२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

गैंडाको काल सेफ्टी ट्यांकी

रमेशकुमार पौडेल

चितवन — चोरी सिकारीका कारण नमरे पनि अन्य कारणले गैंडा मर्ने क्रम यो वर्ष बढेको छ । गैंडा हिँड्ने क्षेत्रका होटलको सेफ्टी ट्यांकी पनि उनीहरूको काल बनेको छ । पश्चिम चितवनको एक पर्यटकीय होटलको सेफ्टी ट्यांकीमा परेर शनिबार २५/३० वर्षको पोथी गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए ।

गैंडाको काल सेफ्टी ट्यांकी

भरतपुर २३, जगतपुरमा रहेको होटल टाइगर ल्यान्डको ट्यांकीमा परेर गैंडा मरेको हो । 'गैंडा मरेपछि हामीले होटल सञ्चालकलाई पत्र काटेर सोधपुछका लागि बोलाउने भएका छौं,' उनले भने । होटलको सेफ्टी ट्यांकीमा गैंडा परेको यो नै पहिलो घटना भने होइन । अघिल्लो वर्ष सौराहामा पनि एउटा गैंडा सेफ्टी ट्यांकीमा परेको थियो । त्यसलाई भने जीवितै उद्धार गरिएको थियो ।


तर, शनिबार त्यसो हुन सकेन । सौराहा घटनापछि चितवन निकुञ्जको पूर्वी सेक्टर कार्यालयले गत वर्षको माघ २६ मा सूचना निकालेर सेफ्टी ट्यांकी र गोबर ग्यासको खाल्डो पुर्न वा सुरक्षित तरिकाले बनाउन अपिल गरेको थियो । यसलाई बेवास्ता गरी दुर्घटना भए खाल्डो बनाउने सम्बन्धित व्यक्ति, संघसंस्था वा कार्यालय जिम्मेवार हुने निकुञ्जले चेतावनी दिएको थियो ।


टाइगर ल्यान्ड होटल निकुञ्ज मुख्यालयबाट नजिकै राप्ती नदी किनारमा छ । जहाँ गैंडा र अन्य वन्यजन्तु ओहोरदोहोर गर्छन् । निकुञ्जमा यो वर्ष रोग वा अन्य कारणले गैंडा मर्ने दर निकै उच्च छ । घिमिरेका अनुसार चोरी सिकार नभए पनि यो वर्ष शनिबारको घटनासहित निकुञ्ज क्षेत्रमा मर्ने गैंडाको संख्या ३९ पुगेको छ ।


उनका अनुसार २ गैंडा निकुञ्जबाहिर चितवनका जंगल क्षेत्रमा मरेका छन् । अघिल्लो आवमा मर्ने गैंडाको संख्या २६ थियो । एकसिंगे गैंडा लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । ०७२ को गणनाअनुसार नेपालमा गैंडाको संख्या ६ सय ४५ छ । जसमध्ये चितवन निकुञ्ज र यस आसपासको वन क्षेत्रमा सबैभन्दा धेरै ६ सय ५ गैंडा छन् । तर पछिल्लो समय गैंडा मरेका कारण संख्या घटेको हुन सक्ने अनुमान छ ।


प्रकाशित : चैत्र १०, २०७५ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?