कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्ताे रह्याे पहिलाे दिनकाे एसईई

काठमाडौँ — आइतबारदेखि सुरु भएकाे यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भएकाे छ ।परीक्षा नियन्त्रण कार्यालयका अनुसार याे वर्ष मुलुकभर ४ लाख ७५ हजार परीक्षार्थी एसईईमा सहभागी छन् । एसईईमा सेलेब्रिटी, जनप्रतिनिधि, कर्मचारी किरियापुत्रीलगायत सहभागी भएका छन् ।

यस्ताे रह्याे पहिलाे दिनकाे एसईई

एसईईमा किरियापुत्रीदेखि असईसम्म

आश गुरुङ

लमजुङ– आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्रीदेखि प्रहरीको बहालवाला असई तथा सेनाका हुद्दासम्मले सहभागिता जनाएका छन् ।


बेंसीसहर बजारस्थित जनविकास मावि केन्द्रबाट चितवनको रत्ननगर नगरपालिकास्थित श्रीराम बैद्धिक संस्कृत मंगलम गुरुकूलका परीक्षार्थी दरेश पौडेलले परीक्षा दिएका छन् ।


बेंसीसहर नगरपालिका-७ का पौडेलका बुवाको केही दिनअघि निधन भएपछि उनलाई जनविकासबाटै परीक्षा दिने व्यवस्था गरिएको शिक्षा समन्वय इकाईका प्रमुख नारायण रेग्मीले बताए । पौडेलले पहिलो दिन आइतबार अनिवार्य संस्कृति भाषाको परीक्षा दिएका छन् । केन्द्राध्यक्ष रत्नमान श्रेष्ठका अनुसार स्कूलको कम्प्युटर कोठामा छुट्टै बेन्च राखेर उनलाई परीक्षा दिन व्यवस्था गरिएको छ ।


बेंसीसहर नगरपालिका-२, भकुण्डेस्थित बालकल्याण मावि केन्द्रमा नेपाल प्रहरीका असई ४२ वषर्ीय होमबहादुर थापाले परीक्षा दिएका छन् । उनी जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत छन् । नेपाली सेनाको रोल्पास्थित खड्कदल गुल्मका गुल्म प्रवन्ध हुद्दा ३१ वर्षीय हरिश्चन्द्र पराजुलीले बालकल्याणबाटै पहिलो दिनको परीक्षा दिएका छन् ।


लमजुङको बेंसीसहरस्थित जनविकास मावि केन्द्रबाट एसईई परीक्षा दिँदै चितवनको रत्ननगर नगरपालिकास्थित श्रीराम बैद्धिक संस्कृत मंगलम गुरुकूलका दरेश पौडेल । तस्बिरः आश गुरुङ/कान्तिपुर


यस्तै, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा कार्यरत ३३ वर्षीय विष्णुमाया गुरुङ, स्वास्थ्य चौकी तार्कुघाटमा कार्यरत ३५ वर्षीया कमला नेपाली लगायतले परीक्षा दिएको केन्द्राध्यक्ष तीर्थ न्यौपानेले बताए । उनका अनुसार यी सबै जनविकास मावि खुलाका परीक्षार्थी हुन् ।


जिल्ला शिक्षा समन्वय समितिका प्राविधिक सहायक सुरेन्द्र मण्डलका अनुसार पहिलो दिनको परीक्षामा ३२ जना अनुपस्थित भए । छात्रा १५ जना र छात्रा १७ जना अनुपस्थित भएको उनले बताए । जनविकास खुलाका मात्रै ३ महिला र १ पुरुष परीक्षार्थी अनुपस्थित भएको उनले बताए । आइतबार छात्रा छात्रा १ हजार ५ सय १६ जना र छात्र १ हजार ४ सय ३२ गरी २ हजार ९ सय ४८ जनाले परीक्षा दिएको उनले बताए ।


प्राविधिक विषयतर्फ ५६ जनाले सहभागिता जनाएका छन् । यसमा शैलपुत्री मावि धमिलिकुवा र जनविकास मावि बेंसीसहरका परीक्षार्थी छन् । वीरभक्ति मावि तार्कुघाट केन्द्रबाट सिभिल ईन्जिनियरिङ विषयका ३७ र पशु विज्ञानका १९ परीक्षार्थी रहेका इकाई प्रमुख रेग्मीले बताए ।


जिल्लाभर १८ केन्द्र रहेकोमा केन्द्राध्यक्ष १८ जना, सहायक केन्द्राध्यक्ष २१ जना तोकिएका छन् । सहायक कर्मचारी र कार्यालय सहयोगी १/१ जना छन् । १ सय ५० जना निरीक्षक छन् । हरेक केन्द्रमा १५ जना सुरक्षाकर्मीमा दरले २ सय ७० प्रहरी खटिएका छन् । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पहिलो दिनको परीक्षा शान्त वातावरणमा सम्पन्न भएको र कुनै अमर्यादित क्रियाकलाप नभएको बताए ।


४ दृष्टिविहीन र कैदी पनि सहभागी

नगेन्द्र अधिकारी

काभ्रे– माध्यमिक शिक्षा परीक्षा -एसईई) मा जिल्लाबाट ७ हजार ८७ विद्यार्थी सहभागी भएका छन् । आइतबार सुुरु भएको परीक्षामा नियमिततर्फ ६ हजार ७ सय ९४, एक्जाम्टेड तर्फ २७ र ग्रेड बृद्धीमा ५४ जना सहभागी भएको जिल्ला परीक्षा व्यवस्थापन समितिले जनाएको छ ।


सञ्जीवनी नमूना माविबाट ३ जना दृष्टिविहीन विद्यार्थीले सहयोगीमार्फत परीक्षा दिदैछन् । धुलिखेलस्थित श्रीखण्डपुर मावि परिक्षा केन्द्रबाट दृष्टिविहीन विद्यार्थीहरु प्रविण स्याङतान, बावु लामा, पासाङ लामाले सहयोगीमार्फत परीक्षा दिएका छन् ।


आंशिक दृष्टिविहिन अजितकुमार ठाकुरले पनि सोही केन्द्रमार्फत परीक्षा दिएका छन् । पञ्चकन्या मावि, ठूलोपर्सेलका विकास थापामगरले जिल्ला कारागारबाट परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका शिक्षा शाखा प्रमुख समिरा राईले जानकारी दिइन् ।


अनौपचारिकतर्फ १ सय २१ जना सहभागी भएका छन् प्राविधिक विषयतर्फ १ सय ९ र खुल्लातर्फ ३१ परिक्षार्थी सहभागी छन् । कूल ७ हजार १ सय ३७ मध्ये कक्षा १० मा हाजिरी नपुगेका ५० जना सहभागी हुन अयोग्य भएको समितिले जनाएको छ । ६९ संस्थागत विद्यालय र १ सय ४५ सामुदायिक, ४ प्राविधिक, खुल्ला र अनौपचारिक १/१ विद्यालय समेत गरी २ सय २० विद्यालय सहभागी छन् । जिल्लाभर ४० वटा परीक्षा केन्द्र तोकिएको छ । चैतन्य मावि बनेपामा नगिना कोख श्रेष्ठ र दुलालेश्वर मावि दोलालघाटमा सरिता चौलागाई दुई केन्द्राध्यक्ष महिला छन् ।


दृष्टिविहीनले दिइन् एसईई

कृष्ण थापा

गेर्खुटार (नुवाकोट)– यो वर्षको एसईईमा एक दृष्टिविहीनले परीक्षा दिइरहेकी छिन् । रसुवा उत्तरगयागाउँपालिका ४ कि शर्मिला गलान तामाङले गेर्खुटारस्थित ओममाने पव्लिक स्कूलबाट सहयोगी राखेर परीक्षा दिएका हुन् ।


उनी जन्मजात दृष्टिविहीन हुन । उनले चण्डेश्वरी माविका कक्षा ९ मा अध्ययनरत् छात्र प्रज्ज्वल अधिकारीमार्फत परीक्षा दिइरहेकी छन् । उनको सिम्बोल नम्बर ०२५०८७० भी' रहेको छ । उनको ऐच्छिक विषय अर्थशास्त्र र कार्यालय संचालन र लेखा रहेको छ ।


उक्त केन्द्रका केन्द्रध्यक्ष सरोज बोगटीले छुटै कोठा र शान्त ठाँउमा राखेर परीक्षा दिन लगाएको बताए ।


२ कैदीबन्दी पनि

त्यसैगरी विभिन्न मुद्दामा जेल परेका दुईजना कैदीबन्दीले जिल्ला कारागारबाट एसईई दिइरहेका छन् ।


उनीहरुलाई जेलभित्र नै प्रश्नपत्र र कापी दिएर परीक्षा दिन लगाएको स्थानीय प्रशासनले जनाएको छ ।


मोटरसाइकलबाट लडेर घाइते भई आफैले परीक्षा दिन नसक्ने अवस्थामा रहेका दुईजनाले पनि तल्लो कक्षाका साथी राखेर परीक्षा दिइरहेको शिक्षा अधिकारी मदनकुमार थापाले जानकारी दिए ।


जिल्लामा २४ परीक्षा केन्द्रबाट ४ हजार ४ सय १२ जनाले एसईई दिएको शिक्षा कार्यालयले जनाएको छ । त्यसमध्ये १ सय ३२ जना ग्रेटबृद्धि समूहका छन् ।


सबैभन्दा बढी त्रिभुवनत्रिशूली माविमा ३ सय ८ परीक्षार्थी परेका छन् भने थोरै चोगतेको बागेश्वरी मावि केन्द्रमा ९३ जना परीक्षार्थी रहेको परीक्षा शाखाका प्रास सम्झना थपलियाले बताइन् । जिल्लामा गतवर्ष भन्दा ३ जना परीक्षार्थी घटेका छन् ।


३५ विद्यार्थी अनुपस्थित

विना थापा

कास्की– आइतबार देखि सुरु भएको एसईई परीक्षामा कास्कीबाट ३५ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले जनाएको छ । जसमा १४ जना छात्रा र २१ जना छात्र रहेको विद्यालय निरीक्षक खेमराज पौडेलले जानकारी दिए ।


उनका अनुसार जिल्लाका १० हजार ८ सय ५१ जना परिक्षार्थी मध्य ३५ जनाको अनुपस्थित रहेका हुन । भेटनरी पशु, कम्प्युटर, इन्जिजियर र बालीविज्ञान -प्रविधिक) तर्फ १ सय १४ जना रहेका छन् । २०७३ अघि ग्रेड थोरै आएका नयाँ २७ र पुरानो १९ जना विद्यार्थी रहेका छन् । तीन छात्रा, तीन छात्र गरि ६ जना दृष्टिविहीन पनि परीक्षामा सहभागी छन् ।


'दृष्टिविहीन भएका सबैले अमरसिंह माविबाट परीक्षा दिएका छन् । त्यसैगरी १० जना सुस्तश्रवणले लक्ष्मी मावि अर्घौबाट परीक्षामा सहभागी भएका छन् । बालसुधार गृह सराङकोटबाट १२ जना र कारागारबाट १ जना परिक्षार्थी रहेको पौडेलले बताए ।


जिल्लाको अन्नपूर्ण र रुपा गाउँपालिका गरि दुई गाउँपालिका र महानगरपालिका गरि ३२ वटा केन्द्रमा ३२ जना केन्द्राध्यक्ष, ६२ सहायक केन्द्राध्यक्ष र ५ सय ५० निरीक्षक खटिएका छन् ।

प्रकाशित : चैत्र १०, २०७५ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?