एसईईमा नायिकादेखि सांसदसम्म

गणेश राई

काठमाडौँ — नायिका करिष्मा मानन्धर काठमाडौंबाट एसईईको जाँच दिँदैछिन् । नेकपाकी सचेतक शान्ता चौधरी पनि गृहजिल्ला दाङको तुल्सीपुरमा एसईईकी परीक्षार्थी हुन् । अभिनेत्री मानन्धर र मुक्त कमैयाबाट सक्रिय राजनीतिमा आएकी चौधरीसँगै मुलुकभर ४ लाख ७५ हजार परीक्षार्थी आइतबार सुरु एसईईमा सहभागी हुँदैछन् ।

एसईईमा नायिकादेखि सांसदसम्म

परीक्षार्थीहरू स्कुले उमेर १४ देखि १८ वर्षका मात्रै छैनन्, सेलेब्रिटी, जनप्रतिनिधि र बूढापाका पनि छन् । परीक्षा नियन्त्रण कार्यालयसँग एसईई दिने पाको उमेरकाको संख्या भने यकिन छैन ।


मानन्धरले कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी हुन् । यही विद्यालयको नियमित विद्यार्थीका रूपमा डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिँदैछिन् । खुला विद्यालय प्रणालीमा पढेकी प्रतिनिधिसभा सांसद ३८ वर्षीया चौधरीले सेन्टर मावि तुल्सीपुर केन्द्रबाट जाँच दिँदैछिन् । १८ वर्ष कमलरी बसेकी शान्ताले दाङको महेन्द्र माविमा ८ कक्षामा भर्ना भएर पढ्न थालेकी थिइन् । उनी एमालेबाट २०६४ र २०७४ मा दुईपल्ट सांसद भएकी हुन् । उनकी १७ वषर्ीया छोरी बिनुले पनि यही वर्ष सिर्जना बाल विद्यालय काठमाडौंबाट एसईई दिँदैछिन् ।


औपचारिकबाट औपचारिक शिक्षाप्रति नायिका मानन्धर र सांसद चौधरीजस्ता व्यक्तिले देखाएको लगाव प्रेरणादायी प्रसंगका रूपमा लिनुपर्ने शिक्षाविद् औंल्याउँछन् । 'नायिका करिष्मा मानन्धरले कक्षा ८ बाट अध्ययन गर्नुपर्ने, ६० वर्षको पाको व्यक्ति कक्षा १ बाट पढ्नुपर्ने दृष्टान्त छ,' बेलायतमा रहेका साहित्यकार विश्वासदीप तिगेलाले फेसबुक वालमा लेखेका छन्, 'त्यो प्रेरणादायी कुरा त हुँदै हो, तर अन्य मुलुकमा बढी उमेरका, धेरै अनुभव लिइसकेकालाई एकैपटक ब्रिज कोर्स गराएर माथिल्लो तहमा अध्ययनको सुविधा हुन्छ । नेपाल सरकारले कहिले थाहा पाउने होला ?'


शिक्षाविद् विद्यानाथ कोइराला विद्यालय शिक्षा नियमित र खुलाबाट पढ्न पाउने नीति भए पनि पाको उमेरलाई लक्षित ब्रिज कोर्स अहिलेसम्म नेपालमा नभएको बताउँछन् । 'बालबालिकालाई उमेर बढेसँगै पढ्ने र पढाउने स्कुल छन्, पाको उमेरका मानिसले अनौपचारिक मोडबाट मात्र शिक्षा हासिल गर्न सक्ने अवस्था छ,' उनले भने, 'एउटै स्कुलले औपचारिक र खुलाबाट पढाइ सञ्चालन गर्ने नीति छैन । यो व्यवस्था हुनुपर्छ । जसमा पठनपाठन छुट्टाछुट्टै भए पनि जाँच एउटै लिने प्रणाली बन्नुपर्छ ।'


सरकारको नीतिअनुसार अहिले कक्षा १-३, कक्षा १-५, कक्षा ६-८ र कक्षा ९-१० को अनौपचारिक शिक्षा प्याकेज छ । यो प्याकेज क्षेत्रगत रूपमा कोटाका आधारमा छुट्याइएको छ । कक्षा ११ र १२ को अनौपचारिक शिक्षाको पाठ्यक्रम प्याकेज बनाउन बाँकी रहेको उनले उल्लेख गरे । कक्षा १२ सम्म विद्यालय शिक्षा मानिन्छ । त्यसभन्दा माथि विश्वविद्यालय शिक्षा लागू हुन्छ । यसै वर्षबाट नेपालमा खुला विश्वविद्यालय सुचारु रहेकाले १२ कक्षा वा सोसरहको शिक्षा हासिल गरेकाले खुला मोडबाट उच्च शिक्षा हासिल गर्न सक्छन् ।


प्रकाशित : चैत्र ९, २०७५ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?