२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

भाषा उत्तीर्ण साढे ९ हजार नेपाली कोरिया जान पाएनन्

होम कार्की

काठमाडौँ — रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षामा उत्तीर्ण भएकामध्ये ९ हजार ४ सय नेपाली कोरिया जान पाएका छैनन् । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार अहिलेसम्म ६९ हजार ९८ जना भाषा परीक्षा उत्तीर्ण भएकामा ५९ हजार ६ सय ९८ मात्र कोरिया जान पाएका छन् । कोरियाले सन् २००८ देखि नेपाली कामदारलाई कृषि र उत्पादन क्षेत्रमा लैजान थालेको हो । 

भाषा उत्तीर्ण साढे ९ हजार नेपाली कोरिया जान पाएनन्

भाषा परीक्षामा सहभागी भई उत्तीर्ण भएका सबै कोरिया जान पाउने गरेका छैनन् । परीक्षा छनोटको आधारमात्रै बनेको छ । कोरियाले हरेक वर्ष कोटा निर्धारण गर्छ । त्यसैअनुसार भाषा परीक्षामा उत्तीर्ण हुनेको नामावली प्रकाशन हुँदै आएको छ । कामदार आफैंले पनि रोजगारदाता छनोट गर्न पाउँदैनन् ।


'हामीले परीक्षा सञ्चालन गर्ने र रोजगारदाताले चयन गरेकालाई पठाउन समन्वय मात्रै गर्ने हो,' ईपीएसका सूचना अधिकारी शोभाकर भण्डारीले भने । भाषा परीक्षा पास गर्नेले दुई वर्षभित्र रोजगारदाताले चयन नगरे पुनः परीक्षामा सहभागी हुनुपर्छ । 'हाम्रो समय र पैसा मात्रै सकियो,' कोरिया जान नपाएका ताप्लेजुङका रमेश लिम्बूले भने, 'भाषा सिक्न काठमाडौंमा आए । नाम निस्कियो । कोरिया जान पाइन्छ भनेर कुरेर बसियो । अवसर आउँदा अरू काम पनि गरिएन ।'


कोरियाले कामदार लैजान हरेक वर्ष भाषा परीक्षा लिने गरेको छ । हालसम्म छुट्याएको कोटाअनुसार कामदार लिएको छैन । २००८ मा ६ हजार ७ सय ८६ कामदारको कोटा छुट्याएको थियो । सुरुको वर्ष ८१ महिलासहित २ हजार ८ सय १४ जना कामदार लगेको थियो । दोस्रो वर्ष भाषा परीक्षा गरेन । पहिलो वर्ष नै पास भएको मध्येबाट थप १९ सय ६१ जना जान पाए ।


२०१० का लागि ४ हजार एक सय ८० पास भए । त्यस वर्ष दुई हजार तीन सय ३९ जना मात्रै जान पाए । सन् २०११ मा १५ हजार ६ सय ७८ उत्तीर्ण भएकामध्येबाट ३ हजार ९ सय ८३ जना मात्रै जान पाए । २०१२ मा परीक्षा भएन । अघिल्लो वर्ष उत्तीर्ण भएकामध्येबाट ६ हजार तीन सय ३२ मात्रै कोरिया जान पाए ।


सन् २०१३ मा ७ हजार ७ सय ७८ जना पास भएकामध्ये ५ हजार ४६ जना मात्रै जान पाए । सन् २०१४ मा तीन हजार ४ सय ७८ जना पास भएकामा ६ हजार २८ जना जान पाए । २०१५ मा ८ हजार ३ सय ७० जना पास भएकामा ५ हजार ८ सय ६६ जान पाए ।


पछिल्ला तीन वर्षहरूमा पनि पास भएका सबै जान पाएनन् । २०१६ मा ८ हजार ७९, २०१७ मा ७ हजार ८ सय र २०१८ मा ८ हजार ५ सय १ जना कोरिया जान पाएका छन् । यस वर्षको भाषा परीक्षाका लागि शुक्रबारबाट फाराम भर्ने समय खुलेको छ । १८ देखि ३९ वर्षभित्रकाले कोरिया जान फाराम भर्न पाउँछन् । २०१९ का लागि कोरियाले १० हजार ५० नेपालीको कोटा छुट्याएको छ ।


भण्डारी रोजगारदाताले छनोट गर्न नसक्नेलाई पठाउन नसकिने बताउँछन् । 'रोजगारदाताले आफूलाई चाहिने कामदारको संख्या कोरियाको मानव संसाधन विभागमा पठाउनेछ । विभागले सबै देशका नागरिकको संख्या राखेर रोजगारदातालाई चाहिनेभन्दा तीन गुणा बढी सूची उपलब्ध गराउनेछ,' उनले भने, 'जसलाई रोजगारदाताले छनोट गर्छ । त्यही कामदार जान पाउनेछन्, छनोट नभएका कामदारको नाम मानव संसाधनको रोस्टरमा गएर पुनः बस्नेछ ।'


त्यसरी रोस्टरमा बसेको दुई वर्षभित्र रोजगारदाताले छनोट नगरे फेरि भाषा परीक्षामा पास हुनुपर्नेछ । यसबारे सरकारले कोरियासँग संवाद गर्नुपर्ने भण्डारीले बताए । 'भाषा परीक्षामा पास हुन धेरै खर्च र मिहिनेत गरेको हुन्छ । पास गरिसकेपछि जान पाउने व्यवस्था गर्न पहल हुनुपर्ने देखिन्छ,' उनले भने ।


सुरक्षित र राम्रो कमाइ हुने भन्दै कोरिया नेपालीका लागि आकर्षणको गन्तव्य भइरहेको छ । तर, पछिल्लो समय काममा तनाव हुन थालेपछि आत्महत्याको दर र कामदारमा डिप्रेसन हुनेक्रम बढदो छ । 'कोरियालाई बलिया कामदार चाहिएको हो । त्यस्ताले भाषा परीक्षा पास गर्न सकेका छैनन्, पास गर्नेले शरीरका बलमा हुने खालको काम गर्न इच्छा गर्दैनन्,' उनले भने ।


प्रकाशित : चैत्र ७, २०७५ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?