ९० मिटर लम्बाइको पुल नेपालकै पहिलो झोलुंगे पुल भएको शाहको दाबी छ ।


पुलका सामग्री २० हात्ती र स्थानीयले निर्माणस्थलमा पुर्‍याएको स्थानीय अगुवाको भनाइ छ । नेपालगन्जदेखि दुई महिना लगाएर पुलका सामग्री भेरी किनारा हुँदै मटेला पुगेको थियो । स्थानीयले पुलका सामग्री ढुवानी गर्दा खाना खर्चबाहेक अन्य रकम पाएका थिएनन् । मटेला पुलमा दैनिक सयौं सर्वसाधारण आवातजावत गर्छन् । देशकै सबैभन्दा पुरानो र गुणस्तरीय मटेला पुल पुरातात्त्विक सम्पदाको रूपमा दर्ता गरेर ऐतिहासिक महत्त्वलाई जोगाउनुपर्ने शाहको भनाइ छ ।


केही समययता पुलका प्लेट र जाली जीर्ण बन्न थालेको जिल्ला समन्वय समिति उपप्रमुख ज्ञानीप्रसाद शर्माले बताए । इतिहास र विकासको उत्कृष्ट नमुना झल्काउने यो पुल पर्यटकीय दृष्टिकोणले पनि महत्त्वपूर्ण भएको उनले जनाए । ऐतिहासिक पुलको मर्मतसम्भार तथा सुरक्षामा सरोकारवालाको ध्यान जान जरुरी भएको उनी बताउँछन् ।

प्रकाशित : चैत्र ५, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?