कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बर्डफ्लुः आसपास क्षेत्रमा उच्च सतर्कता

रासस

काठमाडौँ — काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।

बर्डफ्लुबाट कुखुरा मर्ने क्रम जारी रहेसँगै आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइएको नगर पशु स्वास्थ्य शाखा प्रमुख डा जयप्रकाशराय यादवले बताए ।


उनका अनुसार तारकेश्वर-७ फुटुङको प्रभावित स्थानका तीन किमी क्षेत्रभित्र रहेका प्रत्येक फार्मको कुखुराको लक्षण जाँच गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी चल्ला, अण्डा, दानालगायत वस्तुमा केही दिन रोक लगाइने प्रमुख यादवले बताए ।


त्यस्तै स्थानीय स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकालाई दुई समूहमा परिचालन गरी स्थानीयवासीलाई जनचेतनामूलक कार्यक्रम गरी उनीहरुमा चेतना अभिवृद्धि गर्ने कार्य सञ्चालन गर्दै आएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताए ।


बर्डफ्लुबाट तारकेश्वर –७ का श्यामसन्दुर बस्नेतको सागर पोल्ट्री फार्मका २८ हजार र श्यामकुमार बस्नेतको आकाश पोल्ट्री फार्मको आठ हजार कुखुरा नष्ट गरिएको थियो । आसपासका अन्य फार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेपछि परीक्षणका लागि पशु स्वास्थ्य कार्यालय पठाइएको छ । कृषकलाई जैविक सुरक्षामा ध्यान दिन पनि आग्रह गरिएको छ ।

प्रकाशित : चैत्र ५, २०७५ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?