कांग्रेस महामन्त्री कोइरालाले भने - 'धर्मका लागि जनमत संग्रह हुनुपर्ने अभिव्यक्ति दिएको छैन'
बर्दिया — कांग्रेस महामन्त्री शंशांक कोइरालाले हिन्दु धर्मका लागि जनमत संग्रह हुनुपर्ने अभिव्यक्ति नदिएको बताएका छन् । प्रेस युनियन गुलरियाले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेस स्वतन्त्र धर्मको पक्षमा रहेको बताए ।
'धर्म निरपेक्षता राख्ने कि नराख्ने जनमत संग्रहको कुरा भनेको छैन,' उनले भने, 'पत्रकारले होलीका समय के सोधे मैले बुझ्दै बुझिन, संघियता, धर्म निरपेक्षता हाम्रो उपलब्धि भएको चितवनमा आएर भनेको हुँ ।' उनले कांग्रेसको चार तारे झण्डा अन्तरगत एक ताराको अर्थ स्वतन्त्र धर्म भएको बताए ।
पत्रकारहरुको जिज्ञासामा उनले नेत्रविक्रम चन्दसँग वार्ता गर्न आवश्यक भएको बताए । 'उनीहरुको पार्टीलाई आतंककारी भन्दै प्रतिबन्ध गर्दा समस्या समाधान हुँदैन,' उनले भने, 'वार्ता नै समस्याको समाधान गर्ने एकमात्र उपाय हो ।'
प्रधानमन्त्रीले सेनालाई आफ्नो मातहातमा राख्नु भनेको संविधानको विपरित हुने भन्दै उनले सेनाजस्तो स्वतन्त्र निकायलाई कब्जा गर्ने प्रधानमन्त्रीको रणनीति भएको बताए । मुलुकमा न्यायपालिका, सञ्चार लगायतका महत्वपूर्ण अंगमा हस्तक्षेपले लोकतन्त्रलाई सफल नपार्ने उनले बताए । महामन्त्री कोइरालाले कांग्रेस जिल्ला पार्टी कार्यालयको उद्घाटन गरेका छन् ।
प्रकाशित : चैत्र १०, २०७५ १३:५२