२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

वाणिज्य बैंकको 'रातो घर' फिर्ता

१४ वर्षपछि भवन फिर्तासँगै पुरानो भवन भत्काएर १५ करोडमा नयाँ बनाउने बैंकको तयारी
घनश्याम गौतम

रूपन्देही — राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर कार्यालय राख्दै आएको नेक्रवित्रम चन्द नेतृत्वको नेकपाको बुटवल स्थित कार्यालय ‘रातो घर’मा प्रहरीले खानतलासी गर्दै भवन फिर्ता गराएको छ  । प्रहरीले पार्टीको बोर्ड हटाएर भित्र रहेका सामग्रीसमेत जफत गरेको छ  ।

वाणिज्य बैंकको 'रातो घर' फिर्ता

कब्जा भएको १४ वर्षपछि आफ्नो स्वामित्वमा आएको जीर्ण भवन बैंकले तत्काल भत्काउने भएको छ । त्यसमा १५ करोड लागतमा नयाँ व्यावसायिक भवन बन्नेछ ।


बैंकको क्षेत्रीय कार्यालय रहेको सिद्धार्थ राजमार्गमै रहेको दुई तले भवनमा ०६१ सालमा माओवादीले बम विस्फोट गराएका थिए । विस्फोटपछि बैंकको क्षेत्रीय कार्यालय पोखरा स्थानान्तरण भएको थियो । खाली रहेको भवन माओवादी शान्ति प्रक्रियामा आएलगत्तै कब्जा गरेर पार्टी कार्यालय सञ्चालन गरेका थिए । माओवादी विभाजनपछि चन्द नेतृत्वको पार्टीले कार्यालय कब्जामा लिएको थियो । बैंकको केन्द्रीय कार्यालयले पछिल्लो एक वर्षदेखि निरन्तर घर खाली गराइदिन स्थानीय प्रशासनलाई पत्राचार गर्दै आएको थियो ।


घर खाली गराउन झन्डै ६ महिनाअघि जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठक बसेर खाली गराउने निर्णय गरेको थियो । चन्द नेतृत्वका नेताको दबाब र पार्टी खुल्ला राजनीतिमै रहेको भन्दै प्रशासनले घर खाली गराउन सकेको थिएन । अहिले पार्टीमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सोमबार बेलुकी प्रहरी लगाएर घर खाली गराइएको हो । सिद्धार्थ राजमार्गको पाल्पारोडमा ११ कट्ठामा रहेको २ तले भवन ‘रातो घर’का रूपमा परिचित छ ।


इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले कार्यालयमा टेवुल, कुर्चीबाहेक अन्य कुनै महत्त्वपूर्ण कागजात फेला नपरेको बताए । ‘अहिले भवन हाम्रो नियन्त्रण र निगरानीमै छ,’ उनले भने, ‘मूल गेटमा बैंकले आफ्नै ताला लगाएको छ ।’ पार्टीमा प्रतिबन्ध लागेसँगै उनीहरूले कार्यालय छोडेका थिए । दुई तले भवनको माथिल्लो तलामा पार्टीको कार्यालय थियो । तल्लो तलामा पार्टी निकट मजदुर बस्दै आएका थिए । प्रहरीले मजदुरलाई पनि दुई दिनभित्र सामान अन्यत्र सारेर घर खाली गर्न निर्देशन दिएको छ ।


प्रहरीले खानतलासी गरेर भवन नियन्त्रणमा लिएकोमा चन्द नेतृत्वको पार्टीले भने विज्ञप्ती जारी गरेर विरोध जनाएको छ । पार्टीका रूफन्देही इन्चार्ज शरद ओली र सेक्रेटरी अमर आरसीले संयुत्त विज्ञप्ति जारी गर्दै कार्यालयमा बैंकले ताला लगाएकोप्रति विरोध गरेको छ । विज्ञप्तिमा प्रहरी र बैंकका कर्मचारीको हस्तक्षेपको विरोध गर्दै कठोर निर्णय लिन बाध्य हुने चेतावनी दिइएको छ ।


बैंक स्रोतका अनुसार यसअघि बैंकका कर्मचारीसँगको छलफलमा पार्टीले कार्यालय रहेको क्षेत्रको आधा जग्गा माग्दै आएको थियो । बैंकले अस्वीकार गरेपछि जग्गा र भवन पार्टीकै नियन्त्रणमा थियो । बैंकको भवनसहित ११ कट्ठा जग्गा पनि छ । वाणिज्य बैंकका बुटवल शाखा प्रमुख विनोद पाण्डेले जीर्ण भवन भत्काएर बैंकले कार्यालय प्रयोजनसहितको व्यावसायिक भवन निर्माणका लागि ठेक्का सम्झौता समेत गरिसकेकाले भवन भत्काउने तयारी भइरहेको बताए ।


‘निर्माण व्यवसायी समेत आइसकेका छन्,’ उनले भने, ‘अब पुरानो भवन भत्कार नयाँ निर्माण सुरु हुनेछ ।’ पुरानो र जीर्ण भवन भत्काएर १५ करोड बढी लागतमा प्रादेशिक स्तरको कार्यालय रहने गरी भवन निर्माण हुने उनले बताए । बैंकले ३ वर्षअघिदेखि नै भवन निर्माणको प्रक्रिया अघि बढाएको उनले बताए ।


प्रकाशित : चैत्र ६, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?