२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

त्रिवि पदाधिकारी बर्खास्त गर्न माग

काठमाडौँ — प्रा.डा. गोविन्द केसीले न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गरी त्रिवि पदाधिकारीलाई तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । डा. केसीले मेडिकल कलेजका नाममा विद्यार्थी लुट्ने क्रम अन्त्यका लागि पहल गर्नसमेत सरकारसित आग्रह गरेका हुन् ।

त्रिवि पदाधिकारी बर्खास्त गर्न माग

उनले बिहीबार विज्ञप्ति जारी गर्दै विद्यार्थीमाथि 'ब्ल्याकमेलिङ' गरी ठगी गर्ने कलेजका मालिकलाई फौजदारी अभियोगमा मुद्दा चलाउन भनेका छन् । मेडिकल माफियाहरूले चलाइरहेको अर्बौंको ठगी धन्दा तत्काल रोकी तुरुन्त कारबाही र त्यस्तो अपराधलाई संरक्षण गर्ने विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त नगरे कुनै पनि बेला सत्याग्रहसहितको आन्दोलनमा उत्रने चेतावनीसमेत उनले दिएका छन् ।


मेडिकल कलेजले विद्यार्थीसँग अनुचित रूपमा लिएको अतिरिक्त शुल्कसमेत तत्काल ब्याजसहित फिर्ता गर्दै विद्यार्थीको पठनपाठन सुचारु गर्न विज्ञप्तिमार्फत माग गरिएको छ । डा. केसीले गण्डकी मेडिकल कलेजका पदाधिकारीविरुद्ध विद्यार्थीले जाहेरी दिएपछि पक्राउ पुर्जीसमेत जारी भइसक्दा पनि विश्वविद्यालय पदाधिकारीले कलेजमाथि कुनै कारबाही नगरेर अपराधीलाई बचाउने मात्रै नभई विद्यार्थीको भविष्य बिगार्न लागिपरेको आरोप लगाएका छन् ।


विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री पनि अर्बौं ठगी धन्दाको रमिते बनिरहेको उल्लेख गर्दै जारी विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्री र उनको सरकारले सिर्जना गरेको भ्रष्टाचारप्रतिको असीमित सहनशीलता तथा चौतर्फी दण्डहीनताका कारण यस्तो भएको हो ।'


हाल सरकारले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजको ठगीलाई वैधता दिने केयू पदाधिकारीलाई पनि बर्खास्त गरेर दुवै संस्थामा योग्य र इमानदार व्यक्तिलाई नियुक्त गर्न उनले माग गरेका छन् ।



प्रकाशित : चैत्र ७, २०७५ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?