कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चन्द समूहका उच्च नेताहरू निगरानीमा

काठमाडौं र काभ्रे — प्रहरीले नेक्रवित्रम चन्द समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेसँगै अन्य उच्च नेताहरूमाथि निगरानी बढाएको छ । प्रहरीको विशेष ब्युरो, महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले वलीसहित नेतालाई काभ्रेको खानीखोला गाउँपालिका– ३ बाट पक्राउ गरेको हो ।

चन्द समूहका उच्च नेताहरू निगरानीमा

शुक्रबार राति समातिएका उनीहरूलाई शनिबार काठमाडौं ल्याइएको छ । केन्द्रीय नेताहरूको मोबाइलमाथि निरन्तर निगरानी राखिरहेको प्रहरीले चैत १ गते पोलिटब्युरो सदस्य मोहन कार्कीलाई ललितपुरको इमाडोलबाट पक्राउ गरेको थियो ।

उच्च स्रोतका अनुसार फागुन १० मा नख्खुस्थित एनसेल कार्यालयमा भएको विस्फोटको जिम्मा लिएलगत्तै प्रहरीले मध्य कमान्ड इन्चार्ज वलीको खोजी तीव्र पारेको थियो । शुक्रबार उनी काठमाडौं आउँदै गरेको सूचना पाएपछि सक्रियता बढाएको प्रहरीले वली, विजय श्रेष्ठ, शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, ललित लामा, सञ्जिव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्कालाई समातेको हो ।


पक्राउ परेकामध्ये अधिकारी ललितपुर जिल्ला केन्द्रित भएर चन्द समूहको गतिविधि विस्तार गरिरहेका थिए ।

महाशाखाको टोलीले चैत ५ गते राति नै काभ्रेको काफलडाँडाबाट पक्राउ गर्न खोजे पनि सेल्टर लिइरहेको घरमा झोला, चस्मा र सुगरको औषधि छाडेर वली भाग्न सफल भएका थिए । काठमाडौंबाटै पक्राउ परेका नुमबहादुर विक र डिकेन्द्र राईको सूचनाका आधारमा काफलडाँडा पुगेको महाशाखाको टोलीले त्यहाँबाट झापाका शिव धिताल र सिन्धुपाल्चोकका विशाल तामाङलाई पक्राउ गरेको थियो ।

विक, राई, धिताल र तामाङ नख्खुस्थित एनसेल कार्यालय र फागुन २४ मा बसुन्धरास्थित म्यानपावर व्यवसायी रोहन गुरुङको घरमा भएको विस्फोटमा संलग्न भएको महाशाखाको दाबी छ । नख्खु विस्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु र दुई जना गम्भीर घाइते भएका थिए । बसुन्धरा विस्फोटमा चार जना घाइते भएका थिए ।

पक्राउबाट जोगिएका वलीले चैत ७ मा प्रेस विज्ञप्ति जारी गरी कार्यकर्ता पक्राउको विरोध गरेका थिए । विज्ञप्तिमा प्रहरी तथा सुरक्षा संगठनमाथि आक्रमण गर्ने पार्टीको नीति नरहेको उल्लेख थियो । पक्राउ परेकालाई तुरुन्त रिहा नगरे जनप्रतिरोध कारबाही अघि बढाउने चेतावनीसमेत दिइएको थियो ।

पक्राउ परेका सबैलाई प्रहरीले राज्य विप्लव, ज्यान मुद्दा र हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । प्रहरीले उनीहरूको साथबाट बरामद भएको मोबाइलको डिजिटल फरेन्सिकबाट सूचना निकाल्ने र त्यसका आधारमा थप कारबाही बढाउने जनाएको छ । नख्खु र बसुन्धरामा विस्फोट गरिएकै साता सेनाको टोलीले पुतलीसडक र स्युचाटारमा राखिएका प्रेसकुकर बम डिस्पोज गरेको थियो । स्युचाटारमा डिस्पोज गरिएको र म्यानपावर व्यवसायी रोहन गुरुङको घरमा विस्फोट गराइएको शक्तिशाली टाइम बम रहेको प्रहरीले जनाएको छ ।

उच्च नेता निगरानीमा

राजधानीसहित देशका विभिन्न भागमा भएका विस्फोटका घटनाको अनुसन्धान गरिरहेको प्रहरीले चन्द समूहका गतिविधिको पनि सूक्ष्म अनुसन्धान गरिरहेको छ । उच्च प्रहरी स्रोतका अनुसार सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले केन्द्रीय नेताहरूको मोबाइलमाथि निरन्तर निगरानी राखेको थियो ।

प्रहरीले सूचना संकलन, निगरानी र कारबाहीको काम गोप्य राख्न प्रहरी प्रधान कार्यालयअन्तर्गतको विशेष ब्युरोलाई सक्रिय बनाएको छ । काफलडाँडा अप्रेसनको जिम्मा पाएर अपराध महाशाखाको टोली काभ्रे पुगिसक्दा पनि जिल्ला प्रहरी कार्यालयले पत्तो पाएको थिएन । महाशाखाको टोलीलाई विशेष ब्युरोको सहयोगी टोलीले साथ दिएको थियो ।

प्रहरीले चन्द समूहमा अयोग्य पूर्वलडाकुहरू रहेको र उनीहरूसँग सशस्त्र युद्धकालीन केही हतियारसमेत रहेको निष्कर्ष निकालेको देखिन्छ । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार चन्द समूह नियन्त्रणमा लिनै नसक्ने गरी नफैलिएको र हतियार नियन्त्रण गर्नेबित्तिकै संगठनलाई कमजोर बनाउन सकिने प्रहरीको बुझाइ छ ।

नख्खु विस्फोटकै साता प्रहरीले धरानको पानमारा सडकखण्डमा चन्दका कार्यकर्ता सन्दीप भनिने देवकुमार लिम्बूलाई अत्याधुनिक लङ मेसिन गन र सेनाको मात्रै पहुँचमा रहेको भनिएको एम १६ हतियारसहित समातेको थियो । त्यस्तै फागुन २३ मा प्रहरीले चन्दको गृहजिल्ला कपिलवस्तुको शिवराज नगरपालिका ९ स्थित कार्यकर्ता दुर्गाबहादुर रोकालाई पक्राउ गरी उनको घरबाट दुई थान एसएमजी, त्यसमा लाग्ने गोली ६८ राउन्ड र एक थान पेस्तोललगायत हतियारजन्य सामग्री फेला पारेको थियो । यी दुवै घटनापछि प्रहरीले चन्दसँग केही द्वन्द्वकालीन हतियार रहेको भन्दै उच्च सतर्कता अपनाएको थियो ।

चन्द समूहसँग द्वन्द्वकालकै हतियार रहे पनि कति छ भन्नेमा प्रहरी प्रस्ट देखिँदैन । एक उच्च प्रहरी अधिकारीले भने, ‘भारतबाट पेसेवर अपराधीले भित्र्याउने पेस्तोलका अलावा ठूला हतियार पनि चन्द समूहसँग हुन सक्छ तर कति छन्, त्यसबारे आकलन गर्न सकिएको छैन ।’

वलीको पक्राउलाई प्रहरीले ठूलो सफलताको रूपमा अर्थ्याएको छ । शनिबार मात्रै महानगरीय प्रहरी कार्यालयमा उपत्यकाको सुरक्षा कमान्ड सम्हालिरहेका उच्च प्रहरी अधिकारीको आकस्मिक बैठक बसेको थियो । उक्त बैठकमा वली पक्राउ पर्नु उपलब्धि भए पनि यत्तिमै मध्यक्षेत्रीय कमान्ड पूरै निस्तेज भएको मान्न नसकिने विषयमा छलफल भएको थियो । बैठकमा सहभागी एक प्रहरी अधिकारीले भने, ‘सुदर्शनको पक्राउले काठमाडौंमा पार्टीको पकड कमजोर भए पनि तत्कालै गतिविधि निस्तेज भने नहोला ।’

प्रकाशित : चैत्र १०, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?