कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्यकर्ता फकाउन जिल्ला दौड

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसमा १४ औं महाधिवेशनको मिति तय नहुँदै भावी नेतृत्व कसले लिने भन्ने होड नेताहरूबीच देखिएको छ । आकांक्षीहरूले कार्यकर्ता फकाएर नेतृत्वका लागि आफूलाई अब्बल देखाउन जिल्ला दौड तीव्र बनाएका छन् ।

कार्यकर्ता फकाउन जिल्ला दौड

सभापति शेरबहादुर देउवाको कार्यकाल ०७६ फागुन मसान्तमा समाप्त हुन्छ । उनले न्यूनतम एक वर्ष थप्न चाहेका छन् । देउवाले नियमित समयमै महाधिवेशन नहुने जानकारी केन्द्रीय कार्यसमिति बैठकमै दिइसकेका छन् । पार्टी विधानमा एक वर्ष म्याद थप्न सकिने प्रावधान छ । यसअघिका सबैजसो सभापतिले एक वर्ष कार्यकाल बढाएका थिए ।


नेताहरूलाई भने चुनावी सरगर्मीले छोइसकेको छ । कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानी ६ महिना अघिदेखि नै नेताहरूलाई चुनाव लागेको बताउँछन् । दुई वर्ष अघिदेखि महाधिवेशन केन्द्रित प्रतिस्पर्धाको राजनीति गर्दा पार्टीलाई नोक्सान पुग्ने उनको ठम्याइ छ । ‘कार्यकर्ता र तल्ला कमिटीहरूलाई धान्न पनि मुस्किल हुन्छ,’ उनले भने, ‘प्रतिस्पर्धाको हतारोले कहिलेकाहीँ सहमतिको बाटोलाई समेत ब्रेक गर्छ, यसलाई नेताहरूले बुझेर पार्टीलाई सिस्टममा लैजानुपर्छ ।’


सभापतिका लागि कांग्रेसमा आधा दर्जन बढी आकांक्षी देखिएका छन् । संस्थापन पक्षबाट सभापति देउवा एक्ला प्रतिस्पर्धी छन् । आफ्ना निकटवर्तीलाई थप एक कार्यकाल आफैं प्रतिस्पर्धा गर्ने जानकारी दिएर उनी अभियानमा जुटेका छन् । संस्थापनइतरमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोइराला आकांक्षी देखिएका छन् । संस्थापनइतरको समूहमा आफूलाई लोकप्रिय र अब्बल देखाउने होड छ । केन्द्रीय सदस्य रामशरण महत र अर्जुननरसिंह केसी सहमति नबने आफूहरू पनि अग्रसर हुने भन्दै जुटेका छन् ।


‘नेताहरूको दौडधुपले जिल्लामा महाधिवेशन नै आइसक्यो कि जस्तो माहोल खडा गरेको छ,’ केन्द्रीय सदस्य अमृत अर्यालले भने, ‘महाधिवेशन टुंगो नलाग्दै नेताहरूलाई चुनावी रौनकले छोइसकेको छ ।’ नेताहरूको दौडधुप मुख्य गरी पूर्वी र मध्य तराईका जिल्लामा केन्द्रित छ । महाधिवेशनमा यिनै क्षेत्रबाट सबभन्दा बढी महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् ।


को कहाँ छन् ?

कांग्रेस सभापति शेरबहादुर देउवाको चैत १६ देखि २१ गतेसम्म जिल्ला भ्रमण गर्दै छन् । उनी कपिलवस्तुदेखि गुल्मीसम्म घुम्नेछन् । गत साता मात्रै उनी प्रदेश नम्बर ४ का म्याग्दी, बागलुङ, पर्वत, कास्की भ्रमण सकेर राजधानी फर्केका थिए ।


वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश नम्बर ४ को भ्रमण सकेलगत्तै प्रदेश नम्बर १, २ र ३ का जिल्लातिर लागेका छन् । चैत ९ मा सिन्धुलीबाट सुरु भएको उनको भ्रमण प्रदेश नम्बर २ का जिल्लाहरूमा केन्द्रित छ । सर्लाही, महोक्तरी, धनुषाका कार्यत्रममा सहभागी भएर चैत १४ गते राजधानी फर्कने उनको कार्यक्रम छ ।


महामन्त्री शशांक कोइराला आइतबारदेखि प्रदेश नम्बर ५ का जिल्लामा घुम्दै छन् । बर्दिया, नेपालगन्ज र दाङ जिल्लाका कार्यक्रम सकेर उनी पनि १४ गते राजधानी फर्केने कार्यक्रम छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको पछिल्लो यात्रा झापाबाट सुरु भएको छ । उनको यात्रा चार दिनसम्म चल्नेछ । इलाम, पाँचथर र ताप्लेजुङका कार्यक्रम सकेर सिंह राजधानी फर्कनेछन् । उनीलगत्तै अरू जिल्ला भ्रमणको कार्यक्रम बनाउने तयारीमा छन् ।


सभापतिका अर्का आकांक्षी शेखर कोइराला सबैभन्दा बढी जिल्ला घुम्ने नेतामा पर्छन् । उनले एक वर्षअघि नै जिल्ला अभियान थालेका हुन् । आइतबार मात्रै उनी चितवनको कार्यक्रम सकेर राजधानी फर्केका छन् । उनका सहयोगीका अनुसार एक साताको राजधानी बसाइपछि पुनः जिल्लाका कार्यक्रममा जाने योजना छ ।


अरू पदाधिकारीमा पनि प्रतिस्पर्धा

कांग्रेसमा यसपटक सभापतिसहित १४ पदाधिकारीको व्यवस्था छ । कोषाध्यक्षबाहेक सबै प्रत्यक्षबाट निर्वाचित हुने व्यवस्था भएकाले पनि नेताहरूको जिल्ला दौड बाक्लिएको हो । ‘नेतालाई रिझाएर पदाधिकारी हुने दिन अब छैन,’ कांग्रेसका एक पदाधिकारीले टिप्पणी गरे, ‘अहिले जिल्ला जाँदा सभापतिकै आकांक्षी हुँ भन्ने, त्यसमा नभए अन्य पदाधिकारीमा लड्न सहज हुन्छ भनेर पनि दौडधुपको क्रम बढेको हो ।’


सभापतिले पदाधिकारी मनोनयन गर्ने व्यवस्था कटौती भएपछि नेतृत्वमा आउन धेरै नेतालाई चुनौती बनेको छ । त्यसैले महाधिवेशनको टुंगो नलाग्दै कार्यकर्ता र सम्भावित मतदाता रिझाउन नेताहरू जिल्ला दौडमा निस्किएका हुन् । नेताहरूको जिल्ला दौडका कारण संसद्मा प्रतिपक्ष सांसदहरूको उपस्थितिसमेत न्यून छ । ‘नेताहरू सबै जिल्ला गइदिएपछि सांसदहरू पनि पछिपछि कुद्नुभएको छ,’ दलका एक पदाधिकारीले भने, ‘संसद् र समितिका बैठकमा प्रतिपक्ष सांसदको उपस्थितिमै समस्या देखिन थालेको छ ।’


तल्ला तहलाई बोझ

नेताहरूको जिल्ला दौडले जिल्ला कार्यसमितिलाई भने धान्नै समस्या भएको छ । कांग्रेस नेता थानीका अनुसार नेताहरू जिल्ला जाँदा कार्यकर्तालाई मानसिक रूपमा मात्रै नभई आर्थिक रूपमा पनि ठूलो बोझ हुने गरेको बताउँछन् । नेताहरूले जाँदा र फर्कंदाको जहाज टिकट आफैं व्यवस्था गर्छन् । तर, जिल्लामा खाने, बस्नेदेखिको सबै प्रबन्ध जिल्ला कार्यसमितिले मिलाउनुपर्छ ।

‘नेताहरू सकभर पाँचतारे होटल खोज्छन्, पहिला जस्तो कार्यकर्ताको घर र सामान्य होटलमा बस्दैनन्, हामीलाई चौपट समस्या छ,’ कास्की कांग्रेस जिल्ला कार्यसमितिका एक पदाधिकारीले भने, ‘केही दिनअघि सभापति देउवा आएर एक रात बस्दा बिल २ लाख रुपैयाँको आयो । धन्न प्रदेश सांसद एवं व्यवसायी विन्दुकुमार थापाले तिरिदिए र समस्या परेन ।’


नेताहरूको खानपान र महँगो बसाइका कारण जिल्ला कार्यसमितिलाई आर्थिक रूपमा धेरै बोझ पर्ने गरेको उनको भनाइ छ । ‘नेताहरू आउने क्रम बढ्न थालेको छ, आर्थिक रूपमा पनि कसरी धान्ने ? उनले भने, ‘नेताहरूले अब खर्चमा पनि मितव्ययिता अपनाउनुपर्छ ।’

प्रकाशित : चैत्र ११, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?