१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामै परेनन् : स्वास्थ्यमन्त्री यादव

भीम घिमिरे

पोखरा — शिक्षा, स्वास्थ्य र कृषि जुनसुकै सरकारको पनि बजेट प्राथमिकतामा नपरेका कारण जनताको अपेक्षाअनुरुपको सुधार हुन गाह्रो रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बताएका छन् । संघीय प्रेस फोरमद्वारा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'देशको तीन करोड हाराहारी जनतालाई अहिले २१ हजार डाक्टर आवश्यक छ । हामीसँग १४ सय जनामात्रै छन् ।'

शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामै परेनन् : स्वास्थ्यमन्त्री यादव

मुलुकको कुल बजेटबाट स्वास्थ्यका लागि विनियोजन हुने ४ दशमलव ४ प्रतिशतमा पनि तलबभत्ता लगायत प्रशासनिक खर्चमा ४ प्रतिशत खर्च हुने भएकाले सरकारले लगानी थप्न आवश्यक रहेको उनले बताए ।

'संघीय समाजवादी फोरम अहिलेको सरकारमा सामेल हुँदा बजेट बनिसकेको थियो,' उनले भने, 'आगामी वर्षदेखि बजेट दोब्बर पारेर लैजानुपर्छ भन्नेमा हाम्रो जोड छ । त्यसो भएमात्रै स्वास्थ्य क्षेत्रमा कल्याणकारी सेवा वृद्धि गर्न सकिन्छ ।' कृषिमा हुने लगानीले जनताले खान पाउने र स्वास्थ्यमा हुने लगानीले रोगव्याधीमा उपचार पाएपछि शिक्षा पनि सुलभ बनाउन सकेमात्रै दलहरूले दिने नाराअनुसार जनताले स्वस्थ भएर उत्पादनमूलक काम गर्नसक्ने उनले बताए ।


'बजेट र जनशक्ति थोरै छ भनेर अहिले पनि सरकारी स्वास्थ्य सेवाले काम नगरेको अवस्था होइन,' उनले भने, 'जति छ त्यसैले पनि अहिले सकेसम्म सेवा दिएको अवस्था छ । जनताले सरकारी स्वास्थ्य संस्थालाई गरेको विश्वासमा हामीले लगानी थप्दै अझै गुणस्तरीय बनाउँदै लैजानुपर्छ ।' जनशक्ति र पूर्वाधार व्यवस्थापनमा सरकारले लगानी बढाउँदै लैजाने नीति लिएकाले आगामी वर्षदेखि धेरै सुधार आउने उनले बताए ।


सरकारमा रहनु रणनीति

संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादवले संविधान संशोधनको एजेण्डा लिएर सरकारमा सामेल भएकाले आफ्नो उदेश्यमा विचलित नभएको दाबी गरेका छन् । 'प्रधानमन्त्रीजीले संविधान संशोधनको प्रतिबद्धता गर्नुभएको छ,' उनले भने, 'नागकिरता लगायत केही ऐनमा संशोधन पनि सुरु भइसकेको छ । त्यसैले संशोधन हुन्छ भन्ने हामीले बुझेका छौं ।' दुई तिहाइको सरकारलाई समर्थन गर्नु र मन्त्रीमण्डलमा रहनु पार्टीको एउटा रणनीति पनि भएको दाबी उनले गरे ।


'जुन दिन सरकारले संशोधन गर्दैन भन्ने प्रस्ट हुन्छ हामी सडकमा जान्छौं, सडक हाम्रा लागि नयाँ होइन,' उनले भने, 'तर, दुई/दुईजना अध्यक्ष भएको पार्टीका दुवैले गरेको प्रतिबद्धतामा हामीले प्रक्रिया अगाडि बढुञ्जेल पर्खनैपर्ने स्थिति छ ।'


राजपासँग भइरहेको पार्टी एकीकरणको विषयमा उनले छलफल सकारात्मक तवरले अघि बढेको बताए । 'एउटा समाजवादी धारको बलियो वैकल्पिक पार्टी देशको आवश्यकता पनि हो,' उनले भने, 'हाम्रो कुरा राजपामात्रै होइन नयाँ शक्तिसँग पनि भइरहेको छ । केही साना पार्टी संघीय समाजवादीमा समाहित पनि भइसकेका छन् ।'


राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको विषयलाई उनले सहज प्रजातान्त्रिक अभ्यासको संज्ञा दिए । 'राजपा संघीय सरकारमा थिएन तर प्रदेश र स्थानीय सरकारमा छ । हामीसँगै छौं,' उनले भने, 'त्यसैले राजपाले सरकार छाड्यो भनेर अर्थ लगाउनुहुँदैन ।' सीके राउतसँग सरकारको सहमतिको प्रसंगमा उनले शान्तिपूर्ण राजनीतिमा आउन पाउनु सबैको अधिकार भएकाले राउत पनि यो बाटोमा आउनुलाई स्वागत गर्नुपर्ने बताए ।

प्रकाशित : चैत्र ९, २०७५ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?